यस वर्ष सल्यानमा ९८ प्रतिशत धान रोपाइ

यस वर्ष सल्यानमा ९८ प्रतिशत धान रोपाइ

 

सल्यान –  यस बर्ष सल्यानमा ९८ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाका अधिकांश खेत स्थानिय खोलाको पानीले रोपाई हुनु र बर्षेनी खेतीयोग्य जमिनमा सिँचाइको पुहँच बढ्दै गएकाले यसबर्षको हालसम्म ९८ प्रतिशत रोपाई सकिएको हो । धान खेतीका लागि राम्रो सम्भावना भएको सल्यानमा ढिलो वीउ राखेका केही खेतमा बाहेक प्रायः सबैमा रोपाई सकिएको छ ।

बर्खे सिजनको सुरुवातमा नै धान रोपेका किसानले धान गोडमेलको तयारी समेत गरेका छन् । समय–समयमा बर्षात हुनु, स्थानिय खोलामा पानीको मात्रा नघट्नु तथा अधिकांश भुभागमा सिँचाइ सुविधा पुगेकाले धान रोपाइमा खासै समस्या नभएको किसान बताउँछन् । कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहीकतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइ सकिएको जनाएको छ ।

कार्यालयका अनुसार गत बर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट करिब ३० हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको थियो । यस बर्षभने धान उत्पादन क्षेत्रफल घटेको कार्यालयका निमित्त प्रमुख रेशम कुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार गएको बर्षको तुलनामा यसबर्ष २२ हेक्टर कम क्षेत्रफलमा धान रोपिएको छ ।

‘जिल्लामा भएको धान उत्पादन हुने क्षेत्रमा पनि धान रोप्न छोड्ने क्रम बढ्दो छ, कतिपयले धान रोप्ने खेतमा मकैँ, तरकारी रोप्न थालेका छन्, वजारक्षेत्र आसपासका खेतमा घर निर्माण देखी घडेरी बनाएर बिक्री गर्ने क्रम बढ्दो छ, यसले गर्दा खेतीयोग्य जमिन नै मासिन थालेको छ’ उहाँले भन्नुभयो ‘गएको बर्षभन्दा कम क्षेत्रफलमा धान रोपिएको छ, यसबर्ष ६ हजार ९ सय ९० हेक्टरमा मात्रै धान खेती गरिएको छ ।’

जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान रोप्दै आएका छन् । धानको गोडमेल गर्न, पानीको आवश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले सजकता अपनाउन सके उत्पादनमा बृद्धि गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयले कृषिलाई आधुनिकिरण र यान्त्रीकिकरण गर्दै लगेको छ ।

यहाँका किसानले आलोपालो गरेर पनि धान रोपाइ सम्पन्न गरेका छन् । खेत जोत्ने हलि, गोरु, वीउ निकाल्ने देखी धानको वीउ रोप्ने कार्यमा छिमेकीका विचमा आलोपालो गरेर धान रोपाइ गरिन्छ । पर्याप्त पानी नभएको क्षेत्रमा पनि आलोपालो गरेर धान रोपिएको किसान बताउँछन् ।-सल्यानटुडे

प्रतिक्रिया