कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग ?

कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग ?

असोज ११ र १२ गतेको अविरल झरीपछि बाढीपहिरो जाँदा देशभरका विभिन्न स्थानमा सडक अवरुद्ध थिए। असोज १३ गतेसम्म अवरुद्ध ६० स्थानमध्ये १८ स्थानमा राजमार्ग सञ्चालन भएको सडक विभागले जनाएको छ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले तेह्रथुमको वसन्तपुर, धनकुटाको लेगुवा, मोरङको बेसक्याम्प भेडेटार खण्ड, पूर्व(पश्चिम राजमार्गको मकवानपुर, मेची राजमार्गको इलाम र पाँचथर, बीपी राजमार्गको माथिल्लो बरा, डुम्रे(बेंसीशहर(चामे सडकको रामबजारमा भएको अवरोध हटाएका छन्।

अर्घाखाँचीको बालसिद्ध मन्दिर, बीपी राजमार्गको सुनकोशी मरिन डाइभर्सन नजीक र मुस्ताङको सेरामा गएको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार असोज १४ गते मध्याह्न १२ बजेसम्म कोशी, बागमती र गण्डकीका ४२ स्थानमा राजमार्ग अवरुद्ध छ। सबैभन्दा बढी  बागमती प्रदेशमा सडक अवरुद्ध छन्।

मोरङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, सिन्धुली, पाँचथर, पश्चिम रुकुम, धनकुटा, धादिङ, पाँचथर, रामेछाप, नवलपुर, रामेछाप, गुल्मी, उदयपुर, मुस्ताङ र बाग्लुङमा सडक सञ्चालन नहुँदा यात्रुहरू मारमा छन्।

तमोर करिडोरको चतरा पुलदेखि बराहक्षेत्रसम्म, कान्ति राजपथको आँपचौर, बीपी राजमार्गको भ्याकुरे खोला र चरसैया बेंसी, अरनिको राजमार्गको कोदारी र ग्वार्को(लुभु(दाहालटारको लाकुरीभन्ज्याङमा सडक अवरुद्ध छ। त्यस्तै, मध्यपहाडी राजमार्गको सिन्धुलीस्थित अक्करेभीर, हर्जेनी, बलेनी, सालघारी, नेपालथोक, कुखुरेटार, स्याउखोला, फिक्कल र रिट्ठाबोटमा सडक अवरुद्ध छ।

यसैगरी, मेची राजमार्गको पाँचथरस्थित फिदिम नजीक, अरनिको राजमार्गको लार्चा, भेरी करिडोरको त्रिवेणी, भेडेटार(रवि(राँके सडकको ओख्रे र मैदाने, ठोरी(भण्डारा(रसुवागढीको भुट्टार, अरनिको राजमार्गको लिपिङ पुल, बीपी राजमार्गको मम्तीखोला, कालढुंगा, बोक्सी कुना, नार्केपुल, काभ्रेभन्ज्याङ, पिनथली बेंसी, डालाबेंसी र चौकाडाँडामा पनि सडक अवरुद्ध रहेको विभागले जनाएको छ।

पश्चिमतिर मदन भण्डारी राजमार्गको नवलपुरस्थित तरंगखोला, रामेछापको खैरेनीघाट, लुभुखोला, तानसेन(रिडी(कोरला राजमार्गको गुल्मीस्थित लत्रेभीर, उदयपुरको फोक्सिन्टार, मुस्ताङको राजकोट र बाग्लुङको कुचुरेभीरमा सडक अवरुद्ध छ।

सबै ठाउँमा सडकमा आएको पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ। कतिपय ठाउँमा आज(भोलिसम्म सडक अवरुद्ध खुल्ने र केही ठाउँमा वैकल्पिक बाटाको प्रयोग गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको विभागको भनाइ छ।

बाढीपहिरोमा परी अहिलेसम्म १९३ जनाले ज्यान गुमाइसकेका छन्। अझै ३१ जना हराइरहेका छन्। यो विपद्‌का कारण ९६ जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

साभार:हिमालखबर 

प्रतिक्रिया