सञ्चार गृह लैङ्गिकमैत्री नहुँदा पत्रकार महिला सङ्कटमा

सञ्चार गृह लैङ्गिकमैत्री नहुँदा पत्रकार महिला सङ्कटमा

काठमाडौँ -  पत्रकार महिलाले सञ्चार गृहमा काम गर्ने लैङ्गिकमैत्री नीति अवलम्बन नुहँदा पेसाबाटै पलायन हुनुपर्ने स्थीति आएको बताउनुभएको छ ।  

आज काठमाडौँमा सञ्चारीका समूह र दलित महिला सङ्घ (फेडो) ले संयुक्त रुपमा आयोजना गरेको ‘मूलधारका सञ्चार माध्यममा महिला सहभागिता र चुनौती’ विषयक कार्यक्रममा पत्रकार महिलाले पेसागत चुनौती र समस्या उजागर गर्नुभएको हो । 

राज्यले निर्धारण गरेको समावेशीमूलक सिद्धान्त अनुकूल मूलधारका सञ्चार माध्यम उदार हुन नसकेको उहाँहरुको अनुभवले बताउँछ । समग्र पत्रकारिता नै सङ्कटमा परेको बेला पत्रकार महिला सबैभन्दा बढी जोखिममा रहेको सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताउनुभयो । 

सञ्चार माध्यममा महिला समावेशीको अवस्थामाथि कार्यपत्र प्रस्तुत गर्नुभएकी सञ्चारीका समूहकी उपाध्यक्ष पवित्रा सुनारले आमसञ्चारमा सिमान्तकृत समुदायको सहभागिता अत्यन्त नाजुक रहेको तथ्य पेश गुर्नभयो । 

महिला अधिकारकर्मी दुर्गा शोवले हरेक क्षेत्रमा अन्तर लैङ्गिक समानता आवश्यक रहेको बताउनुभयो । प्रत्येक सञ्चार माध्यमको कार्य संरचनामा उक्त नीति प्रभावकारी ढङ्गले लागू हुुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

दलित महिला सङ्घ (फेडो) को संस्थापक अध्यक्षसमेत रहनुभएकी शोवले हरेक क्षेत्रमा जबसम्म समान सहभागिता रहँदैन तबसम्म समावेशी सिद्धान्त अपुरो रहने बताउनुभयो । “चेतनशील सञ्चार माध्यम नै समावेशी सिद्धान्त अपनाउँदैनन् भने अरुको अवस्था कस्तो होला ?” उहाँले प्रश्न गर्नुभयो ।  

‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तकका लेखक तारमणि सापकोटाले सञ्चार माध्यममा महिला सहभागिताको स्थिति तथ्याङ्गत रुपमा प्रष्ट पार्नुभएको थियो । “सञ्चार माध्यममा महिला सहभागिता न्यून त छ नै, त्यसमा पनि नेतृत्व तहगत भूमिका अझै कमजोर छ”, उहाँले भन्नुभयो, “समावेशी गर्ने प्रयत्न भए पनि प्रयाप्त छैन ।”

प्रतिक्रिया