यातायात व्यवसायीको सिन्डिकेट: मर्कामा यात्रु

यातायात व्यवसायीको सिन्डिकेट:  मर्कामा यात्रु

सिमकोट – दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंसम्म जाने यात्रु मर्कामा पर्ने गरेका छन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटका कारण यात्रु मर्कामा परेका हुन्।

चंखेली गाउँपालिका–६ को मेन्छामबाट सुर्खेत पुगेकी बेलसरा बुढाले सरीसल्लाबाट सुर्खेत पुग्न चार दिन लागेको बताउनुहुन्छ । बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रामा हैरानी खेप्नुपरेको हो।

यसले गर्दा एक दिनमा पुगिने सुर्खेत चार दिन लागेको हो। सरीसल्लाबाट बाजुराको धुला चौरसम्म मात्र बोलेरो जिपमा यात्रा गर्न पाइने नियमले एक दिन धुलाचौरमै बस्नुपर्ने, धुलाचौरबाट बाजुराको पिलु पुगेर उत्रिनुपर्ने नियम बनाइएको छ। तेस्रो दिन पिलुबाट कालिकोटको जितेबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।

स्थानीय यातायात व्यवसायीले आफ्नो क्षेत्रबाट आफ्नै जिप चढ्नुपर्ने नियम बनाएबाट यात्रुहरूले हैरानी खेपिरहेका हुन्। बोलेरो जिपले कम्तीमा पनि दश जना यात्रु नपुगेसम्म गाडी सञ्चालन गर्न मान्दैनन्।

यस्तो सिन्डिकेटलाई तोड्नुपर्ने यात्रुको माग छ। दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रु झन् मर्कामा परेका हुन्।

यी स्थानमा रहेका प्रहरी चौकीले पनि केही गर्न सक्ने स्थिति छैन। देशभर यातायात व्यवसायीको सिन्डिकेट हटे पनि कर्णाली करिडोरको कालिकोट र बाजुरा जिल्लामा हट्न सकेको छैन। यसले गर्दा यात्रुलाई समय बढी लाग्ने र आर्थिक व्ययभार पनि बढी नै हुने गरेको छ।

प्रतिक्रिया