‘विद्यार्थी महोत्सव’ आयोजना हुँदै

‘विद्यार्थी महोत्सव’ आयोजना हुँदै

काठमाडौँ -  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्न लागेको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउन महोत्सव गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँको भृकुटीमण्डपमा हुने महोत्सव आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । 

महोत्सवमा अहिलेको पिँढीका विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने उहाँको भनाइ छ । महोत्सवका संयोजक तथा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले तीन दिनसम्म सञ्चालन हुने विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीका बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न केके आवश्यक छ भनेर सुझावसमेत लिइने बताउनुभयो । 

“अहिले विद्यार्थीमा नेपालमा पढेर कामको अवसर पाइँदैन भन्ने धारणा रहेको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा हामीले नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिनेछौँ, स्वदेशका कलेज पनि राम्रा छन्, यहाँ पनि विदेशी जस्तै पढाइ हुन्छ भन्ने जानकारी हामीले महोत्सवमा दिने छौँ ।”

महोत्सवमा नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारीलगायत विषयमा सामूहिक छलफल हुनेछ । महोत्सव संयोजक गिरीका अनुसार महोत्सवमा विद्यार्थीलाई कसरी उत्पादनसँग जोड्ने र पढदै कमाउँदै सम्भावनाका बारेमा पनि छलफल गरिनेछ । महोत्सवमा दुई सय ५० भन्दाबढी शैक्षिक, पर्यटक र सांस्कृतिक कक्ष राखिने छन् । 

अनेरास्ववियुका अर्का उपाध्यक्ष गोविन्द गिरीका अनुसार महोत्सवमा उपत्यकासहित बाहिरबाट करिब एक लाख विद्यार्थीलाई अवलोकन गराइनेछ । महोत्सवमा सात प्रदेशका रहनसहन, वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम पनि अपराह्न ३ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 

यस्तै महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा  विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने जनाइएको छ । 

प्रतिक्रिया