बुद्धचित्त बेचेर गाउँमा एक अर्ब बढी आम्दानी

बुद्धचित्त बेचेर गाउँमा एक अर्ब बढी आम्दानी

एउटै रूखको भाउ परार सात हजार, पोहोर तीन लाख यसपाला १२ लाख
काभ्रे जिल्लाको भकुण्डेबेसीबाट पूर्व लोभलाग्दो फाँट छ। फाँट छिचोलेपछि कच्ची बाटो उकालो लाग्छ। घुमाउरो उकालो ओरालो सत्ताइस किलोमिटर हिँडेपछि पोखरी नारायणस्थान गाविस पुगिन्छ। त्यहाँ पुग्दा कानपुर गाविस नाघेर जानुपर्छ।काभ्रेको तिमाल भेगमा पर्ने यी गाविसमा पनि बेँसीभन्दा लेकको जीवन कष्टप्रद छ। मुलुकको अरु पहाडी भेग जस्तै बेँसीमा क्षेत्री, बाहुन र दलितको बसोबास छ। बढी दुःख झेल्नुपर्ने लेकमा तामाङहरु छन्। तामाङ्हरू मकै र कोदोको भरमा बाँच्नुपर्थ्यो।
तीन वर्षदेखि नारायणस्थान, कानपुर र यस भेगका अरु गाविसमा पनि चमत्कार नै भएको छ। वस्तुलाई राम्रो स्याउला पनि नहुने एकथरि रूखले वर्षेनी तिमाल भेगमा एक अर्ब रुपैयाँभन्दा बढी भित्र्याइरहेको छ।

लेकको बारीको कान्लामा हुने बुद्धचित्तको रूख बरदान भएको छ। रूखमा लाग्ने बयर जस्तो फलको गेडाका लागि व्यापारीले एउटै रुखको फलको आकार हेरि दुईदेखि दस लाख रूपैयाँसम्म तिर्ने गरेका छन्। यसरि तिमाल भेगका किसानले बुद्धचित्त बेचेर वर्षेनी एक अर्ब रूपैयाँ भन्दा बढी पाइरहेका छन्।
बुद्धिचत्त फल बहमूल्य भएपछि सुरक्षाका लागि प्रहरीले तथ्याङ्क संकलन गर्न खोज्यो। आफ्नो बारीको रूखको तथ्याङ्क प्रहरी प्रशासनलाई दिएर किन झन्झटमा पर्ने भनेर स्थानीय उत्साहीत भएनन्।
‘नारायणस्थान र कोटतिमाल गाविसमा मात्र आठ सय बोट छन्। तर ९४ घरधुरीले मात्र अपुरो तथ्याङ्क टिपाए,’ कोट तिमाल प्रहरी चौकीका असइ विष्णु थापाले भने।
हामी तिमाल भेगमा पुग्दा पनि धेरैजसो किसानले आफ्नोबारेमा खुलेर कुरा गर्न चाहेनन्। धेरैवटा रुख हुने एकैजना किसानले २ करोड रूपैयाँसम्म लिएको उदाहरण पाइयो।
***

नारायणस्थान २ का ७१ वर्षे तिमालसिंह तामाङको बारीमा बुद्धचित्तको ५० रुख थियो। पाँच वर्षअघि ३५ वटा काटेर दाउरा बेचे। अहिले १५ वटा मात्र बाँकि छ।
‘मकैलाई सेप लाग्यो भनेर बुद्धचित्तको काटेँ,’ उनले भने, ‘नत्र म पनि वर्षामा करोड करोड भित्र्याउने हुँदो रहेछु।’
स्याउला, काठपात काम नलाग्ने हुँदा बुद्धचित्त भाउ कौडी बराबर थियो। ‘यसपाली २ सय ५० वटा बुद्धचित्तको विरूवा रोपेको छु,’ उनले चित्त बुझाए।
***

२०४० सालतिर केही तिब्बतीयनहरू औषधी र सियो बेच्न यो भेगमा व्यापार गर्न आउँथे। औषधि र सियो बेचिसकेपछि उनीहरुले ती गाउँका रूखमा फलेका बुद्धचित्त झारेर लैजान्थे। पैसा दिएर होइन सित्तैमा। रूखमा फलेर भूईँमा झरेर बिलाउने फलप्रति स्थानीयको कुनै चासो थिएन। पैयुँ, बकाइनोको फल जस्तै बुद्धिचत्तको पनि कुनै भाउ थिएन।
‘तीन वर्ष भयो बुद्धचित्तको दाम आउन थालेको,’ तामाङ भन्छन्, ‘अहिले बुद्धचित्त बेच्दा पाएको पैसा नक्कली झैं लाग्छ। हजारको नोट नदेखेको अवस्थाबाट सिरानीमा लाखौं रकम राखेर सुत्दा निन्द्रा पर्दैन।’
उनले यस वर्ष १५ वटा बोटका बुद्धचित्त २५ लाखमा बेचेको सुनाए। बुद्धचित्तको फल सानो भए भाउ धेरै हुने र ठूलो दानाको मोल कम हुन्छ। ‘यसपाला सबै बोटमा ठूलो फलेकोले २५ लाखमा चित्त बुझाउनुपर्यो,’ उनले भने।
***

कानपुर गाविस कोटतिमालका गोरखमान लामाले यसवर्ष १ रूखमा फलेको बुद्धचित्त १२ लाखमा बेचेको सुनाए। उनीसँग बुद्धचित्तका एउटा मात्र रूख छ, त्यो पनि २३ वर्षको। यसपटक अन्दाजी ३० किलो जति फल्यो उनले भने घरमै व्यापारी आएर १२ लाख दिएपछि बेच्दिए। पहिलो वर्ष त्यही रूखमा फलेको बुद्धचित्त ७ हजारमा बेचेका थिए। पोहोर लाख आयो।
‘यसपटक १ सय ५ वटा विरूवा रोपेको छु,’ उनले सुनाए, ‘मौरेभन्ज्याङका एकजानाले यस वर्ष २ करोडको बुद्धचित्त बेचे उनले भने अर्को वर्ष त मेरो पनि हुन्छ होला।’ भूकम्पले घर भत्काएपछि उनी अहिले बुद्धचित्त बेचेको पैसाले नयाँ घर बनाउँदैछन्।
***

चैततिर फूल्ने बुद्धचित्त असारमा पाकिसक्छ। असारको पहिलो सातादेखि नै बोटबाटै चोरी हुने भन्दै स्थानीय बुद्धचित्तको बोटमुनी कुर्न बस्छन्। नाराणस्थानका ८२ वर्षे दुधराज तामाङले बारीमा रहेका ६ वटा रूखमा फलेको बुद्धचित्त कुर्न छिमेकीलाई रातको एक हजार रुपैयाँ दिए। ‘यसपाला २५ लाख रुपैयाँको बेचे बाबु,’ उनले भने।
स्थानीय पेमा तामाङको पनि उस्तै समस्या छ। बुद्धचित्त पाक्ने बेलामा सुरक्षा भएन चोरीको डर भयो। त्यसैले आफ्नो बारीको ८ वटा रुखमा चिचिला लाग्नेबित्तिकै २२ लाखमा बेचेको सुनाए।
बुद्धचित्तको पैसाले उनले काठमाडौं कपनमा घर बनाएका छन्। बेच्नका लागि जिल्ला बन कार्यालयबाट सिल लगाउन कर्मचारी आउनुपर्ने, कर्मचारी रिझाउनुपर्ने, अनि बेच्न लैजाने बेलामा बाटोमा चोरी हुने डर रहेको भन्दै उनले प्रहरी बोलाएर स्कर्टिङ गरेरै बुद्धचित्त बेच्नुपर्ने समस्या रहेको बताए। भीमबहादुर तामाङको ६ वटा रुखलाई व्यापारी आएर २३ लाख रुपैयाँ दिइसकेका छन्। तर उनले ३० लाख घटी नदिने अडान लिएका छन्।
***

गाउँभरमा फलेका बुद्धचित्त उठाउन गणेश लामाको हालीमुहाली छ । सबैतिर उनले मान्छे खटाएका छन्। स्थानीय व्यापारी पनि उनले नै परिचालन गरेका छन्। सबै स्थानबाट संकलन भएको बुद्धचित्त पुग्ने भने गोदाम भनेकै लामाको हो। नयाँ मान्छे भकुन्डेबसीबाट मास्तिर उक्लने बित्तिकै लामा समूहले निगरानी गर्छ।
बुद्धचित्त बढी फल्ने भनेको कानपुर, नारायणस्थान, मेच्चे तिमाल भएको काभ्रेका डिएसपी राजकुमार केसीले जानकारी दिए । ति स्थानमा रहेका चौकीमा प्रहरी दरबन्दी बढाइ सुरक्षा दिने गरेको उनले सुनाए। कृषकहरुबाट चोरी हुने कुरा आएपछि नजिकका प्रहरी चौकीलाई ती स्थानमा विशेष ध्यान दिन भनिएको उनले बताए। ‘पाक्ने बेलामा चोरी हुने समस्या देखा परेको छ, यो वर्ष कहिकतै चोरी भएन’, उनले भने।
ब्यापारीहरुलाई सदरमुकामसम्म ल्याउनका लागि सुरक्षा दिएका दिने गरेको पनि उनले बताए। चीनमा यसको माग बढी र रकम पनि धेरै आउने भएपनि त्यसले अपराध बढाउँछ कि भन्ने हेतुले कडा निगरानीका साथ काम गरिरहेका उनले सुनाए। केही विकट स्थानमा यातायतको प्रवन्ध नभएका कारण हेलिकप्टरमा पनि बुद्धचित्त ओसारिएको उनले बताए।

सेताेपाटीवाट साभार गरिएकाे

प्रतिक्रिया