हेल्पलाइनमा संरक्षित बालिका परिवारमा पुनस्र्थापना

हेल्पलाइनमा संरक्षित बालिका परिवारमा पुनस्र्थापना

दैलेख – सोसेक नेपालको बाल हेल्पलाइनले डेढ वर्षदेखि संरक्षणमा राखिएकी पाँच वर्षीया बालिका ऋतु सिंहलाई जनप्रतिनिधि र प्रहरीको रोहवरमा अभिभावकको बासस्थानमा पुनस्र्थापना गरिएको छ ।

दुल्लू नगरपालिका–८ घर भई हाल भैरबी गाउँपालिका–३ छड्ने बस्तै आउनुभएका अभिभावकको जिम्मा लगाइएको बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो ।

भैरबी गाउँपालिकाका अध्यक्ष रिता शाही, उपाध्यक्ष देबी भण्डारी, दुल्लू नगरपालिका ८ नं. का वडाध्यक्ष सुशील भण्डारी, भैरबी प्रहरी चौकीका इञ्चार्ज असई टीएन सारुको रोहवरमा बालिकाका बुबा दलबहादुर सिंह र आमा गौरी सिंह ठकुरीको जिम्मा लगाई पुनस्र्थापना गरिएको बताइएको छ ।

बालिकाका बुबाआमा भारतबाट फर्किएको जानकारी पाएपछि भैरबी प्रहरी चौकीका इञ्चार्ज असई टीएन सारुको पहलमा अभिभावकलाई भैरबी गाउँपालिकामा झिकाई जनप्रतिनिधिको रोहवरमा पुनस्र्थापना सम्भव भएको हो ।

बुबा–आमा भारत गएको बेला संरक्षणको निम्ति दुल्लू नगरपालिका–४ नेपास्थित आफन्त २०७८ मंसिर ११ गते राति गाउँमा छाडेको अवस्थामा अलपत्र फेला पारेपछि दुल्लू इलाका प्रहरीले बाल हेल्पलाइनमा संरक्षणको लागि पठाएको थियो ।

टाउको लगायत जिऊभरी घाउचोट लागेको र कुपोषित अवस्थामा रहेकोले दैलेख अस्पतालको पोषण केन्द्रले संरक्षण गर्ने अभिभावक विना राख्न नसक्ने भनी पन्छिएपछि बाल हेल्पलाइनले २०७८ मंसिर १२ गतेदेखि २०८० वैशाख १९ गतेसम्म संरक्षण र पालन पोषण गरेको थियो ।

बोल्न नसक्ने सुस्त मनस्थितिकी ती बालिकाको पहिचान गरिसक्दा पनि समुदायका आफन्त वा अरु कुनै निकायले पालनपोषणको तत्परता नदेखाएपछि बाल हेल्पलाइनले संरक्षकत्वसंगै दुल्लू नगरपालिका ८ नं. वडा कार्यालयसंग समन्वय गरी जन्मदर्ता र अपाङ्गता परिचयपत्र गराइदिएको थियो ।

बालिका फेला परेको साढे चार महिनापछि २०७८ चैत २२ गते बहुअपाङ्गता जनिएको ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र बनिसकेको तर अभिभावक संरक्षक बैंक खाता नखुलेको कारण रहेर सामाजिक सुरक्षा भत्ता मिलेको थिएन ।

बालिकाको बुबा वा आमा संरक्षक रहेर बैंक खाता खोल्ने सामाजिक सुरक्षा भत्ता दिलाउने बारे दुल्लू नगरपालिका ८ नं. वडा कार्यालयसंग सल्लाह भएको बाल हेल्पलाइनका बाल संरक्षण अधिकृत प्रभाकुमार बिकले बताउनुभयो ।

अभिभावकलाई आफ्ना बालबालिकाप्रति जिम्मेवारी बोध गराउन, पारिवारिक सम्वन्ध प्रभावकारिता बढाउन बाल हेल्पलाइनमा डेढ वर्ष संरक्षण गरी राखिएकी बालिकालाई पुनस्र्थापना गराइएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको भनाई छ ।

प्रतिक्रिया