कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्ड स्तरोन्नति हुँदै

कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्ड स्तरोन्नति हुँदै

 कर्णाली –  कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९÷८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । 

कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।

कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । “राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ”, उहाँले भन्नुभयो, “छ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ ।”

सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि रु ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिनुभयो । “साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न गरिएको छ ।” आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि  सञ्चालनमा आएको थियो । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको थियो ।

सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ । कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालीकोटसम्म स्तरोन्नति र मर्मतको काम सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ ।

प्रतिक्रिया