दैलेख-नौमूलेको सडक कालोपत्रे र ग्रामीण सडक स्तरोन्नति पहिलो प्राथमिकता

दैलेख-नौमूलेको सडक कालोपत्रे र ग्रामीण सडक स्तरोन्नति पहिलो प्राथमिकता
सुन्नुहोस्

दैलेख – नौमूले गाउँपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ को ७ महिला अवधिमा गरेका विकास गतिविधिको अवस्था, सेवाको गुणस्तर र प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा सेवाग्राहीहरुले विकास आयोजनाको गुणस्तर, आवश्यकताका आधारमा योजना वितरण, लक्षित कार्यक्रमको प्रभावकारिता विषयमा प्रश्न, सुझाव र प्रतिक्रियाहरु जनाएका थिए । 

उठेका प्रश्नहरुका विषयमा जवाफ दिदंै नौमूले गाउँपालिका अध्यक्ष छबिराम सुबेदीले दैलेख सदरमुकामदेखि नौमूलेको सडक कालोपत्रे गर्ने, पालिका जोड्ने ग्रामीण सडकहरु स्तरोन्नति गर्ने कार्य पहिलो प्राथमिकता रहेको बताउनुभयो । 

गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाहीले नौमूले गाउँपालिकाका ८ वटै वडामा विधुतीकरण गर्ने काम तीब्र रुपमा भइरहेको र नौमूलेमा उत्पादित बिद्युत केन्द्रीय प्रसारण जोडिएको अवस्थामा दैलेख जिल्लालाई लोडसेडिङ्ग मुक्त बनाउन नेपाल विद्युत प्राधिकरणमा पहल भएको जानकारी दिनुभयो । 

त्यसबखत नौमूले गाउँपालिका–५ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता कृष्ण सलामीले नौमूले बजारको फोहोर व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गराउन गाउँपालिका लागि परेको बताउनुभयो । 

कार्यक्रमको सुरुवातमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले चालु आर्थिक वर्ष ०८०÷८१ को विकास तर्फ अर्थात पूजीगत खर्चमा १० प्रतिशत बजेट मात्र खर्च भएको जानकारी दिनुभयो, उहाँले चालु योजना   सम्पन्न भएका विकास कार्यक्रम भुक्तानी प्रक्रियामा आउन बाँकी र चाल योजनाको पनि जेठ अन्तिमसम्म सकेर भुक्तानी दिइसक्ने योजना सुनाउनुभयो । 

डेढ सय भन्दा बढी स्थानीयको सहभागिता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा १० जना सहभागीले प्रश्न र जिज्ञासन राख्नुभएको थियो । पत्रकार अमर सुनार र तीर्थ भण्डारीले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा मुख्य जवाफदेही वक्ताहरुको ५ बुदे प्रतिवद्धता गराइएको थियो । 
 

प्रतिक्रिया