कर्णालीका कपडा उद्योगीका दुःख, जोगाउने पो कसरी ?

कर्णालीका कपडा उद्योगीका दुःख, जोगाउने पो कसरी ?

 सुर्खेत – 
दुल्लु राम्रा पञ्चदेवल मेरी लै लै दैलेख राम्रा गढी,
साली सम्झिन्छौँ कि सम्झिन्छौ कि कहिलेही ?
कर्णालीको पहिचान झल्काउने ठाडी भाका । यही भाकामा आफ्नो बालापनको बह पोख्दै हुनहुन्छ कलाकार उद्योगी तथा गायक शेरबहादुर खड्का । उहाँले आफ्नै तान उद्योग पनि संचालन गर्नुभएको छ र बेलाबखत गीत गाउने एल्बम निकाल्ने पनि गर्नुहुन्छ ।
विसं २०२० कार्तिक १९ गते दैलेखको दुल्लु नगरपालिकामा जन्मिनुभएका शेरबहादुर उमेरले ६० वर्ष लाग्नुभयो । हाल सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भैरवस्थानको एउटा सुनसान कोठाभित्र तानमा कपडा बुन्न व्यस्त उहाँको मुखारविन्दबाट दैलेखी लोक देउडा गुन्जिइरहेको थियो ।

झट्ट सुन्दा यी शब्द बुझिँदैन । शब्दले के भन्न खोजेको होला भन्ने लाग्छ । तर सुनिरहँदा भने मन्त्रमुग्न्ध बनाउँछ सुनिरहुँझै लाग्ने । गीतमा दैलेखको दुल्लुस्थित पञ्चदेवल र दैलेखकै गढीलाई जोडिएको छ । गायक खड्काले दुल्लु राम्रा पञ्चदेवल, दैलेख गढी र सालीलाई सम्झन्छौ कि कहिलेकाहीँ भन्ने दैलेखको पहिचानलाई जोडेर गीत सिर्जना गरेको बताउनुहुन्छ ।
मातृभूमिप्रति समर्पित जौ बाली जौका, दुःख बिसाउने, चरिअ, चिर्के रुमाल, सुनमाया, सुन माया, दुल्लु राम्णा पञ्चदेवल लै लै डेढ सयभन्दा बढी गीत गाउनुभएका खड्काको अटुट साइनो गीतसँगसँगै तानसँग पनि छ । दिनभरिको कामलाई थाँती राख्दै खड्का बालापन र युवावयमा फर्कंदै सालीलाई सम्झिँदै गीत गाउनुहुन्छ –

आफ्नै देश रमाइलो हुन्छ मेरी लै लै
नजाऊ मैनाचरी लै लै…

साली सम्झिन्छौ कि कहिलेही ‘लोक देउडा भनेको हाम्रा आफ्ना मातृ भाषा र आफ्नोपनजस्तो लाग्छ,’ उमेरसँगै गालामा बुढ्यौलीका रेखा कोरिएका खड्का भन्नुहुन्छ, ‘दिनभरिका दुःखको भारी यसै गीतमार्फत बिसाउँछु ।’ यो पुरानो भाका र भाषाको संरक्षणमा अरूले चासो नदिए पनि सास रहुन्जेल आफू लागिराख्ने उहाँको प्रण छ ।

हे आफै रिङ्दो वियो गाड घट्ट डोलले लैग्यो
हे मर्म सौँराइ थियो चानसले भेट भइगयो..

यी गीत खड्काका दिनभरिका दुःख बिसाउने मेलो हुन । उहाँ आफैँ सर्जक, आफैँ गायक । दैनिक तानमा पाखुरा घोट्ने खड्का लोक तथा डेउडा गायक हुनुहुन्छ । तर उहाँको परिचय गायकमा मात्र सीमित छैन । खड्काबाटै तान चलाउन सिक्नुभएकी मैनकला शाहीका अनुसार उहाँ तान व्यवसायको नायक हुनुहुन्छ । ‘उहाँ त कर्णालीले सम्मान गर्नुपर्ने हीरा हो,’ शाहीको गुनासो छ, ‘कपडा बुन्ने तान उद्योगसँग उहाँको अविछिन्न सम्बन्ध छ । तर कर्णाली सरकारले उहाँलाई चिन्दैन ।’

तानसँग २०३५/०३६ बाटै जोडिनुभएका उहाँ आफू मात्रै रोजगारीमा लाग्नुभएन । आफूले सिकेको सीपबाट २८ हजार जनालाई तानसँग कपडा बुन्न र प्रत्यक्ष रोजगारीमा जोड्न सहयोग गर्नुभयो । ‘आफ्नै प्रदेश सम्पन्न बनाउनलाई आफ्नै प्रदेशको उत्पादित चिज उपभोग गर्नुपर्छ भन्ने लाग्छ । यो कुरा व्यवहारमा पनि लागू गरेको छु,’ उहाँ सुनाउनुहुन्छ ।

तानको क्षेत्रमा जीवन नै समर्पण गरेका खड्काको सम्बन्ध गीत–संगीतसँग पनि उत्तिकै गहिरो छ । तानसँगै गीत–संगीतलाई अगाडि बढाउँदै लगेका उहाँले कर्णालीमा लुकेका र लोप हुन लागेका भाकालाई भावी पुस्तासम्म बचाएर राख्ने प्रण गर्नुभएको छ ।
२०४६ अगावै गीत गुनगुनाउने खड्कालाई ०४६ सालमा गीत रेकर्ड गर्ने हटुहुटी जाग्यो । त्यही हुटहुटीको फेरो समातेर उहाँ काठमाडौँ पुग्नुभयो । ‘लोप भएका तथा लोपोन्मुख भाका समेटेर गीतमार्फत स्रोतामाझ पस्किन चाहन्थेँ,’ शान्त भावनमा उहाँले सुनाउनुभयो, ‘नभन्दै काठमाडौँ गएर गीत रेकर्ड पनि गरेँ र स्रोतालाई सुनाएँ पनि ।’

आफूले कला क्षेत्रमा योगदान गरिरहँदा पनि कतै मेला–महोत्सवमा जाँदा भने कलाकारको हैसियतका रूपमा सम्मान नभएको उहाँको गुनासो छ । ‘कतै मेला–महोत्सव हुन्छन्, मन फुरुङ्ग हुन्छ,’ उहाँ गुनासो पोख्नुहुन्छ, ‘आफ्नो सिर्जना दर्शक–स्रोतालाई सुनाउन पाउने आसले महोत्सवनजिक पुग्छु । तर महोत्सवको गेटमै टिकट काट्न लगाउँछन् ।

टिकट काटेर भित्र पस्छु । अरुले गाएको सुनेर फर्किन्छु । युट्युबमा भाइरल भएका कालाकारहरूलाई आयोजकले मेला महोत्सवमा भित्र्याउँछन । तर जसले आफ्नो माटो, संस्कृति र सिंगो इतिहास बोकेका हुन्छन्, जो सधैँ गीत–संगीतको साधनामा हुन्छन्, उनीहरू नै ओझेलमा पर्छन ।’

बढ्दो प्रविधिको प्रयोग र आयातित संस्कृतिले हाम्रा मौलिक संस्कृति, चाडपर्व आदिलाई दिनप्रतिदिन लोप बनाउँदै लगेको छ । संस्कृति संरक्षण गर्नतर्फ न सरकारको ध्यान पुगेको छ न महोत्सव आयोजकले नै यसमा ध्यान पु¥याएका छन । अर्काको देशको आयातित संस्कृतिभन्दा आफ्नै देशको गर्व गर्न लायक संस्कृतिको जगर्ना गर्दै अघि बढ्नुपर्ने खड्काको भनाइ छ । ‘हाम्रो संस्कृतिले हाम्रै इतिहास बोल्छ,’ उहाँको आग्रह छ, ‘यसकारण आयातितभन्दा हाम्रै इतिहास बोल्ने कला–संस्कृतिको गर्व गर्दै संरक्षणमा लागौँ ।”

तानसँगको सम्बन्ध

हिजोआज खड्काको जीवनको पर्याय बनेको छ– तान र गायन । सानै उमेदरदेखि तानसँग साइनो गाँसेका उहाँको जीवन र गन्तव्य देउडा भाकाजस्तो मिठासपूर्ण छैन । लामो समय तानमा बिताउँदा तानको एकान्तले खड्काको मन बहकियो । त्यसपछि तानसँगै गायन क्षेत्रमा उहाँको रुचि बढ्न थाल्यो । यही रुचिका कारण उहाँले गायन र तानलाई सँगसँगै अघि बढाउनुभयो ।
विसं २०३६/०३७ मा दैलेखबाट सिफारिस भई खड्काले क्षेत्रीय घरेलु उद्योगमा दुई वर्ष तालिम लिनुभयो । त्यो समय स्मरण गर्दै खड्का भन्नुहुन्छ, ‘तालिमपश्चात प्रथम श्रेणीमा उत्तीर्ण भएँ । कामप्रति चासो जाग्यो । गरे हुने रहेछ भनेर आफैँले कपडा बुन्न सिकेँ । अहिले सम्झिँदा खुसी लाग्छ ।’

सामान्य परिवारमा जन्मिएका खड्काको दैनिक जीवन खान–लगाउनै संघर्ष गर्नुपथ्र्यो । यस्तै, विद्यालय जानुअघि दुई डोका घाँस काट्नुपथ्र्यो । यो सब विचार गरेका उहाँको लक्ष्य सानैदेखि केही न केही सीप सिक्ने र सिकेका सीप अन्य साथीहरूलाई पनि सिकाउने थियो । यो लक्ष्यमा उहाँ अहिले सफल हुनुहुन्छ । ‘करिब २८ हजार जनालाई तान बुन्ने सीप सिकाएँ,’ खड्का गर्विलो स्वरमा सुनाउनुहुन्छ, ‘विसं २०३८÷३९ सालबाट सुरु गरेको मैले अहिले पनि निरन्तरता दिएको छु ।’

श्री ५ को सरकार भएका बेला सुर्खेतमा तानको अवस्था

श्री ५ को सरकार भएका बेला सुर्खेतमा तानको अवस्था सामान्य थियो । आवश्यक परेको समयमा सबै कच्चा पदार्थ सुर्खेतमै पाइन्थ्यो । घरेलू शिल्पकला थिए । सानातिना चिजका लागि काठमाडौँ धाउनुपर्दैनथ्यो । तर राजा हटेसँगै अवस्था दुःखदायी अवस्थामा परिवर्तन भयो । ‘राजा हटिसकेपछि अहिले न त कच्चा पदार्थ पाइन्छ न सरकारको सहयोग नै पाएको छु,’ उहाँ दुःख पोख्नुहुन्छ ।

श्री ५ को सरकारका भएका बेला उत्पादन गरेका कपडा घरेलु शिल्पकला बिक्री भण्डारले खरिद गरिदिन्थे । त्यतिबेला भैरवस्थानमा मात्र ६ वटा उद्योग थिए । २०–२२ वटा तान राखेर चलाइएको थियो । मासिक आम्दानी नै १५ हजारभन्दा बढी हुन्थ्यो । तर अहिले मुस्किलले बिक्री हुने खड्का सुनाउनुहुन्छ ।
कर्णालीमा उत्पादित कपडा अनिवार्य गर्नुपर्छ

देशमा उत्पादशिलता बढाउन, रोजागारी सिर्जना र कुल गार्हस्थ्य उत्पादनमा सहयोग पु¥याउन पनि सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ । तर यसो हुन सकेको छैन ।
‘पहिले र अहिले तान उद्योगको माग कत्तिको छ ? सरकारले के गर्नुपर्ला ?’ भन्ने प्रश्नमा खड्का भन्नुहुन्छ, ‘सरकारले कच्चा पदार्थ सुर्खेतमै पाउने वातावरण बनाइदिनुपर्छ । माग बढाउन यहाँका सरकारी तथा गैरसरकारी कर्मचारीलगायत सबैलाई कर्णालीमा उत्पादित कपडा लगाउन अनिवार्य गर्नुपर्छ ।’

खड्काका अनुसार सरकारले चाह्यो भने कच्चा पदार्थ सुर्खेतमै उपलब्ध हुन सक्छ । शिल्पकला बिक्री गर्ने कोसेलीगृहजस्तो कुनै न कुनै सौगातगृह भयो भने आफ्ना चिज त्यहाँ आइपुग्छन् । सहज पनि हुन्छ । यसले कर्णालीको अर्थतन्त्रलाई पनि धान्छ र कर्णालीमा भएको कच्चा पदार्थको सदुपयोगसमेत हुन्छ ।

 

प्रतिक्रिया