रुकुम पश्चिममा एक हप्तामा दुई सामुदायिक वनमा आगोलागी

रुकुम पश्चिममा एक हप्तामा दुई सामुदायिक वनमा आगोलागी

रुकुम पश्चिम -  रुकुम पश्चिममा सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ । गत शनिवार मात्रै मुसिकोट नगरपालिका वडा १ रावलबाडास्थित बारेगैरा सामुदायिक वन क्षेत्रमा आगोलागी भएको थियो ।

त्यसको एक हप्ता नबित्दै आज पुनः सोही वडाकै भीरबारी सामुदायिक वनमा आगोलागी भएको थियाे । सामुदायिक वनमा आज दिउँसो लागेको आगो नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले बताउनुभयो  ।

उहाँका अनुसार डढेलोबाट सानाठूला गरी ५० वटा खोटे सल्लो प्रजातिका रुखहरूमा क्षति पुगेको छ भने दुई हेक्टर क्षेत्रफलमा आगोलागी भएको छ । गत शनिवार पनि  सामुदायिक वनमा आगोलागी हुँदा विभिन्न प्रजातिका सानाठूला गरी चार सय बिरुवामा क्षति पुगेको थियो । भने १५ हेक्टर क्षेत्रफलमा आगोलागी भएको थियो ।

आज दिउँसो सामुदायिक वनमा लागेको आगो डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएको निमित्त प्रमुख परियारले बताउनुभयो । सामुदायिक वनमा आगो लगाउने व्यक्तिको खोज कार्य भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया