बजार व्यवस्थित बनाउन माग सहित रीट

बजार व्यवस्थित बनाउन माग सहित रीट

दैलेख, चैत २८ – दैलेख सदरमुकाममा व्यापारिक सामान सडकसम्मै फैलाउने, घर लगायतका भौतिक निर्माणका सामग्रीले सडक अवरुद्ध गर्ने र यत्रत्यत्र फोहोर गरिएको भन्दै व्यवस्थित गराउन निषेध आज्ञाको माग सहित दैलेख जिल्ला अदालतमा रीट दायर भएको छ ।
धार्मिक, पुरातात्विक, ऐतिहासिकताको पहिचानका कारण पर्यटकीय आकर्षण बढ्दै गरेको बेला सहरको सौदर्यता सदरमुकामबासीले अतिक्रमण गरेको देख्दादेख्दै जिविस, जिल्ला प्रशासन, प्रहरी, नारायण नगरपालिका र ट्राफिक प्रहरीले जिम्मेवारी बहन नगरेको भन्दै सहर व्यवस्थित बनाउन निषेध आज्ञा गरी पाऊँ भन्दै अधिवक्ताद्वय मणिराज आचार्य र मातृकाप्रसाद खनालले आइतवार रीट दायर गर्नुभएको हो ।
रीट निवेदनमा पैदल हिड्न समेत कठिन हुने गरी सडकमै गिट्टी, बालुवा, इट्टा, फलामे रड राख्नेदेखि सवारी साधन पार्किङ्ग गरी राख्ने, यत्रत्यत्र फोहोर गर्ने र ढल समेत थुनिने गरी फोहार फाल्ने गरिएको कारण वातावरण दुर्गन्धित भएको, पैदल हिड्न समेत कठिनाई भएको समस्या दर्शाइएको छ ।
उक्त रीटका सम्वन्धमा आजै जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट वैशाख ६ गते विपक्षी बनाइएका जिविस, जिल्ला प्रशासन, प्रहरी, नारायण नगरपालिका र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीहरुलाई हाजिर हुन पेशी तोकिएको श्रेस्तेदार अधिकृत गोविन्द आचार्यले जानकारी दिनुभयो ।
यस सम्वन्धमा प्रतिक्रिया माग्दा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले अदालतको आदेश पालना गर्नु प्रहरी प्रशासनको कर्तव्य हुने उल्लेख गर्दै सहर व्यवस्थित बनाउन नागरिकको नैतिक दायित्व हुने बताउनुभयो ।
नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले भन्नुभयो ‘बजार व्यवस्थित बनाउन पहिले पनि प्रयत्न गरेकै थियौं, निषेधाज्ञा नै आयो भने दोषीलाई कारबाही गर्न सहज हुनेछ ।’ उहाँले टिप्पणी गर्नुभयो ‘अटेरीहरुलाई धमाधम कारबाही चलाउन बाटो खुल्छ, रीटले राम्रै भयो ।’

प्रतिक्रिया