सम्वृद्धिको यात्रामा दैलेख

सम्वृद्धिको यात्रामा दैलेख

–गोविन्द केसी
–गोविन्द केसी

मध्यपश्चिमको पहाडी जिल्ला दैलेख ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौगोलिक र पर्यटकीय हिसाबले सुन्दर जिल्ला हो । ४९ गाविस र २ नगरपालिका रहेको दैलेख शान्ति स्थापनासंगै विकास र सम्वृद्धिको बाटोतर्फ लम्किरहेको छ । चर्चित पञ्चकोशी धार्मिक क्षेत्र, लोपोन्मुख राउटे समुदाय, द्धारी झरना यही जिल्लामा छन् । पर्यटकीय सम्भावनाका दृष्टिले दैलेख राम्रो सम्भावना भएको जिल्ला हो । काठमाडौं उपत्यका, लुम्बिनी पछि दैलेखमा ऐतिहासिक र पुरातात्विक सम्पदाहरु छन् । प्राचिन मठमन्दिर, देवल, गढीमात्र नभै पानीमा निरन्तर बलिरहने ज्वालासमेत यहाँ पाइन्छ । यस जिल्लालाई विभिन्न ३६ भन्दा बढी जातजातिको उद्गम थलोका रुपमा लिने गरिन्छ ।
लेकाली हावापानी भएकाले बहुमुल्य जडीबुटीको खानी हो दैलेख । बहुमुल्य पत्थर काइनेटिकदेखि दुर्लभ पशुपंक्षी डाँफेसम्म यहाँका उत्तरी लेकमा पाइन्छन् । त्यस्तै, ४९ गाविसको मुकामसम्म सडक विस्तार भैसकेको छ । सडक सञ्जालको विकास कारण गाउ क्रमशः शहरमा परिणत हुदैंछन् । सडक पुगेका स्थानमा मानिसहरु पसल व्यवसायका लागि केन्द्रित हुने गरेका छन् । स्वदेशको जागिरका साथै विदेशबाट कमाइ ल्याएको रेमिट्यान्सबाट दैलेखले फड्को मार्दैछ । सदरमुकामका कच्ची घरहरु अधिकांश पक्की बनिसकेका छन् । केही वर्ष अघिसम्म सरकारी वाणिज्य बैंकमात्र रहेको दैलेखमा हाल ६ वटा निजी बैंक छन् । जिल्लाबाट फलफूल, दलहन, जडीबुटी निकासी हुने गरेको छ भने खाद्यान्न, लत्ताकपडा लगायतका सरसमान आयात हुने गरेको छ । डाँडाँकाडासम्म पुग्ने मोटरले उत्तर र पूर्वी भेगका विभिन्न लेकमा जडीबुटी, खानी तथा खनिज पदार्थहरु आयात नियातमा सहजता पुगेको छ ।
१० वर्ष सशस्त्र द्धन्द्धले जर्जर बनेपनि राहत र पुननिर्माणका योजनाले घाउ मेटिदैछन् । द्धन्द्धप्रभावित नौमूले क्षेत्र पनि विकासले काचुली फेर्दैछ । स्वास्थ्यकेन्द्र, बस्ती विकास योजना, पक्की पुल निर्माण हुदैंछन् भने इलाका प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भैसेकेको छ । लघुजलविद्युत आयोजनाले त्यस भेगका गाँउहरु झलमल्ल बनाइरहेको छ । स्थानीयस्तरैमा विद्युतबाट हुने सबै कामकाजहरु हुने गरेका छन् । सदरमुकामबाट नियमित नौमूले कालिका गाविसम्म भाडाँ जीप आवतजावत गर्ने गर्दछन् । त्यस्तै, ऐतिहासिक नगरी दुल्लूसमेत विकासले कोल्टे फेर्दैछ ।
शिक्षा, सडक, स्वास्थ्य, सञ्चार, यातायातले जिल्लाले नसोचेको प्रगति गरिरहेको छ । यहाँ प्रत्येक गाविसमा कम्तीमा १ देखि बढीमा ३ वटासम्म उच्च माविहरु सञ्चालनमा छन् । त्यस्तै प्रावि, निमावि र माविहरु छन् । नगरपालिकाका अधिकांश घरधुरीमा विद्युत सेवा विस्तार भैसकेको छ । नौमूले लगायतका केही गाँउहरुमा लुघजलविद्युत आयोजनाले उज्यालो दिरहेका छन् । सेरी, वराह, डाँडाँपराजुल, गोगनपानी, बेलापाटा, लाँकुरी, कालभैरव, दुल्लू, गमौडी, खरिगैरा, वडलम्जी, छिउँडीपुसाकोट, विनायक लगायत गाविसका केही वडामा राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत सेवा उपलब्ध गराइएको छ । नौमूलेको भुर्सूमा ४ दशमलब २ मेगावाट क्षमताको लोहोरेखोला जलविद्युत आयोजनाको निर्माण सुरु भैसकेको छ । केही अवरोध नभएमा २ वर्षभित्र आयोजना पुरा हुने प्रर्वद्धकले बताएका छन् । यसबाट उत्पादित बिजुली जिल्लामै खपत हुने हुदा जिल्लाको समग्र विकासका लागि यो आयोजना कोशेढंगा साबित हुने बताइएको छ । कर्णाली नदीमा नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना पिडिएको पखाईमा छ । यदि यो आयोजना सञ्चालन भएमा हजारौं युवाले रोजगारी पाउनेछन भने स्थानीयले सित्तैमा विजुली उपभोग गर्न पाउनेछन् ।
दैलेख–सुर्खेत मोटरबाटोका अतिरिक्त यहाँ दुई राजमार्ग यही जिल्ला भएर गएका छन् । मध्यपहाडी राजमार्ग जिल्लाको बीच भागबाट हुदैं सुदुरपश्चिमतर्फ र कर्णाली राजमार्ग पश्चिम भेग हुदैं कणालीतर्फ हानिएका छन् । सदरमुकामबाट जुम्ला जोड्ने वैकल्पिक कर्णाली राजमार्गको निर्माण कार्य पनि भैरहेको छ भने उता, तल्लो डुंगेश्वर दुल्लू हुदैं कालिकोट जोड्ने सडक पनि निर्माणकै क्रममा छ ।
गाँउगाँउमा स्वास्थय संस्था र बर्थिंग सेन्टर स्थापनापछि मातृ शिशु स्वास्थ्यमा सुधार आएको छ । सदरमुकाम र दुल्लू भेगमा खानेपानीको समस्या भएपनि विशाल योजनाको शिलान्यास भैसकेको छ । नारायण नगर वृहत खानेपानी आयोजना र दुल्लु बागीतडा खानेपानी योजना निर्माण हुदैंछन् । जिल्लालाई सन् २०१४ सम्म खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार धमाधम सरसफाई अभियान सञ्चालन भैरहेका छन् । खानेपानी र सरसफाई क्षेत्रले तीव्रता पाएको छ ।
दैलेख कृषिका दृष्टिले समेत सम्पन्न जिल्ला हो । प्राचिन समयमा दहीको लेकबाट दैलेख जिल्लाको नामाकरण भएकाले पशुपालनको राम्रो सम्भावना छ । गाँउगाँउसम्म मोटरबाटो र बीउबिजन तथा प्रविधिको हस्तान्तरण भएपछि ताजा तरकारी तथा फलफूल उत्पादनमा वृद्धि भएको छ । मानिसहरुले अन्य पेशा व्यवसाय छाडी तरकारी खेतीमा आर्कषित भएको पाइन्छ । जिल्लाको गुरासे क्षेत्र नारायण नगरपालिका ताजा तरकारी उत्पादनका दृष्टिले राम्रो सम्भावना भएको क्षेत्र हो ।
दैलेख पर्यटनका दृष्टिले समेत राम्रो सम्भावना बोकेको जिल्ला हो । कर्णाली नदी र्याफिटंगका लागि धेरै उपर्युक्त मानिन्छ । यहाँका धार्मिक, ऐतिहासिक सम्पदाहरु हेर्नलायक छन् । ती सम्पदा हेर्नलाई दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटनको घुइचो लाग्ने गर्दछ । विमानस्थल निर्माण र ठूल्ठूला रिसोर्टहरु खोल्न सके अझैं पर्यटन प्रर्वद्धन हुनसक्छ ।
यहाँ विशेष गरी ठकुरी, बाहुन, क्षेत्री, दलित, जनजाति समुदायको बसोबास छ । यद्यपि, एउटा वडामा मुस्लिम समुदायको समेत बसोबास छ । सरल र मिलनसार यहाँका मानिसको स्वभाव हो । अन्यायका विरुद्ध जुझारु र एकताबद्ध भएर लड्ने यहाँका मानिसको पुुरानो स्वभाव नै हो ।

प्रतिक्रिया