दैलेख काँग्रेस सभापतिमा बीसी पुनः निर्वाचित

दैलेख काँग्रेस सभापतिमा बीसी पुनः निर्वाचित

दैलेख, फागुन ८ – नेपाली काँग्रस दैलेखको शुक्रवार सम्पन्न निर्वाचनमा कृष्णकुमार बीसी दोश्रो कार्यकालका लागि जिल्ला सभापति पदमा निर्वाचित हुनुभएको छ । शुक्रवार राति ११ बजे घोषित मतगणना परिणाम अनुसार खसेको ५७९ मत मध्ये उहाँले ३१४ अर्थात ५४ दशमलव २३ प्रतिशत मत पाउनु भएको छ । Nepali Congress
उहाँका प्रतिद्वन्दद्वीहरु संस्थापन समूहबाट आधिकारिक भनिएका मणिराम रेग्मीले १३८ र प्रजातान्त्रिक समूहको अगुवाई गर्नुभएका हिमबहादुर शाहीले ११६ मत प्राप्त गर्नु भएको थियो । आधिकारिक उम्मेदवार हुन नपाएपछि बीसीले संस्थापन समूहको बागी बनेर दुबै पक्षका मत लिएर जित्नु भएको हो ।
सचिवमा पनि सभापति बीसी समूहका भूपेन्द्र शाहीेले २६४ मत प्राप्त गरी जित्नु भएको छ, संस्थापनबाट सचिवका उम्मेदवार भेषबहादुर थापाले १८२ र प्रजातान्त्रिक समूहबाट चुनाव लडेका भरत रिजालले कुल १०३ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी कोषाध्यक्ष चाहिं प्रजातान्त्रिक समूहका पूर्णबहादुर खत्री (चालिसे)ले २७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पूर्णबहादुरका प्रत्यासीहरु संस्थापनका बागी उम्मेदवार भनिएका नरेन्द्र भण्डारीले १८० मत र संस्थापनका आधिकारिक सूर्यबहादुर शाहीले ९५ मत मात्र प्राप्त गर्नुभएको थियो ।
जिल्ला कार्यसमितिका २० सदस्यहरु यसअघि माघ २२ गते नै चुनिएका छन् । माघ २६ गते गर्ने भनिएको मतदान केन्द्रीय सभापति सुशील कोइरालाको निधनका कारण स्थगित भएको थियो । काँग्रेसको केन्द्रीय कार्यालयको निर्देशन अनुसार शुक्रवार मतदान भएको हो ।

प्रतिक्रिया