हाम्रा नेता पावरका भोका छन् : डा. केसी

हाम्रा नेता पावरका भोका छन् : डा. केसी

आश्विन ११, २०७२- प्रा.डा. गोविन्द केसीको साताैं आमरण अनसन सोमबार दशौं दिनमा पुगेको छ । छैठौं अननसन लगतै सुरु भएको यो अनसनले गर्दा उनको स्वास्थ्य असाध्यै गलेको देखिए पनि अनुहारमा आत्मविश्वास भने कायमै छ । मास्क लगाएर बोल्न गाह्रो भएपछि केही मिनेट अक्सिजन मास्क फुकाल्दा उनलाई केही अप्ठयारो महसुस भएपछि पुन: मास्क लगाउँदै गर्दा उनको आत्मबल भने तीन वर्ष तीन महिना अघि पहिलो अनसनमा बसेको स्थितिमाभन्दा कुनै कमी देखिँदैन । 28092015121457kcji-600x0डा. केसीसँग अनसनस्थलमा अतुल मिश्रले गरेको कुराकानी । नौ दिन भयो राज्यको तर्फबाट भेट्न कोइ आए ? हालसम्म कोइ आएको छैन । देशमा अहिले धेरै समस्या छन् त्यसैले आउन नभ्याएका होलान् । उहाँहरु त समस्याले व्यस्त भइयो, यता हेर्ने फुर्सद छैन भन्नुहुन्छ होला । तर, त्यसो होइन । यो उहाँहरुको गैर जिम्मेवारपनको पराकाष्ठा हो । उहाँहरुमा अलिकति पनि इमान्दारिता छैन । इमान्दारिता त देखी हाल्यो नी– ११ बुँदे सम्झौता गरे र लगतै त्यसको तोडमरोड गरेर आत्मा नै मारेर अर्कै बनाए । नेपाली राजनीतिमा गैर जिम्मेवारीपन, अपराध, भ्रष्टाचार र दण्डहिनता संस्थागत भइसकेको छ । त्यसलै हो की जस्तो लाग्छ उहाँहरु यता आउनुभएन । यहाँ के छ भने देखी जनताले नेता चुने, तर उहाँहरु ‘पावर हंग्री’ हुनुहुन्छ । नेताहरुलाई जनताको आवाज सुन्नुसँग मतलब छैन । कुर्चीमा पुग्नमात्र हतार भएको हामी सबैले सधंै देखिरहेकै छौं । उहाँहरु जनता प्रति जिम्मेवार नभएर कुर्चीमा जान जे गर्न पनि तत्पर भएकोले मुलुकको यस्तो स्थिति भएको हो । सरकारले आँफै सम्झौता कार्यान्वयन नगर्न खोजेको हो ? सरकारलाई चलाउने मुठ्ठीभर काला व्यापारी, मेडिकल माफिया र भ्रष्ट नेताहरु छन् । ती व्यक्तिहरु ३ करोड नेपालीको स्वास्थ्य प्रति जिम्मेवार छैनन् । उनीहरुको एकमात्र उदेश्य भनेको जुनसुकै हिसाबमा आफ्नो व्यापारलाई बढाउनु हो । नाफा कमाउनु हो । यही समुहबाट चल्ने सरकार भएकाले सम्झौता कार्यान्वयन नगरेको हो । सरकार गैरजिम्मेवार भए अब के गर्ने ? नेपाली जनताले उनिहरुलाई आफ्नो हितमा रहेका कुरा स्थापित गर्न बाध्य बनाउनुपर्छ । स्वस्थ्य भएर जीउन पाउनु पर्ने अधिकार जनताको हो । यसको सुरक्षा सरकारले नै गर्नुपर्छ । तर सरकारले नै आमजनताको वेवास्ता गर्न थाले नेताहरुलाई सत्ताको भर्याङ चढाउने जनताहरु आँफै जाग्नुपर्छ । जनता जागे भने कसैको केहि चल्दैन । आफ्नो सामुहिक हित स्थापित गराएर छाड्छन् । यसपटक तपाइको माग के–के हो त ? मेरो माग एक बुँदे हो । यस अघि छैठौं अनसनमा सरकारले हामीसँग गरेको ११ बुँदे सहमति अक्षरस: पालना गर्नुपर्यो । अरु मेरो कुनै माग छैन । सरकार ले तपाइसँग ६ पटक सहमति गर्यो । तर कुनै पुरा गरेन अझै तपाइलाई माग पुरा गर्छ भन्ने विश्वास छ ? हो, हालै ११ बुँदे सहमतिको मसी सुक्न नपाउँदै ४८ घन्टा भित्रै सरकारले त्यसको पूर्ण रुपमा उल्लंघन गर्यो । तर किनकिन म चाँही सधै विस्वास गर्छु । वार्ताकारहरुलाई विश्वास गर्छु । त्यसैले सरकारलाइ विश्वास गर्नुपर्यो । तर प्रत्येक चोटी उहाँहरु धोका दिनुहुन्छ । हामीसँग नेपालीको हितमा गरेका सहमतिहरु उल्लंघन गर्नुहुन्छ । यो म वा हामीसँग मात्र गरेको धोका होइन । म त माध्यम मात्र न हुँ । यो उहाँहरूलाई सत्ताको शिर्षस्थानमा पुर्याउने तीन करोड नेपालीमाथी गरिएको धोका हो । त्यसैले म यस्तो खेल हुँदा पनि हाम्रो नेपाली दाजुभाइ–दिदीबहिनीको चिसकत्सा शिक्षा र सेवा सम्बन्धि सुखद भविष्यको झिल्को हेरेर पुन: सत्याग्रह गर्छु । उहाँहरुले लाखौंपटक दिने धोकाभन्दा मेरा लागि नेपालीले चिकित्साशिक्षा र सेवाको क्षेत्रमा अनुभव गर्ने सुधार सबैको सहज पहुँच महत्वपुर्ण विषय हो । त्यसैले म अनसनरत छु । धोका दिए जनतामा जान्छु । तर नेपालीले देखेको सुनौलो भविष्यको चाहनालाई छोड्ने छैन । अहिलेको देशकोस्थिति बारे केहि भन्नुहुन्छ ? हाल देशमा विषम परिस्थिति छ । नेपालीहरुको कष्ट हेरेर मलाइ असाध्यै दु:ख लागेको छ । म आहात छु । तर मलाइ पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म र हिमालदेखी दक्षिणी भेगसम्मका सबै देशवासी माथि पूर्ण विश्वास छ । अहिलेको यो स्थिति क्षणिक हो । उहाँहरु सबै मिलेर शान्तिपूर्ण तरिकाले सबै समस्यालाई समाधान गरेर एउटा सुन्दर, समुन्तत र सबैको साझा नेपाल बनाउनुहुन्छ ।

साभार ः इकान्तिपूर

प्रतिक्रिया