बजेट अभावमा सडक निर्माण अलपत्र

बजेट अभावमा सडक निर्माण अलपत्र फाइल तस्बिर

जाजरकोट –  अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो । 

जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकखण्डका लागि चौरजहारीस्थित सडक डिभिजन कार्यालले बोलपत्र आह्वान गरे पनि बजेटको अभावमा काम रोकिएको छ । अर्थ मन्त्रालयले बजेट पठाउने आशाका साथ बोलपत्र गरिए पनि अहिले बजेट नपठाउँदा समस्या भएको उक्त कार्यालयले जनाएको छ । 

कालोपत्रका लागि मागिएको बजेट स्वीकृत नहुँदा दुई वटा सडक अलपत्र परेका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहातको सडक डिभिजनले बोलपत्र गरेर पनि लामो समयसम्म बजेट स्वीकृत नगर्दा आफूहरु समस्यमा परेको उक्त कार्यालयले जनाएको छ । 

सडक निर्माण नहुँदा बहुप्राविधिक शिक्षालय तथा काफलचौर जाने विद्यार्थी तथा स्थानीय बासिन्दा हैरान भएका छन् । मध्यपहाडी लोकमार्गको नजिक तथा भेरी करिडोरका बीचमा रहे पनि यस अप्ठ्यारो सडकमा हिउँद याममा बाक्लै आवतजावत हुने गरेको छ । वर्षायाममा सबै सडक भत्किँने भएकाले हैरान हुने गरेको काफलचौरका हुमबहादुर शाहीले बताउनुभयो ।

पश्चिम जाजरकोटको महत्वपूर्ण सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा काम रोकिएको छ । लामो समयदेखि धुलाम्ये सडकमा यात्रा गर्दा आफूहरु हैरान भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पटकपटक बजेट माग गरेका छौँ तर सुनुवाइ भएको छैन । पश्चिम जाजरकोटलाई राज्यले नहेरेको अवस्था छ ।”  

छेडा–चाँदे हुँदै जुम्ला सडकखण्डभित्र रहेको यो सडकमा शिवालय गाउँपालिका–१ देखि नै कालोपत्र नहुँदा कच्ची बाटोमा यात्रा गर्नुपर्छ । हिउँद याममा ठिकै भए पनि वर्षायाममा यो सडकमा हिँड्न मुस्किल हुने गरेको उहाँको भनाइ छ । पूरै कच्चीे यो सडकमा मुस्किलले एकतर्फी यातायाताका साधन सञ्चालन भइरहेका छन् । दोहोरो यातायातका साधन बाटो क्रस गर्न फराकिलो भएको ठाउँ खोज्दै समय बित्ने गरेको छ । यो काम सङ्घीय सरकारको मातहतमा रहेर सडक डिभिजनले काम गर्दै आएको छ । 
 
ठाउँठाउँमा पुल निर्माण गर्नुुपर्ने भए पनि हालसम्म मुस्किलले मोर्कमा एउटा मात्र पुल निर्माण भएको छ अन्य कुनै पनि ठाउँमा पुल निर्माण नभएको उहाँले बताउनुभयो  । पश्चिम जाजरकोटका शिवालय, छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिकाको आधा भाग हुँदै जुम्ला जोड्ने महत्वपूर्ण सडक भए पनि राज्यको नजरमा नपरेको महताराको गुनासो थियो । पश्चिम जाजरकोटका जनप्रतिनिधिदेखि सर्वसाधाणले धेरैपटक सडकमा कालोपत्र गराउन माग गर्दै आए पनि त्यसको सुनुवाइ नभएको उहाले बताउनुभयो ।

पश्चिम जाजरकोटमा सडकको दूरावस्थाले निर्माण सामग्री ल्याउन र बिरामी हुँदा अस्पताल लैजानसमेत समस्या हुँदै आएको छ । सडकको स्तरोन्नति नहुँदा मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र लुम्बिनी रारा सडकसँग यो सडक जोडिएको छैन ।

प्रतिक्रिया