हस्तकला हस्ती लक्ष्मण खड्गी

हस्तकला हस्ती लक्ष्मण खड्गी

अमरबहादुर सुनार
लक्ष्मण खड्गी जन्म विक्रम सम्वत् २०२६ असोज १५ गते । सदरमुकाम नारायण नगरपालिका वडा नं. १ भगवतीटोल निवासी, उनको पहिचान अहिले बाँस आधुनिक हस्तकला सामग्री बनाउने मेहनती कलाकर्मीको रुपमा छ । घरायसी सजावट र प्रयोगका लागि उनले बनाउने कलात्मक सामग्रीका कारण यो पहिचान बनेको हो । उनी काममा लागेको त्यति धेरै समय भने भएको छैन । अहिले ४८ वर्षका लक्ष्मणले बाँसका सामग्री बनाउन थालेको जम्मा १० वर्ष भएको छ । Laxman khadgiघरेलु तथा साना उद्योग विकास समितिले २०६१ सालमा सञ्चालन गरेको बाँस निकालोका सामग्री बनाउने ३ महिने आधारभूत तालिममा सहभागी भएपछि मात्र यो कामका लागि उत्सुकता जागेका उनले थप ४५ दिने विशेष तालिम पाएर व्यवसायिकतामा आउन सहज भएको हो । जिल्लामा भएको आधारभूत तालिमपछि २०६३ मा थप तालिमका लागि उनी उदयपुरको गाईगाट पुग्न घरेलुले सहयोग गरेको थियो ।
गाईघाटका विशेष तालिममा शिव सुवेदी र भक्त राईले सिकाएको सीप उत्प्रेरणले अहिले स्थापित हस्तकलाकर्मीसम्म पु¥याएको लक्ष्मण मुक्त कण्ठले ती प्रशिक्षकहरुको प्रशंसा गर्दछन् । उनले अहिले बाँसको हेंगर, ऐन फेम, बु्रस केस, फाइल ¥याग र बाँसको मुडा अति नै प्रचलित सामग्री हुन् । ग्राहकले मन पराएका र दैनिक उपभोगका बस्तुहरु पनि यिनै हुन् ।
यी सामग्री निर्माण गरेर मासिक १५–२० हजार नियमित आमदानी गरिरहेका छन्, लक्ष्मणले । बाँसकै सामग्री बनाएर सदरमुकाम जस्तो महंगो शहरमा छोरा–बुहारी पढाउन, लेखाउन, उनीहरुको लालन पालनदेखि दैनिक घरखर्च सम्पूर्ण उनको कमाईले धानिएको लक्ष्मणकी पत्नी संगीताको भनाई छ ।
उनकी पत्नी, जेठो छोरा झलक, कान्छो निर्मल समेत २ छोरा, जेठी बुहारी निर्मला र आफू समेत ५ जनाको उनको परिवार छ । अहिले छोरा बुहारीको उच्च मावि तहको पढाई चलिरहेको छ, पत्नीले घर व्यवहार धानी दिएपछि लक्ष्मण तनमन बाँसका सामग्री बनाउनमै लगाएका छन् । त्यसैले पो उनी सबैको प्रशंसाको पात्र र सफल इलमी बनेका छन् ।
उनको पौरखको कदर गर्दै जिल्ला विकास समितिको कार्यालय दैलेखले २४ औं जिल्ला परिषद्मा उत्कृष्ठ हस्तकला सामग्री उत्पादक भनेर सम्मान गरेको छ । घरेलु लगायत धेरै निकायबाट पाएका प्रशंसापत्र र सम्मानले उनलाई थप हौसला मिलेको छ । यही प्रशस्तीले उनलाई ठाउँठाउँ बाँसका सामग्री निर्माण सम्वन्धी तालिमको प्रशिक्षक पनि बनाएको छ ।
यति बेला नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमको सहयोगमा दैलेख सदरमुकाममा सञ्चालित ३ महिना तालिमका लागि घरेलु तथा साना उद्योग विकास समितिले महिनामा २० हजार तिरेर असार मसान्तसम्मका लागि प्रशिक्षकका रुपमा काम दिएको छ । उनले यस अघि पनि धेरै ठाउँमा प्रशिक्षण दिंदै अरु केहीलाई उद्यमी बनाउन सीप सिकाएका छन् ।

सफतासंग जोडिएको दुःखको कहानी
उनी ९ वर्षको हुँदा २०३५ साल पुस ११ गते परिवारकै संरक्षक बुबा धनबहादुर देहवसान भयो । बुबाको मृत्यूपछि आफू अघिका २ दिदी, आफू मुनिको १ भाई र आमाको संरक्षकत्वको पूरा दायित्व बन्यो । जम्मा ९ वर्षको नाबालक के गर्न सक्थे ? तर पनि जिम्मेवारी आई लाग्यो । उता उनी त्यतिबेला कक्षा ३ मा पढ्दै गरेको पढाई पनि स्वतः प्रभावित भयो ।
अहिले जिल्ला विकास समिति त्यतिबेला जिल्ला पञ्चायतको घोडा सयसको जागीरे छँदै बुबाको निधनपछि नियमित आमदानी भएको परिवारलाई त्यही सुविधामा व्यवस्थापन गर्न त सक्दैनथे तर एक्कासी आईपर्दा जेनतेन चलाउनै गाह्रो भयो । उनले आमासंग सल्लाह गरेर भारतको बडोदा बस्दै गर्नुभएका मामालाई बुबाको निधनपछि गाह्रो परेको कुरा चिठ्ठी लेखी पठाए ।
चिठ्ठी खवरले मामा घरमा आए र उनलाई सानो तिनो काम लगाई दिने भनेर मामाले बडोदा लिए । त्यति सानो उमेरमा के काम पाउनु, उनले त्यहाँ दुःख पाए । कमाई हुने जस्तो काम नपाएपछि उनलाई मामाले पढ्न लगाए । जान्दै नजानेको हिन्दी भाषाको कठिनाईले पढ्न मुश्कील भयो ।
करिव २–३ वर्ष त्यतै भौतारिए, यो सबै समस्याले उनी फेरि घर फर्किए । घर फर्किएपछि विहान बेलुका यही मजदूरी गर्दै घर खर्च धान्ने र दिउँसो चाहिं विद्यालय जाँदै गरेर जेनतेन ८ कक्षा उत्तीर्ण गरे । घरमा खर्चको भार बढ्न थालेपछि पढाई छुट्यो । अरुको खेतवारीको कामदेखि दैनिक ज्यालादारीमा मजदूरीमै निर्भर भएर घर व्यवहार चलाउँदै आए ।
पढाई छोडी सकेपछि चाहिं कहिल्यै भारतका विभिन्न शहरमा त कहिल्यै चाहिं जिल्लामै शारीरिक बल प्रयोग हुने मजदूरी गर्दै यो क्रम करिव २० वर्ष भन्दा बढी समय बितिसकेको थियो । घरेलु तथा साना उद्योग विकास समितिले २०६१ सालमा सञ्चालन गरेको बाँस निकालोका सामग्री बनाउने ३ महिने आधारभूत तालिममा सहभागी भएपछि मात्र अहिलेको प्रगति र प्रशस्तीको थालनी भएको हो ।
लक्ष्मण खड्गीले बाँसका हस्तकला सामग्री बनाउदै बिक्री गरेर घर खर्च चलाउने र सन्तोषको सास फेर्न थाल्दै गर्दा समाजबाट केही अपेक्षा राखेका छन् । कति धेरै कला, कौसलता लगाएर बनाएका सामग्री किन्न आउनेले जाबो बाँसको चिजलाई यति महंगो ? भनेर टिप्पणी गर्नेहरुले हस्तकलाको परिश्रम नबुझी दिएको पीर छ, अनि स्थानीय उत्पादनलाई प्रयोग गर्ने बानी नबसेकोप्रति पनि उनको असन्तुष्टी छ । यद्यपि केही थोरैले दिएको प्रोत्साहनले उनी बाँसका सामग्री उत्पादनदेखि सिक्न चाहने सबैलाई सिकाउँदै आएका छन् ।

प्रतिक्रिया