तीन महिनादेखि सहकारी र डिपार्टमेन्ट स्टोर नखुल्दा मारमा बचतकर्ता

तीन महिनादेखि सहकारी र डिपार्टमेन्ट स्टोर नखुल्दा मारमा बचतकर्ता

सुर्खेत –   तीन महिनाअघि आर्थिक मन्दी र सुरक्षाको कारण देखाई बन्द भएको शिव शिखर सहकारी संस्था अझै खुलेको छैन । वि।सं। २०७९ फागुन १५ गते सूचना जारी गर्दै बन्द भएको सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोर सञ्चालनमा नआउँदा बचतकर्ताहरू मारमा परेका छन् ।

देशमा चलिरहेको आर्थिक मन्दीको प्रत्यक्ष मार खेप्नु परेको कारण सहकारीको सुर्खेत शाखा पनि बन्द गर्नुपर्ने अवस्था आएको सहकारीद्वारा जारी सूचनामा जनाइएको थियो । आर्थिक तरलताका कारण बचतकर्ताहरू एकैपटक बचत फिर्ता लिन आउनाले सेवा प्रवाहमा कठिनाई उत्पन्न हुँदा पूँजी व्यवस्थापन नभएसम्मका लागि सहकारी बन्द गरिएको सूचनामा उल्लेख थियो । यसरी सूचना टाँस गरी सम्पर्कविहीन भएका सञ्चालकहरू हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।

सहकारी बन्द भएयता बचत फिर्ताको चेक बोकेर बचतकर्ताहरू दिनहुँ कार्यालय धाउने गरेका छन् । तर, सहकारीले अनेक बहाना देखाएर बचतकर्ताको रकम फिर्तामा आलटाल गर्दै आएको थियो । केही वर्षअघि स्थापना भएको सहकारीले बचत रकम विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्ट लगायतका क्षेत्रहरूमा लगानी गर्दै आएको छ ।

शिवशिखरले अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा कुनै बैंकको शेयर खरीद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्न नमिल्ने भएतापनि लगानी गर्दै आएको थियो ।

सहकारीले विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्ट पसल लगायतका क्षेत्रहरूमा कानून विपरीत लगानी गर्दै आएको थियो । सुर्खेतमा करिब चारदेखि पाँच करोड रुपैँया ऋण लगानी गरेको दावी गर्ने शिव शिखरको बुटवल, धनगढी र कोहलपुर शाखामा बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि देशभर सहकारीका शाखा बन्द भएका हुन् ।

सबै बचतकर्ताले एकमुष्ठ रकम फिर्ता माग्नु र बचत रकमको चक्र नमिल्नुले समस्या उत्पन्न भएको सहकारीले जनाउँदै आएको थियो । बचतकर्ताको रकम फिर्ता मात्र होइन कर्मचारीहरूले पाँच महिनादेखि तलवसमेत खाना पाएका छैनन्, भने घर भाडासमेत तिर्न बाँकी छ । उतिबेला एकै पटक बचत फिर्ताको माग आउँदा समस्या परेको भन्दै केही समयमा यो समस्या समाधान हुने बताउँदै आएका सुर्खेत शाखाका प्रबन्धक चन्दन थापा हाल मोवाइल स्वीचअफ गरेर बसेका छन् ।

सहकारीको सुर्खेत शाखामा विभिन्न सात किसिमका बचत खातामा कारोबार हुने गरेका थिए । त्यसमा करिब साढे ६ हजार बढी बचतकर्ताले रकम जम्मा गरेका थिए । दैनिक ५० लाख देखि एक करोडसम्मको कारोबार गर्ने सहकारीका सञ्चालकहरू एकाएक कार्यालयमा ताला ठोकेर सम्पर्कविहीन भएपछि बचत सदस्यहरू पैसा डुब्ने चिन्तामा छन् ।-इकागज

प्रतिक्रिया