मुसिकोटमा सदस्य सहकारी शिक्षा शिविर

मुसिकोटमा सदस्य सहकारी शिक्षा शिविर

रुकुमपश्चिम -  रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ होलतारामा रहेको सृजनशील महिला आयआर्जन बचत तथा ऋण सहकारी संस्थाले टोल टोलमा पुगेर सदस्य सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । सहकारी संस्थामा जोडिएका महिलालाई सृजनशील, जागरूक तथा सहकारीको बारेमा ज्ञान प्रदान गर्न टोल टोलमा सदस्य सहकारी शिक्षा शिविर चलाइएको हो । 

शिविरबाट मुसिकोट नगरपालिका वडा नम्बर -९ र -१० का दुई सय ४१ जनालाई सहकारी सम्बन्धी शिविर मार्फत शिक्षा दिएको सृर्जनशील महिला आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड व्यवस्थापकका जोखिमाया खड्काले बताउनुभयो । उहाँका अनुसार माघ १२ गतेबाट सञ्चालन भएको सदस्य सहकारी शिक्षा शिविर १२ दिन चलेको हो । तीन दिन सहकारीका व्यवस्थापक र सह व्यवस्थापकलाई सहकारी सङ्घका जिल्ला सचिव होमबहादुर बोहराले प्रशिक्षण दिनुभएको थियो । 

तालिम पश्चात् सहकारीका व्यवस्थापक र सह व्यवस्थापकको सहजिकरणमा दुई वटा वडाका नौ टोलमा रहेका सहकारीका सदस्यलाई १७ गतेबाट २४ गतेसम्म सहकारी सम्बन्धीको नीति, नियम, काम कर्तव्य, सहकारी प्रतिको लगाव, गलत गरेमा भोग्नुपर्ने सजाय लगाएका विषयमा शिक्षा दिएको सहकारीका अध्यक्ष जानकी केसीले बताउनुभयो  । 

वडा नम्बर -९ र -१० का महिला मिलेर सञ्चालन गरेको सहकारीमा अहिले तीन सय ९६ जना महिला शेयर सदस्य रहेका छन् । २०६७ साल माघ ५ गते स्थापना भएको सहकारीले हालसम्म एक करोड ५३ लाख १७ हजारको कारोबार गरेको जनाएको छ । सोही कारोबारलाई व्यवस्थित लगायत अन्य व्यवहारिक शिक्षा प्रदान गर्न सहकारीले सदस्य शिक्षा शिविर आयोजना गरेको थियो । 

सहकारीको कार्यालय मुसिकोट नगरपालिका -९ होलतारमा एक कार्यक्रमका बिच शिविरको समापन गरिएको हो । समापन कार्यक्रममा मुसिकोट नगरपालिका -९ नम्बर वडा अध्यक्ष शशिराम पुन, १० नम्बर वडा अध्यक्ष धनबहादुर खड्का लगायतको आतिथ्यता रहको थियो ।

प्रतिक्रिया