संसद् खुलाउन कांग्रेस तयार, संसदमा गृहमन्त्रीलाई बोल्न दिने

संसद् खुलाउन कांग्रेस तयार, संसदमा गृहमन्त्रीलाई बोल्न दिने

काठमाडौँ -   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अवरुद्ध संसद् खुलाउन तयार भएको छ।  सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै आएको कांग्रेस बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि लचक भएको हो। 

यो सँगै आजै दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने कांग्रेस सांसद रामहरि खतिवडाले बताउनुभयो । ‘पहिला उहाँ (गृहमन्त्री) बोल्नुहुन्छ, त्यसपछि हाम्रो कोही साथीले बोल्नुहुन्छ, त्यही अनुसार सहमति बनेको छ,’ खतिवडाले भन्नुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सार्नुभएको थियो ।  प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गर्नुभएको छ । 

रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग थियो। उता, सभापति लामिछानेले भने आफूले संसद्‌मा बोल्न पाउनुपर्ने माग राख्दै आउनुभएको थियो । 

कांग्रेसले अवरुद्ध संसद् खुलाएर गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि समिति बनाउनुपर्नेबारे आफ्ना माग राख्नेगरी रणनीति अख्तियार गरेको एक नेताले जानकारी दिनुभयो । 

प्रतिक्रिया