बलात्कार कसूरमा १३ वर्ष कैद !

बलात्कार कसूरमा १३ वर्ष कैद !

दैलेख – १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले आज १३ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसूरमा १३ वर्ष कैदका अलवा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहतकोषमा २२ सय रुपैंयाँ तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

०७७ चैत १९ गते लक्ष्मी प्रावि देउरालीको भान्सा कोठामा लिई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा चैत २७ गते नै भयो ।

प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालय दैलेखले ०७८ वैशाख २१ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दाको अभियोग दर्ता गराएको थियो ।

अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई थुनामा राख्ने आदेश भएको थियो ।

पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो । सरकावादी मुद्दाहरुमा जिल्ला सरकारी वकील कार्यालयले कसूरदारलाई अधिकतम् सजायको मागदावी सहित अदालतमा अभियोग दर्ता गराउने र पीडितको तर्फबाट निशुल्क बहस पैरवी गर्ने गर्दछ ।

यो घटनामा सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले पीडित पक्षलाई उजुरी दिंदादेखि अदालतकाे कामले आउदाजाँदा शुल्क आवासको व्यवस्था र पीडितलाई मनोविमर्श सेवा उपलब्ध गराएको थियो । पीडितले न्याय पाएको जानकारी पाउदा आफूलाई खुशी लागेको महिला तथा बालबालिका सेवा कन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बताउनुयो ।

प्रतिक्रिया