काममा समन्वय प्रभावकारी बनाउन आवश्यक

काममा समन्वय प्रभावकारी बनाउन आवश्यक

दैलेख – निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले गैरसरकारी संस्थाहरुले आफूले गर्ने कामको प्रकृति मिल्ने अरु गैरसरकारी संस्थाहरु तथा सरकारी निकायसंग समन्वय र सहकार्य प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

यूएनडीपी/एटूजेको सहयोगमा महिला सशक्तिकरण मञ्च नेपालद्वरा सञ्चालित महिला र सिमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धि परियोजनाको सोमवार दैलेखमा भएको जिल्ला स्तरीय सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले महिला सशक्तिकरण मञ्च दैलेखमा महिला अधिकार सवालमा राम्रो काम गरेको संस्थाको छाप छोडेको उल्लेख गर्दै समय अनुसार आफ्नो क्षमता विकास र अरुहरुसंग प्रतिस्पर्धी बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले स्थानीय तहका न्यायिक समितिको काम प्रभावकारी बनाउन क्षेत्राधिकार बारे जिम्मेवारी बनाउन र आवश्यक प्राविधिक सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।

त्यसबखत बार एशोसियशन दैलेखका अध्यक्ष ललित थापाले जिल्ला अदालतमा वैतनिक वकील, सरकारी वकील कार्यालय अन्तरगत कानूनी सहायता अधिकारीबाट निशुल्क कानूनी सहायता पु¥याइएको र आवश्यकता अनुसार अधिवक्ताहरु समेतले निशुल्क तथा न्यून शुल्कमा सहायता दिंदै आएकोले गैससहरुले दिने सहयोग बास्तविक गरिबले पाउनुपर्ने आग्रह गर्नुभयो ।

आयोजक महिला सशक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जीसीले यूएनडीपी/एटूजेको सहयोगमा महिला सशक्तिकरण मञ्च नेपालद्वरा सञ्चालित महिला र सिमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धि परियोजनाका काम र सहकार्य विषय प्रकाश पार्नुभएको थियो ।

स्थानीय तहका न्यायिक समितिहरुको क्षमता विकास, आवश्यकता अनुसार संस्थागत क्षमता विकास, सामाजिक विवादहरुमा न्यायिक समितिको उपयोगिता समुदायलाई सहजीकरण गर्ने र फौजदारी अपराधका पीडितहरुलाई परियोजनाले कानूनी सहायता दिइने जीसीले जानकारी गराउनुभयो ।

परियोजनाले गर्ने काम बारे जानकारी पाएपछि अधिवक्ता दिपेन्द्र थापा, पत्रकार भिम सिजापति, युवा अभियन्ता सुनिता सोनी, बार एशोसिशनका सचिव प्रेमबहादुर थापा लगायतले प्रभावकारी कार्यान्वयन सवालमा सुझावहरु दिनुभएको थियो ।

महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दकाे सभापतित्व भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यसमिति सदस्य दुर्गा लम्सालले गर्नुभएको थियो । यसैबीच संस्थाको सोमवार २० अौं वाषिकोत्सवको अवसरमा पदाधिकारी र कर्मचारीबीच संस्थागत विकासका आरोहअवरोह र भावी योजना विषयमा विचारविमर्श कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया