पूर्ण व्यवसायिकताको लक्ष्य हुनुपर्छ ः कायस्थ

पूर्ण व्यवसायिकताको लक्ष्य हुनुपर्छ ः कायस्थ

दैलेख, १० चैत – मध्यपश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किशोर कायस्थले निर्वाहमुखी कृषिबाट व्यवसायिकता तर्फ उन्मुख भएका किसानहरुले पूर्वव्यवसायिकताको लक्ष्य राख्नु पर्ने बताउनु भएको छ ।
DHO Newsजिल्ला पशु सेवा कार्यालयले आज दैलेखमा आयोजना गरेको कृषि तथा खाद्य सुरक्षा आयोजनाको दोश्रो चौमासिक अवधिसम्मको प्रगति समीक्षा कार्यक्रमा उहाँले भन्नुभयो – ‘बढ्दो यान्त्रिकरण, सीप ज्ञान र प्रविधिले किसानहरुमा व्यवसायिकतामा चासो बढेको छ तर यतिले पुग्दैन ।’
चरन क्षेत्रको र जनशक्तिको अभावमा बाँधेर पशुपालन गर्दा बढी प्रतिफल पाउने भएकोले किसानहरुले तरिका बदल्न क्षेत्रीय निर्देशक कायस्थले आग्रह गर्नुभयो । उहाँले दैलेखको भूगोल र अनुकूल हावापानीका कारण बाख्रा पालन पकेट क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
समीक्षा कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले श्रोतको उचित सदुपयोग गरेर लक्षित वर्ग क्षेत्रको उत्थान र विकास गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सधैंसधैं श्रोत आउदैन, आएको सदुपयोग हुनुपर्छ । त्यस बखत प्रमुख जिल्ला अधिकारी क्षेत्रीले सरोकारवालाहरुवीच समन्वय प्रभावकारी बनाउन निर्देशन दिनभयो ।
बरिष्ठ पशु विकास अधिकृत अमृतकुमार मास्केको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव जंगबहादुर शाही, बरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगी, बेलपाटा गाविसका सचिव चक्रबहादुर थापा र किसानहरुका तर्फबाछ खड्कबाडा गाविस–५ की कमला थापाले कृषि तथा खाद्य सुरक्षा आयोजनाले गरेका कार्य र भावी योजना बारे बोल्नुभएको थियो ।
त्यसअघि आयोजनाको प्रभावकारिता विषयमा सेवाग्राही किसान, सरोकारवाला र सेवाप्रदायकले खुला छलफल समेत गरेका थिए । कृषि तथा खाद्य सुरक्षा आयोजना दैलेखका १० गाविसहरु गमौडी, बाँसी, तोली, कालभैरब, सल्लेरी, खड्कवाडा, अहिले दुल्लू नगरपालिकामा पर्ने दुल्लू, बेलपाटा, बडलम्जी र नाउलेकटुवालमा लागू भएको छ ।
यो कार्यक्रम जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला पशु सेवा कार्यालयले समन्वयात्मक रुपमा २ वर्ष मुनिका बालबालिका र ती बालबालिकाका आमाको पोषण सुधार गर्न सञ्चालन गरिएको हो ।

प्रतिक्रिया