विकास गतिविधिलाई पारदर्शी र जवाफदेहिता जरुरी
दैलेख – प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले विकास गतिविधिलाई पारदर्शी र जवाफदेहिता पूर्वक सञ्चालन गर्न आग्रह गर्नुभएको छ । आइतवार दैलेखको भैरबी गाउँपालिकाको १३ औं गाउँसभाको उद्घाटन कार्यक्रममा उहाँले सो सुझाव राख्नुभएको हो ।
विकास श्रोतहरु माग्न जति गाह्रो छ, हारगुहार गरी ल्याइएको विकास कार्यक्रमहरु सही सदुपयोग नभएको कारण विकासको दिगोपन र गुणस्तरमा समस्या देखिएको साँसद रानाले सुनाउनुभयो । उहाँले नागरिक तहमा देखिएको गुनासो र असन्तुष्टी मेटाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
भैरबी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीको अध्यक्षतामा भएको गाउँसभा उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले चालु आर्थिक वर्षको आयव्ययको समीक्षा सुनाउदै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाका नीति तथा कार्यक्रमहरु प्रस्तूत गर्नभयो ।
त्यसैगरी नारायण नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड १९ लाख ६७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्ताव गरेको छ । १२ औं नगरसभामा नगर उपप्रमुख तप्ताकुमारी थापाले बजेट प्रस्तूत गर्नुभएको सभाको अध्यक्षता नगर प्रमुख लोमन शर्माले गर्नुभएको थियो ।
महाबु गाउँपालिकाको मुकाममा गैडाबाजमा कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष मञ्जू पाण्डेको सभाध्यक्षतामा भएको गाउँसभामा महाबु गाउँपालिकाको नीति तथा कार्यक्रमहरु प्रस्तूत गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख नमराज शाहीले शिक्षा, स्वास्थ्य र सामाजिक सवालमा अबका विकास गतिविधि केन्द्रित हुनुपर्ने आग्रह गर्नुभयो ।
प्रतिक्रिया