घटना संकलनमा अल्छी नगर्नू ः न्यायाधीश पण्डित

घटना संकलनमा अल्छी नगर्नू ः न्यायाधीश पण्डित

दैलेख, पुुस ६ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सुरुको तुलनामा मानवअधिकार वर्ष पुस्तकको मोटाई पातलिंदै आएको सन्दर्भमा घटना संकलनमा अल्छी गरेर घट्ने स्थिति नहोस् भनी सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सन् २०१६ को जनवरीदेखि १ वर्ष अवधिमा संकलित मानवअधिकार उलंघन् तथा ज्यादतिका घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । insek-barsa-pustak
इन्सेकले दैलेखमा संकलन गरेका १० वटा बलात्कार, ९ वटा बहुविवाह, २ व्यक्ति हत्या, २४ घरेलु हिंसा, ४ वटा जातीय विभेद घटनाको संक्षिप्त जानकारी गराइएपछि उहाँले भन्नुभयो ‘मानवअधिकार उलंघन तथा ज्यादति रोकिएर पुस्तक पातलिएको भए राम्रै मान्न सकिन्छ ।’ इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले राज्यका निकाय र समाजमा सचेतना बढाएबाट पनि मानवअधिकार प्रवद्र्धनमा सहयोग पु¥याएको जिल्ला न्यायाधीश पण्डितले बताउनुभयो ।
त्यस बखत प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले कानूनले अधिकार दिएको बाहेक अरु मुद्दामा प्रहरीले मिलापत्र नगराएको बताउनुभयो । उहाँले प्रहरी अनुसन्धान सुरु भई अदालत पुग्ने सबैजसो फौजदारी मुद्दा सफल भएबाट पीडितले न्याय पाएको र अनुसन्धान अधिकृतको हैसियतले आफूलाई पनि गौरव लागेको सुनाउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष नमनकुमार शाहीले ग्रामीण बस्तीमा मानवअधिकार हनन्का घटनादेखि कानूनी प्रक्रियामा नआएका घटना समेत समेटिएकोमा सन्तोष व्यक्त गर्दै राज्यपक्षबाट भएका मानवअधिकार उलंघनका घटना खोजीमा जोड दिन सुझाव दिनुभयो ।
स्थानीय विकास अधिकारी डिलाराम पन्थी लगायत मानवअधिकारसंग सरोकारवाला नागरिक समाज संगठनका प्रमुख, सामाजिक अगुवा, हिंसा पीडितहरु र पत्रकारहरु समेत सहभागिता थियो । सहभागीहरुले खुला छलफलको क्रममा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार हनन्का घटना अभिलेखीकरण गरिनुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता मानवअधिकार निगरानी समूह बेलपाटाकी सदस्य मसान्ती भण्डारी र सहजीकरण इन्सेक प्रतिनिधि अमर सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया