दैलेख ः इतिहास, प्रकृति र संस्कृति

दैलेख ः इतिहास, प्रकृति र संस्कृति

imagesधार्मीक तथा ऐतिहासीक रुपले महत्तव बोकेको मध्यपश्चिमाञ्चलको भेरी अन्चलमा पर्ने दैलेख जिल्ला प्राकृतिका स्रोत र साधनले भरीपुर्ण एक पहाडी जिल्ला हो । १ हजार ५ सय दुई बर्गकिलोमिटर क्षेत्रफल ओगटेको जिल्लालाई ४९ गाविस, दुई नगरपालिका, ११ इलाका र दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । यो जिल्ला समुन्द्र सतहबाट न्यूनतम् ५४४ देखि अधिकतम् ४१६८ मिटर उचाईसम्म फैलिएको छ । पौराणिक कालमा ऋषिमुनीहरुले तपस्या गरेर बसेको पवित्रभूमि भएका कारण देवलोकबाट अप्रभंस हुँदै र दधिची ऋषिले तपस्या गर्दागर्दै यसै ठाउँमा लीन भएकाले जिल्लाको नामाकरण ‘दैलेख’ रहन गएको किम्बदन्ती छ ।
पहाडी भू–भागले घेरिएको दैलेख नेपालकै सुन्दर जिल्ला बन्न सक्ने सम्भावनासँगै ऐतिहासिक र पुरातात्विक बस्तुहरुको प्रचुर सम्भावनाले सजिएको छ । भेरी र कर्णाली दुईवटा विशाल नदीको बीचमा रहेको दैलेख विभिन्न जातजातिको उद्गम थलो हो । पञ्चकोशी तीर्थस्थल, नेपाली भाषाको पहिलो अभिलेख, देवल र ऐतिहासिक स्तम्भ दैलेखका सम्पक्ति हुन् । प्रकृतिका अनुपम छटाले मात्रै होइन मौलिक संस्कृतिमा पनि दैलेख निकै धनी छ ।
बैश्वानरपुराण अनुसार दैलेखमा अवस्थित शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई पञ्चकोशी तीर्थस्थलका रुपमा पुजिन्छ । चलन चल्तीमा भने कोटीलालाई पनि त्यही श्रेणीमा राखिएको छ । जसमध्ये शिरस्थान र नाभिस्थामा अविरल बल्ने ज्वाला धार्मिक आस्थाका केन्द्र हुन् । श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यहाँ पुग्दा शिरपतन भएकाले यस स्थानलाई शीरस्थान भनेर पुज्न थालिएको हो । यस क्षेत्रमा ज्वालाघर, कालभैरव (कालसैनी), वटुकभैरव, शिवलिङ्ग, धर्मशाला छ । यहाँ रहेको ज्वालालाई ‘बडीज्वाला’ भन्दै भगवानको रूपमा पुजिन्छ ।
नाभिस्थान मन्दिर गमौडी गाविसमा पर्छ । श्रीस्वस्थानी व्रतकथाअनुसार सतीदेवीको नाभी पतन भएकाले यस स्थानलाई ‘नाभिस्थान’ भनेर पुज्न थालिएको हो । यहाँ पनि ‘ब्रहमज्वाला’ र ‘इन्द्रज्वाला’ छ । यस क्षेत्रमा भैरव, शिवको मन्दिर छ ।
बडलम्जी गाविसमा रहेको धुलेश्वर मन्दिर तेह्रौ शताब्दीमा निर्माण गरिएको बताइन्छ । प्रत्येक आंैसी, पूर्णिमा र संक्रान्तिमा मेला लाग्दा धुले उड्ने भएकाले र सतीदेवीको अङ्गको धुलो पतन भएकाले यसलाई ‘धुलेश्वर’ भनिएको जनविश्वास छ । यहाँ उमा–महेश्वरको मुर्ति, शिवलिङ्ग, बसाहको मुर्ति, गर्भगृह अग्निकुण्ड, भैरव मन्दिर, धर्मशालालगायतका संरचना छन् ।
दुल्लु नगरपालिकामा रहेको पादुकामा चौधौं शताब्दीतिरका मुर्ति छन् । श्रीस्वस्थानी व्रतकथाअनुसार सतीदेवीको पाउ खसेर पतन भएकाले यस स्थानलाई ‘पादुका’ भनिएको हो । केही दशक अघिसम्म यहाँ पनि अनवरतरुपमा ज्वाला बल्थ्यो । तर पादुका खोलमा आएको बाढीले बगाएपछी बलेको छैन ।
नाउले कटुवाल गाविसमा रहेको सिद्धेश्वर महादेव कर्णाली राजमार्गसँगै जोडिएको छ । यो कर्णाली र लोहोेरे नदीको संगमस्थलमा पर्छ ।
नारायण नगरपालिकाको छामगाड खोलाले वरीपरी घेरेको टापु जस्तो स्थनामा छ कोटीला, अर्थात् कोटीलिगेश्वर महादेव मन्दिर । पञ्चकोशी तीर्थस्थलसँग यसको अन्योन्याश्रित सम्बन्ध रहेको मानिन्छ । वर्षा नभई बाली–नालीमा असर परेमा यो मन्दिरमा पूजा गरे पानी पर्ने जनविश्वास छ । त्यस्तै वेलासपुर, नारायण, जगन्नाथ, गणेश, विन्दावासीनी र बालेश्वर शिवालय यहाँका मुख्य धार्मिक केन्द्र हुन् ।
जिल्लाको सबैभन्दा उच्च स्थान ४१६८ मिटर उचाईमा अवस्थित महाबु लेक पर्यटकीय एवं धार्मिक हिसवले पनि महत्वपूर्ण छ । यस स्थनाबाट भेरी र कर्णालीका अधिकास स्थान देख्न सकिन्छ ।
०००
दैलेख देवहरुको जिल्ला पनि हो । नुवाकोटदेखि पश्चिम र उत्तर भारतको कुमाउ–गढवालदेखि पूर्वको भू–भागमा मात्र देवलहरु पाईने गरेकामा सबैभन्दा बढी र कलात्मक देवल दैलेखमै छन । सिंजा साम्राज्यको स्थापना, विकास र अन्त्यसँगै दैलेखमा देवलहरु निर्माण गरिएको मानिन्छ । हाल रहेकामध्ये भूर्तिमा (एकै स्थानमा) सवैभन्दा बढी २२ वटा देवल छन् । नारायण नगरपालिकाको भूर्तिमा रहेको बाईस देवललाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्ने प्रयास स्वरुप सन् २००८ जनवरी ३० देखि ‘क’ वर्गमा राखिएको छ । यी देवल चौधौं र पन्धौं शताब्दीतिर कर्णाली प्रदेशको खसमल्ल राज्यकालीन समयमा निमार्ण गरिएका हुन् ।
त्यस्तै, किमुगाउँ, कुईकाना, तर्ताङ, दवाडा, काशिकाँध, दुल्लु, रावतकोट, वडलम्जी, पादुका, छुवाला, ब्याउली, र बाणगड्गामा समेत थुप्रै देवल छन् ।
दैलेखमा विजय र धर्मसतम्भ धेरै छन् । दामुपालको स्तम्भ नेपाली भाषामा लेखिएको पहिलो अभिलेख हो । दुल्लु नगरपालिको पटाङ्गीनीमा अवस्थित यो स्तम्भ संरक्षणको पर्खाइमा छ । त्यस्तै दुल्लु बजरामा रहेको किर्तीखम्बा पश्चिम नेपालाको इतिहास अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । जुम्लाको सिंजा साम्राज्यका शासक पृथ्वी मल्लले शाके सम्वत् १२६९ मा स्थापना गरेका कीर्तीखम्वा खसमल्ल शासन कालको एक मात्रै प्रमाण हो । यस बाहेक सउना कार्कीको खम्बा, दुल्लुगढीको खम्बा, सातखम्बा, चकत्रा वीरखम्बा, शीरस्थान वीरखम्बा, दैलेख बजारमा रहेको चारखम्बा र तर्ताङमा रहेको दुई खम्बा महत्वपूर्ण छन् ।
खस साम्राज्यको शीतकालीन राजधानी र खसमल्ल साम्राज्य विघटनपछि संसारी बर्माले स्थापन गरेको दैलेख राज्यको राजधानी पनि थियो दुल्लु । जहाँ दुल्लु दरवार थियो । जसको निर्माण वि. सं. १९८१ मा तत्काली दुल्लुका राजा जगबहादुर शाहले गरेका हुन् । २०५९ साल बैशाख ८ गते सशस्त्र युद्धको समयमा विस्फोट गराइएपछि दुल्लु दरवार अहिले भग्नावभेषमा परिणत भएको छ ।
त्यस्तै, नारायण नगरपालिकको पुरानो बजारमा कलात्मक कोतगढी छ । जसको निर्माण विक्रम सम्बत १८४६ ताका बहादुर शाहको नायबी कालमा गोरखाली सेनाले गरेका हुन् । गढीको किल्ला भित्र पहिले दुईवटा घरमा हात–हतियार राखिन्थ्यो । हाल नेपाली सेनाको अधिनमा रहेको यो गढीको उचित संरक्षण हुन सकेको छैन ।
०००
दैलेख कला, संस्कृति र जातजातिको उद्गम थलो पनि हो । दैलेखकै कोइराला गाउँबाट कोइराला, नेपाबाट नेपाल, दहबाट दाहाल, दुल्लुबाट दुलाल, लम्सुबाट लम्साललगायत झण्डै तीन दर्जन जाति नेपालभर फैलिएका हुन् । देउडा, मागल, मारुनी, गर्रा, पैसरी, हुड्केजस्ता परम्परागत नाचले यहाँको संस्कृतिलाई जीवन्त बनाइरहेको छ । तर, परम्परागत मौलिक संस्कृति संरक्षणमा पर्याप्त ध्यान दिन नसक्दा लोप हुने खतरा भने बढेको छ ।
०००

समग्रमा दैलेख ऐतिहासिक, धार्मिक, सांस्कृतिकसँगै पर्यटकीय महत्व बोकेको जिल्ला हो । ऐतिहासिक स्थलहरुको संरक्षण, कला–संस्कृतिको जगेर्ना, पर्यटकीय गन्तब्यको पहिचान र प्रचार–प्रसार गर्न सके दैलेखले आफ्नो पहिचान थप उजागर गर्न सक्ने देखिन्छ । तर यसका लागि आवश्यक छ राज्यको स्पष्ट नीति, स्थानीय निकायको व्यवहारिक कार्यक्रम, सरोकारवालाबीच एकता र दैलेखी नागरिकको सक्रियता ।

प्रतिक्रिया