संविधान कार्यान्वयनको लागि राष्ट्रिय सरकार आवश्यक ः सचिव विष्ट

संविधान कार्यान्वयनको लागि राष्ट्रिय सरकार आवश्यक ः सचिव विष्ट

ज्वाला सन्देश सम्वाददाता
दैलेख २९ जेठ–नेकपा एमालेका सचिव तथा पूर्व उर्जामन्त्री गोकर्ण विष्टले संविधान कार्यान्वयनको लागि राष्ट्रिय सरकार आवश्यक रहेको वताएकाछन् । प्रेस चौतारी नेपाल दैलेख शाखाले सनिवार गरेको पत्रकार भेटघाटमा उनले कसैले चाहेमा तत्काल सरकार परिवर्तन नहुने र संविधान कार्यान्वयनको लागि राष्ट्रिय सरकार आवश्यक रहेको र अधिकतम सहमतिको लागि प्रयास गर्नुपर्ने जरुरी भएका बेला सरकार परिवर्तन गरेर देशले निकास नपाउने बताएका हुन् ।‘संविधान कार्यान्वयन प्रमुख कुरा भएकोले राष्ट्रिय सरकार आवश्यक छ’ उनले भने, ‘अहिलेकै सरकारलाई राष्ट्रिय सहिमतिको सरकारको रुपमा विस्तार गर्नु आजको आवश्यकता हो ।’ राष्ट्रिय सरकारका लागि सम्पूर्ण पार्टी सम्मिलित सहमतिय सरकार आवश्यक रहेको उनको तर्क छ । ‘तर यो सरकार तत्काल परिवर्तन हुदैन, वाहिर रहेका दलहरुलाई सहभागी गराएर यसैलाई राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्छ’ उनले भने, ‘अहिले नै सरकार परिवर्तनको कुनै जरुरी भने छैन ।’
एमाले भित्रवाटै सरकारको आलोचना भैइरहेको भन्ने प्रश्नमा उनले एमालेमा धेरै थरी नेता भएकोले धेरै थरीका विचार आउनु स्वभाविक भएकोले यसलाई अन्यथा रुपमा लिन नहुने दावी गरे । उनले सत्ताधारी नेकपा माओवादी केन्द्रसगँ सरकारको नेतृत्व परिवर्तनको वारेमा नभई सरकार संचालनको वारेमा भद्र सहमति भएको दावी गरे । हिमाल, पहाड र तराइका जनताले उठाएका जाहेज माग पुरा गर्नको लागि नेतृत्व गर्न एमाले तयार रहेको पनि वताए ।
नयाँ संविधानले तराई मधेस, हिमाल पहाडका जनताको भावना समेटेको भन्दै असन्तुष्ट दलहरुलाई सहमतिमा आउन आग्रह गरे । ‘वर्षौंदेखिको असमानता, विभेद संविधानले अन्त्य गरेको छ,’ सचिव विष्टले भने, ‘अझ असहमति भए आपसी संवादबाट टुग्याउन सकिन्छ ।’ उत्पीडित जनताको जीवनस्तर उकास्न, सामाजिक सद्भाव बढाउन, राष्ट्रिय स्वाधिनता तथा आत्मसम्मानलाई माथि उठाउन संविधान कार्यान्वयनको विकल्प नभएको उनको भनाई थियो ।

प्रतिक्रिया