समृद्ध÷मध्यपश्चिम दैलेखमा अखण्ड ज्वाला पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा गर्न पञ्चकोसी दर्शन

समृद्ध÷मध्यपश्चिम   दैलेखमा अखण्ड ज्वाला पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा गर्न पञ्चकोसी दर्शन

अमृत भादगाउँले
गुराँसे जंगल छिचोलेर महाबु पुग्दा घोडेपानीको झल्को आयो । पोखरा–जोमसोम ओरिदोरी गर्ने बाटोको घोडेपानी भञ्ज्याङ । महाबु भञ्ज्याङले चाहिँ दैलेख र कालीकोटलाई जोड्छ । घोडेपानीबाट एक घन्टामा पुनहिल (३,२१० मिटर) पुगिन्छ भने महाबु भञ्ज्याङबाट डेढ घन्टामा महाबु पर्वत (४,१०० मिटर) ।

भुत्रीका पंचदेवल
भुत्रीका पंचदेवल
नाविस्थानका ज्वाला
नाविस्थानका ज्वाला
महावु भंज्याड
महावु भंज्याड

घोडेपानी पर्यटकीय गन्तव्य बनिसक्यो, महाबुमा पर्यटनको घाम झुल्केको छैन । दुवै डाँडाबाट हिमाली सौन्दर्य देखिन्छ । लेकमुन्तिर उस्तै गुराँसे जंगल । महाबुमा महादेव मन्दिर छ । जहाँ जनै पूर्णिमामा ठूलो मेला लाग्छ ।
स–साना पोखरी । नांगा पाखा । नीलो आकाश । चारैतिर रमणीय दृश्य । भञ्ज्याङ छेवैको चौरमा टेन्ट गाडेर बस्न मन लाग्छ । १३ कात्तिक २०७० का दिन हामी भञ्ज्याङ पुग्दा हिमाल बादलभित्र लुकिसकेका थिए । भञ्ज्याङमा मान्छेहरूले ढुंगा र फूलपाती चढाएका रहेछन् । साथमा फूल थिएन, मनफूल चढायौं हामीले ।
ओखरबासबाट बिहान साढे ६ बजे हिँडेका हामी दिउँसो दुई बजे भञ्ज्याङ पुग्यौं । त्यहाँ आधा घन्टा बसेपछि ओरालो झ¥यौं । जिप दगुर्न मिल्ने कच्ची सडकै–सडक उन्पाटासम्म हिँड्न गाह्रो भएन । उन्पाटाबाट दुई घन्टा उकालिँदा भने बाँदर लड्ने भीरमा मुटु ढुकढुक ग¥यो ।
उन्पाटाका खाजा पसले प्रकाश हमाल सुनाउँदै थिए, ‘जुम्ली, मुगाली र कालीकोटेहरू पहिले पहिले दैलेखबाट खाद्यान्न लिएर यही बाटो हिँड्थे । कर्नाली राजमार्ग बनेपछि उनीहरू हिँड्न छाडेका छन् ।’ धन्न महाबु महादेवका कृपाले यस्तो भीरमा आजसम्म कुनै दुर्घटना भएको रहेनछ !
यो पुरानो व्यापारिक मार्गको दिन फर्कंदै छ । दैलेख बजारदेखि नाग्मा (कालिकोट र जुम्लाको बजारसम्म) ८८ किलोमिटर सडक खन्ने काम भइरहेको छ । साढे ४ मिटरको ट्रयाक खनिँदै छ । दैलेखतिर ग्रामीण पहुँच कार्यक्रमले महाबु भञ्ज्याङसम्म ट्रयाक छिचोल्दै छ । भञ्ज्याङ नजिकको लिस्ने भीर काट्नमात्रै बाँकी छ । उता कालिकोट खण्डमा सडक विभागले काम गर्दै छ ।
कार्यक्रमका दैलेख संयोजक पृथ्वी थापाका अनुसार सन् २०१४ सेप्टेम्बरभित्र भञ्ज्याङ हुँदै मोटर नाग्मसम्म पुग्नेछन् । बीचका दुई ठाउँमा पहिरो लागेकाले अचेल दैलेख–ओखरबास २६ किमिसम्म मात्रै जिप लान सकिन्छ । पहिले उन्पाटासम्म जिप पुग्थ्यो ।
दैलेख बजारदेखि भञ्ज्याङसम्म ४४ किलोमिटर । हामी साँझ दैलेख बजारबाट ओखरबाससम्म जिपमा गएका । स्वास्थ्य समस्याका कारण साथी गोविन्द केसी बिहान हामी गएकै जिपमा बजार फर्के । अभिषेक अनुराग, भरतबन्धु थापा र म उकालियौं ।
जाडो मौसममा हिउँको बर्को ओढेर सुत्छ महाबु । उन्पाटाका स–साना खाजा घरमा जसोतसो बास बस्न सकिन्छ । घोडेपानीमा जस्तो पर्यटकको लर्को लाग्ने दिन यहाँ कहिले आउला ? केही वर्षदेखि दैलेखीहरू पर्यटनप्रति जागरुक बनेका छन् । मुगुको रारातालबाट महाबु हुँदै दैलेख जोड्ने पदमार्ग खोल्ने अभियानमा छन् पत्रकार भरतबन्धु । महाबु टे«ल बनाउन उनको मनघरी प्रतिष्ठानले टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)सँग सहकार्य गर्दै छ ।
सडक छेउको वन देख्दा मन चुकचुकायो । चैत–बैसाखमा आउनुपर्ने ठाउँ रहेछ । त्यति बेला लेकका डाँडा गुराँसले राताम्मे हुन्छन् । त्यो देखेर मन कति रमाउँदो हो ! गुराँसको बैंस हेर्न म फेरि आउनेछु ।

शिरस्थानमा धिपधिपे ज्वाला
दैलेख दुल्लु घुम्न जाउँ यसपाला
निर्मला गिरीको गीत गुनगुनाउँदै बुधबार बिहान हामी दैलेख बजारबाट ओरालो झ¥यौं । साथी भुपेन्द्र शाहीले मोटरसाइकलमा हुइँक्याए । कच्ची बाटोमा हामी धुलाम्मे भयौं । बजारबाट ८ किलोमिटरमा नाभी खोला किनारमा नाभीस्थान मन्दिर । मन्दिरभित्र मूर्ति होइन, ज्वाला पो रहेछ ! हरपल बलिरहने ज्वाला । त्यसैलाई तीर्थालु पूजा गर्छन् ।
स्वस्थानी व्रतकथासँग जोडिएको छ मन्दिर । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा नाभी पतन भएको ठाउँलाई नाभीस्थान भनिन्छ । यहाँ बढी र इन्द्र नाउँका दुई ज्वाला छन् । वरपर भैरव र शिवका मूर्ति छन् ।
मन्दिर हातामा अजंगको समी रूख छ । जुन तीन सय वर्षभन्दा पुरानो मानिन्छ । पुजारी बलनाथ योगीका अनुसार कच्ची सडक खुलेपछि दर्शनार्थी आउने क्रम बढेको छ । ‘यहाँ पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ,’ योगीले भने ।
त्यहाँबाट हामी शिरस्थान फक्र्यौं । सतीदेवीको शिर पतन भएको ठाउँमा । खोला किनारको मुख्य मन्दिरमा पनि ज्वाला नै छ । ज्वालाको छेउमा शिव पार्वतीको मूर्ति रहेछ । मन्दिर हातामा काल भैरव र अन्य देवदेवीका मूर्ति । मन्दिरको प्रचार र संरक्षणमा राज्यले चासो नदिएको पुजारी शिवनाथ योगीले दुखेसो सुनाए ।
ज्वालाको किंवदन्तीअनुसार सतीदेवीको शिर पतन भएपछि क्रोधित भएका महादेवको नेत्रबाट अग्नि निक्ल्यो । त्यही ज्वाला यहाँ बल्न थाल्यो । तर, वैज्ञानिकहरूको मतमा ग्यास भएकाले ज्वाला बलेको हो ।
घुम्नुपर्ने अरू थुप्रै मन्दिर छन् दैलेखमा । वैश्वानरपुराणमा शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र कोटीलालाई पञ्चकोसी तीर्थस्थल भनिएको छ । सतीदेवीको पाउ पतन भएको ठाउँलाई पादुका, कट्टी पतन भएको ठाउँलाई कोटिला र बाँकी अंग पतन भएको ठाउँलाई धुलेश्वर भनिन्छ ।
पञ्चकोसीको विकासका लागि तिलक रिजालको संयोजकत्वमा २०६९ कात्तिकमा बृहत् पञ्चकोसी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति गठन गरिएको छ । रिजालका अनुसार शिरस्थानमा महाशिवरात्रिमा, नाभीस्थानमा माघे संक्रान्तिमा, पादुकामा जनैपूर्णिमामा, कोटिलामा बैसाख १ गते, धुलेश्वरमा नवरात्रमा र सिद्धेश्वर महादेव मन्दिरमा मंसिर पूर्णिमामा मेला लाग्छ ।
धुलेश्वर मन्दिर डाँडामा छ । बाँकी खोला किनारमा छन् । पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा गर्न पञ्चकोसी दर्शन गरिन्छ । मष्ठ पूजक धामीहरूलाई पुजारी बन्नुअघि पञ्चकोसी दर्शन गराइन्छ ।
पञ्चकोसीमा मोटर बाटो जोडिएकाले हिउँदमा सबैतिर जान सकिन्छ । पुल पुलेसा बन्दै छन् । दैलेख बजारबाट हिँडेको मान्छे गाडीमा पाँचवटै ठाउँ घुमेर साँझ फर्कन सक्छ । तर, जिप रिजर्भ गर्नुपर्छ । सडक स्तरोन्नतिका साथै मन्दिर जीर्णोदार गर्न ढिला भइसक्यो । जिविस दैलेख र पुरातत्व विभाग कानमा तेल हालेर बस्नुभएन ।

पञ्चतीर्थस्थल नै घुम्नुपर्ने हो तर, हतारको यात्रामा सबैतिर जान भ्याएनौं । शिरस्थानबाट पुराना देवल हेर्न भूर्ति पुग्यौं । एकै ठाउँमा २२ वटा देवल । केही महिनाअघि अछामको विनायकमा पनि यस्तै देवल देखेको थिएँ । कसले बनाए होलान् यी ?
‘खस मल्लकालीन राजपरिवारको समाधि नै यी देवल हुन्,’ अध्येता विश्व केसी भन्छन्, ‘समाधि भएकाले देवलमा कसले बनाएको हो भन्ने अभिलेख छैन ।’
केसीको पुस्तक ‘कीर्तिखम्ब’का अनुसार दैलेखमा यस्ता १२० देवल छन् । कति देवल लोप भइसके । भूर्तिका तीन देवल पनि मासिइसके । भएका देवलहरूको संरक्षण हुन सकेको छैन । भूर्तिमा पुरातत्व विभागले तारबार गरेको छ । उसले देवल जीर्णोद्वार गर्दा सिमेन्ट प्रयोग गरेको देखियो । यस्तो गर्न पाइन्छ र ? पुरानै शैलीमा ढुंगा जोड्नुपर्ने होइन र !
देवल पर्यटकीय सम्पदा बन्न सक्छ । देवलको चिनारी झल्कने बोर्ड राख्न सके त्यहाँ पुग्नेहरूले जानकारी पाउन सक्थे । त्यो नहुँदा देवल कसले, कहिले र किन बनायो भन्ने जानकारी पाइन्न । अन्योल हुन्छ ।
घुम्नैपर्ने अर्को ठाउँ दुल्लु हो । सिञ्जापति खस राजाको वर्षे राजधानी जुम्लाको सिञ्जा थियो भने हिउँदे राजधानी दुल्लु । दुल्लुमा ऐतिहासिक कीर्तिखम्ब, दरबारलगायत मठ मन्दिर छन् । त्यो इतिहासका विद्यार्थीका लागि खुला संग्रहालय हो ।
सांस्कृतिक सम्पदाका दृष्टिले काठमाडौं र लुम्बिनीपछि दैलेख धनी मानिन्छ । दैलेखलाई तेस्रो धाम भन्नेहरू पनि छन् । तर, भएका सम्पदा असरल्ल छन् । माल पाएर पनि चाल नपाएको अवस्था छ । लथालिंग छ । सबै चिजबिज संरक्षण गरी पूर्वाधार विकास गर्न सके दैलेख सांस्कृतिक पर्यटन गन्तव्य बन्न सक्छ । जिविसले पर्यटनलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउन ढिला भइसक्यो ।
पञ्चकोसी तीर्थस्थलमा खाने÷बस्न दुःख छ । दैलेख बजारमा सुविधायुक्त होटल बनाउने क्रम सुरु भएको छ । तन्नेरी रूपक थापाले तीन करोड रुपैयाँ खर्चेर होटल पार्क इन बनाएका छन् । पर्यटकीय सुविधाका अन्य होटलमा पञ्चकोसी र न्यु मोडल होटल छन् । स–साना लज पनि छन् । बजारलाई केन्द्र मानेर तीर्थ गर्न सकिन्छ । कम्तीमा दुईरात बस्ने गरी यात्रा गर्नु बेस हुन्छ ।

पञ्चकोसी परिक्रमा
दैलेख बजारबाट दक्षिणपश्चिम ५ किमिमा कोटिला मन्दिर । कोटिला पञ्चकोसी परिक्रमाको प्रवेशद्वार । कोटिलाबाट उत्तर ४ किमिमा शिरस्थान । शिरस्थानबाट उत्तरपश्चिम २ किमिमा नाभीस्थान । नाभीस्थानबाट उत्तर ४ किमिमा धुलेश्वर । धुलेश्वरबाट ४ किमि दक्षिण–पश्चिममा पादुका । पादुकाबाट दक्षिण ७ किमिमा स्वामी कात्तिक । त्यहाँबाट १० किमि दक्षिण तल्लो डुंगेश्वर (सिद्धेश्वर महादेव) । डुंगेश्वरबाट माथिल्लो डुंगेश्वर हुँदै दैलेख बजार । जिप वा मोटर बाइकमा एकै दिनमा पञ्चकोसी फन्को मार्न सकिन्छ ।
कसरी पुग्ने
काठमाडौं–दैलेख ७०० किलोमिटर । बसले २० घन्टामा गन्तव्य पु¥याउछ । बिहानै हवाई यात्रामा नेपालगन्ज पुगेर बस चढे सुर्खेत हुँदै साँझ दैलेख पुगिन्छ । नेपालगन्ज–दैलेख १६७ किलोमिटर ।
दजबमनबयलभि२नmबष्।िअयm

बक्स
इतिहास पाठशाला
विश्व केसी
सांस्कृतिक अध्येता
इतिहासका विद्यार्थीका लागि दैलेख खुला पाठशाला हो । यहाँ २७९ मूर्त र २२ भन्दा बढी अमूर्त सम्पदा छन् । पश्चिम नेपालको खस साम्राज्यकालीन इतिहास पहिल्याउने एउटै मात्र आधार कीर्तिखम्ब दुल्लुमा छ । त्यसैले हामी दैलेखलाई सांस्कृतिक पर्यटन गन्तव्य बनाउँछौं ।

जीर्ण मन्दिरहरू
तिलक रिजाल
अध्यक्ष, पर्यटन विकास समिति
दैलेखका धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा जीर्ण अवस्थामा छन् । तिनको संरक्षण हुनुपर्छ । हाम्रो बृहत् पञ्चकोसी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले सरकार प्रमुख, पर्यटन मन्त्रालय र पुरातत्व विभागमा मागपत्र बुझाइसकेको छ । सरकारले यसमा ध्यान दिनुप¥यो ।

धार्मिक प्याकेज
रूपक थापा
पर्यटन व्यवसायी
अचेल घुमन्तेमध्ये धेरैजसो शिरस्थानसम्म पुगेर फर्कन्छन् । मोटर बाटो खुलिसकेको अवस्थामा धार्मिक पर्यटक भिœयाउन हाम्रो ‘होटल पार्क इन’ले पञ्चकोसी प्याकेज बनाएको छ । हामी जिपमा राखेर एकैदिनमा पञ्चकोसी घुमाउँछौं । सुस्तरी घुम्न चाहनेलाई दुईदिनको प्याकेज छ ।

प्रतिक्रिया