सार्वजनिक अपराधको मुद्दा फैसला

सार्वजनिक अपराधको मुद्दा फैसला

अमर सुनार
दैलेख, १२ माघ – नयाँ संविधानले अधिकार कटौती गरेपछि प्रशासनबाट दैलेख जिल्ला अदालत पुगेका २१ मध्ये ३ वटा सार्वजनिक अपराध सम्वन्धी मुद्दा फैसला भएका छन् । निमित्त श्रेस्तेदार बिनोद आचार्यका अनुसार आज मात्र बडाभैरब गाविस–४ का सर्वजीत बिकले सफाई पाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सरेर आएका २ वटा मुद्दाको हिजो मात्र फैसला भएका छन् । अढाई वर्ष अघि जिल्ला अस्पतालको सस्तो औषधि पसलको औषधि लुट्नुसंगै कर्मचारीलाई कुटेको आरोप लागेका नारायण नगरपालिका–२ का रोशन थापा र वडा नं. १ का बलबहादुर थापालाई १–१ हजार रुपैंयाँ जरिवाना र लुटिएको औषधिको मूल्य तिर्न अदालतले फैसला सुनाएको छ ।
यसै गरी गत कात्तिक २८ गते भैरीकालिकाथुमको सिलंगीबजारमा मेला लागेको बेला आपसमा हात हालाहालको क्रममा स्थानीय राजाराम थापाको खुट्टा भाँचिएको घटनामा संलग्न ५ जनालाई जनही ५ सय रुपैंयाँको दरले जरिवाना भएको छ ।
सो जरिवाना सजाय पाउनेमा भैरीकालिकाथुम–४ का शान्तिप्रसाद जैसी, सोही गाविसको वडा नं. १ का ४ जना पूर्णबहादुर शाही, उपेन्द्रबहादुर शाही, अर्जुन शाही र रबिन्द्र शाही समेत ५ जना रहेका निमित्त श्रेस्तेदार आचार्यले जनाकारी दिनुभयो ।
दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट ‘केही सार्वजनिक अपराध सम्वन्धी ऐन २०२८’ बमोजिम नै यी सबै मुद्दा फैसला भएका हुन् ।
डेढ वर्ष अघि बडाभैरब गाविस–४ का गणेशबहादुर थापाले सोही ठाउँका सर्वजीत बिकबाट आफू माथि कुटपीट भएको भन्ने विषयमा परेको सार्वजनिक अपराध मुद्दामा मागदाबी अनुसार प्रमाण नपुगेको भन्दै बिकलाई सफाई दिइएको हो ।
नयाँ संविधानमा १ वर्ष भन्दा बढी सजाय हुने सार्वजनिक अपराध सम्वन्धी मुद्दा सबै जिल्ला अदालतले हेर्ने भनिए अनुसार ती मुद्दा अदालत सरेका हुन् । दैलेख जिल्ला प्रशासन कार्यालयले डेढ महिना अघि आफूसंग फैसला हुन बाँकी रहेका २१ वटा सबै मुद्दा अदालत पठाएको थियो ।

प्रतिक्रिया