बैतडी अस्पताल प्रकरण, जसले देश ततायो

बैतडी अस्पताल प्रकरण, जसले देश ततायो

विश्वास खड्काथोकीको स्थलगत रिपोर्ट

बैतडी जिल्ला अस्पतालको छेवैमा छ, दलित भुलबस्ती, दशरथ चन्द नगरपालिका– १, बाल्लेक । उक्त दलित बस्तीबाट अस्पताल पुग्न ढिलोमा १० मिनेट मात्रै लाग्छ । तर, त्यही बस्तीकी गर्भवती दलित महिलालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीले एम्बुलेन्स माग्दा जातीय विभेद गरे भन्दै देशभर सनसनी मच्चियो । Baitadiस्थानीयले डाक्टरमाथि कालोमोसोसम्म दले । जुन घटनाको राप जिल्ला हुँदै केन्द्रसम्म पुग्यो । गृहमन्त्री शक्ति बस्नेतले सो घटनाबारे छानबिन गरेर दोषीलाई कारबाही गर्ने आश्वासन पनि दिए ।

डा. अवस्थीमाथि कालोमोसो दलेपछि जिल्लाका स्वास्थ्यकर्मी स्वास्थ्य सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिए । राष्ट्रिय दलित अयोग र विभिन्न संघसंस्थाले घटनास्थलमा पुगेर छानबिन गर्यो । उनीहरू घटनालाई मिलाउने प्रयासमा जुटे । तर, तीन हप्तासम्म पनि घटना मिल्न सकेको छैन । बरु घटना फरक–फरक कलेबरमा देखा पर्न थालेको छ ।

यस्तो थियो घटना

प्रसव वेदनामा छटपटाइरहेकी हीरा भुललाई १३ जेठमा स्थानीयले जिल्ला अस्पताल पुर्याए । अस्पतालले हीराको गर्भमा तीनवटा बच्चा रहेको र जिल्लामा उपचार हुन नसक्ने भन्दै धनगढी सेती अञ्चलमा रिफर गर्यो । तर, ती महिलासँग न उपचार गर्ने रकम थियो, न त अस्पतालसम्म पुग्ने बाटो खर्च । बाध्य भएर गर्भवतीलाई घर नै लगियो ।

हीराको नाजुक अवस्था देखेर सहयोग गर्न सुन्दरी भुल र सरस्वती कोलीलगायतको टोलीले चन्दा अभियान सञ्चालन गर्यो । चन्दा अभियानकै क्रममा उनीहरूले १७ जेठमा अस्पताल व्यवस्थापनसँग सहयोगको याचना गरे । तर, अस्पतालले गर्भवतीले नियमअनुसार पाउने १५ सय रुपैयाँ मात्रै सहयोग गर्यो । हीरालाई अस्पताल लैजाने रकम अपुग भयो । उनीहरूले एम्बुलेन्सका लागि सिडिओ कार्यालयमा निवेदन दिए । प्रमुख जिल्ला अधिकारीले पनि एम्बुलेन्स उपलब्ध गराइदिन जिल्ला अस्पताललाई आग्रह गरे । एम्बुलेन्सको आसमा बसे पनि उनीहरूले एम्बुलेन्स पाएनन् । हीराको अवस्था अति नै दयनीय भएपछि २१ जेठमा स्थानीयले स्टेचरमा राखेर हीरालाई पुन: अस्पताल पुर्याए । र, नि:शुल्क एम्बुलेन्सको माग गरे । स्थानीयका अनुसार जब डा. गुणराज अवस्थीसम्म यो खबर पुग्यो, उनी सन्कन थाले । अवस्थीको भनाइ उद्धृत गर्दै एक स्थानीयले भने, ‘तिमीहरू डुमको लागि जति वेला भने त्यतिवेला कहाँबाट हुन्छ नि:शुल्क एम्बुलेन्स ? हेलिकोप्टर मगाइदिन्छु, पैसा तिर्न सक्छौ ? जसलाई भोट दिएको हो, उसैलाई गएर माग्नु एम्बुलेन्स । उपचार गर्ने पैसा नहुने पनि किन बच्चा पाउनू ।’

घरैबाट ल्याएका थिए मोसो

२२ जेठ दिउँसो महिला संगठित भएर बिरोध र नाराबाजी गर्दै अस्पताल पुगे । महिलाको साथमा थिए दलित संघ बैतडीका अध्यक्ष रमेश कोली । स्थानिय महिला भन्छन्, ‘हामीले फोन गरेर रमेश कोलीलाई बोलाएका हौँ ।’

करिब ३ बजे अस्पताल परिषरमा पुगेका महिला अस्पतालको क्वाटर नजिक पुगे । र, क्वाटरबाट झर्दै गरेका डा. अवस्थीलाई कालोमोसो दले । स्थानीयबासी भन्छन्, ‘डाक्टरको लापरबाही र उपचारकै कारण शिशुको मृत्यु भएपछि हामी अस्पताल पुग्यौँ । १०, १५ मिनेटसम्म हामीबीच भनाभन भयो । एकजना महिलालाई डाक्टरले घचेटेपछि फोहोर फ्याक्ने ठाउँमा भएको कालो दलिदिएका हौँ ।’ तर, डा. अवस्थी भन्छन्, ‘उनीहरूले घरबाटै कालोमोसो ल्याएका थिए ।’ त्यसपश्चात् उनीहरू नराबाजी गर्दै प्रशासन पुगे । कालोमोसो दलेको आरोपमा गंगा, पार्वती र राधा भुललाई प्रहरीले नियन्त्रणमा लियो । र, अर्कोदिनको बिहान प्रशासन पुगेर डा. अवस्थीले दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीलाई मुख्य दोषी बनाई अरू तीनजना महिलाको नाममा सार्वजनिक मुद्दा दर्ता गरे ।

भुलको मुद्दा दर्ता भएन

२४ जेठमा स्थानीय तथा राष्ट्रिय हलिया समाज महासंघ नेपालका अध्यक्ष राजु भुललगायतको टोली डा. अवस्थीविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुग्यो । राजु भुलका अनुसार प्रहरीले उनीहरूको मुद्दा दर्ता गर्न मानेन । भुलले भने ‘डिएसपीले यो आरोप कपोलकल्पित छ, त्यसैले यस्तो मुद्दा दर्ता गर्दैनौँ भन्दै मुद्दा दर्ता गर्न मानेनन् ।’ उनले थपे, ‘भोलि फेरि यही समाजमा बस्नु छ भनेर मैले पनि कर गरिनँ । यस्तो अवस्था आउला भन्ने मैले कल्पनै गरेको थिएन ।’ त्यसपछि यो घटना अझै चर्कंदै गयौँ । पक्राउ परेका महिलाहरू पनि छुटेनन् । १३ दिनपछि मात्रै उनीहरू १०–१० हजार रुपैयाँ धरौटीमा छुटे ।

हीराको नाउँमा राजनीति

बिस्तारै यो घटनाभित्र राजनीतिले प्रवेश गर्यो । डा. अवस्थीको पक्षमा एमाले लागे भने कोलीको पक्षमा कांग्रेस । यो घटनालाई टेकेर एकले अर्कालाई सिध्याउन लागिपरेको स्थानीयवासी बताउँछन् । घटना झन् जटिल बन्दै गएको बताइन्छ । कोली कांग्रेस भएकै कारण घटना राजनीतीकरण हुन पुगेको भुल बताउँछन् । यद्यपि, घटनाबारे दुवै पक्ष आ–आफ्नो दाबी सत्य भएको बताउँदै आएका छन् ।

डा. अवस्थीको पक्षमा मिडिया

यस प्रकरणले स्थानीयदेखि राष्ट्रिय मिडियासम्म छायो । तर, स्थानीय मिडियाले एकपटक पनि भुल समुदायको भनाइ नराख्दा उक्त समुदाय निकै दु:खी छ । राजु भुलले भने, ‘एकपटक पनि हाम्रो बारेमा सोधिएन । मिडियामा डक्टरमाथि अपमान भएको भन्दै एकतर्फी गुनगान गाइयो । हाम्रो कुरा कसैले सुनेन ।’

कहालीलाग्दो हीराको जीवन

२८ वर्षीय हीरा भुलका दुई सन्तान, श्रीमान् र बूढा ससुरा छन् । सम्पत्तिको नाउँमा उनीसँग एउटा छाप्रो छ । ट्वाइलेट बनाउनेसम्म जग्गा छैन । गिट्टी कुटेर खाने उनको परिवार भोकै बसेका अनगिन्ती दिनहरू छन् । मजदुरी नगरेसम्म उनीहरूको मुखमा माड लाग्दैन । केही दिनदेखि उनका श्रीमान् पनि बिरामी परेर थला परेका छन् । उनीसँग सिटामोल किन्नेसम्म पैसा छैन । कसैले सहयोगस्वरूप दिएको चामलमा गुजारा टार्दै छन् उनीहरू । निकै रक्तश्राव भएपछि भुललाई अस्पताल लगियो ।

अवस्थीको समर्थनमा दलित कर्मचारी

आफ्नोबारे जानकारी दिन अवस्थीले दलित कर्मचारीलाई अगाडि सार्दै आएका छन् । कसैले घटनाबारे जानकारी माग्न आए उनी दलित कर्मचारी नै अघि सर्छन । यतिसम्मकी घटनाताका नेपालगन्ज रहेकी जमुना विश्वकर्माले समेत डाक्टरबारे बोलिन् । घटनाबारे सकुन्तला लोहार भन्छिन्, ‘डाक्टरले छुवाछुतलाई मान्नुहुन्न । उहाा यस्तो कुरामा विश्वास नै गर्नुहुन्न । त्यत्तिवेला म पनि घटना स्थलमै थिए । उहााले केही भन्नुभएको होइन । उहााले यस्तो गर्नुहुन्छ भन्ने हामीले सोच्न पनि सक्दैनौँ । उहााले त बरु दलित कर्मचारीलाई माया गर्नुहुन्छ ।’

के हुँदै छ घटना ?

रमेश कोलीले प्रहरीसमक्ष गएर १० हजार धरौटी बुझाएका छन् । राजु भुलले भने, ‘हामी राष्ट्रिय दलित आयोगको रिपोर्ट कुरिरहेका छौँ । हामी कानुनी प्रक्रियामा जान्छौँ ।’ उनले विभेदको मुद्दा दायर गरेर अगाडि बढ्ने बताएका छन् ।

रमेशविरुद्ध पर्चा पम्प्लेट

रमेश कोलीको नाममा मुद्दा दर्ता भएसागै रमेश चोर, डाका मुर्दावाद लगायतका नारा समेटिएको पर्चा देखिन थाल्यो । कोलीको विरुद्धमा नारावाजी गर्नको लागि अस्पतालको एम्बुलेन्ससमेत प्रयोग गरिएको थियो । तीन दिनसम्म स्वास्थ्यकर्मीहरुले सेवा अबरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए । पछि सर्वदलिय बैठकमार्फत यस विषयमा जिल्लामा आन्दोलन नगर्ने र शान्ति पूर्ण ढंगबाट निकास खोज्ने निर्णय भएपछि आन्दोलन बन्द भएको थियो ।

बिरामी हेर्नु मात्रै भनेका थिए : डा. अवस्थी

बिरामीसहित गाउँले अस्पतालमा पुगेको केही समय पहिले प्रमुख जिल्ला अधिकारीले डा. अवस्थीलाई फोन गरेका थिए । अवस्थी भन्छन्, ‘सिडिओले फोन गरेर बिरामी हेरिदिनु मात्र भन्नुभएको हो ।’ एम्बुलेन्स उपलब्ध गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयले २१ जेठमा अस्पताललाई पत्र लेखेको भए पनि त्यो २७ जेठ मात्रै प्राप्त गरेको अवस्थी बताउँछन् । त्यसपछि राष्ट्रिय हलिया समाज महासंघ नेपालका अध्यक्ष राजु भुलले दशरथ चन्द्र स्मृति प्रतिष्ठनको विनोद चन्दलाई सम्पर्क गरे । तेल हाल्ने सर्तमा उनीहरूले नि:शुल्क एम्बुलेन्स प्राप्त गरे । तर, हीराको एउटा शिशुको बाटो मै मृत्यु भयो । सेती अस्पतालले हीराको गर्भमा तीनवटा नभएर दुईवटा मात्र बच्चा भएको पुष्टि गर्यो । समयमै उपचार नपाउँदा भुलको अर्को शिशुको पनि मृत्यु भयो । डा. गुणराज अवस्थी आफूले त्यस्तो जातीय विभेदजन्य कुरा नबोलेको बताउँछन् । उनले भने, ‘मैले बिरामीलाई एम्बुलेन्ससम्मै पुर्याएँ । थप एक हजार रुपैयाँ पनि दिए । उसँग मेरो केको रिस हुनु र त्यस्तो भन्नू ।’ उनले थपे, ‘त्यति लामो समयसम्म अस्पताल किन नल्याएको भनेर चर्को स्वर भने गरेको हुँ । मेरो स्वभाव नै यस्तो छ ।’

डा. अवस्थीका अनेक गल्ती

डा. अवस्थीले गल्ती गरेबापत थुप्रैपटक माफी मागेका छन् । २०७० मा एक गर्भवती महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको थियो । उक्त शल्यक्रिया डा. अवस्थीले गरेका थिए । अवस्थीले मदिरा सेवन गरेर शल्यक्रिया गरेको उनीमाथि आरोप छ । सोही घटनाका कारण उनले माफी माग्दै एक लाख रुपैयाा क्षतिपूर्ति पनि तिरेका थिए । त्यस्तै, करिब तीन महिनापहिला कर्मचारीलाई हातपात गरेको भन्दै स्टाफ नर्सहरूले आन्दोलन नै चलाएका थिए । सोही कारण उनलाई स्टाफ नर्सहरूले चार घन्टासम्म कोठामा थुनेका थिए । एक महिनापहिला एक कर्मचारीले अस्पतालमा आएको सेवाग्राहीलाई विभेद गरेपछि डा. अवस्थीले प्रशासनमा गएर माफी मागेका थिए । त्यस्तै एउटा प्लग फ्युज भएको निहुामा १२ वर्षदेखि कार्यालयमा काम गर्दै आएकी दलित कर्मचारी पार्वती टमाटालाई जागिरबाट निकाला गरिदिएका थिए ।

यसो भन्छन् दलित नेता कोली

मलाई गाउलेले फोन गरेर आउनुपर्यो भने । डाक्टरले हामीलाई अपमान गर्यो, स्वास्थ्यमा हेलचक्राइ गर्यो । उसलाई लखेट्नुपर्छ भन्दै बोलाए । उनीहरूले बोलाएको कारण म त्यहा पुगेको हु । आक्रोशका बेला उहाहरूले कालोमोसो दल्नु भएछ । कालोमासो दलेका कारण डाक्टरले विभेदको कुरालाई ढाकछोप गर्नुभएको छ । मलाई मुद्दा किन हालियो भनेर आफै अचम्ममा छु । म पनि कानूनी प्रक्रियामा जान्छु । यसमा मेरो कुनै संलग्नता छैन । मलाई गाली बेइज्जती गरि पर्चा छपाइएको छ । यसको विरुद्धमा पनि मैले मुद्दा दर्ता गर्ने वाला छु । त्यस्तो मुद्दा हाल्नेले अघिल्लै दिन हाल्नुपथ्र्यौ । २२ जेठमा म डिएसपीसग चिया खाएर छुटेको छु । गाउलेले गल्ती गरे यसलाई मिलाएर लैजानुपर्छ भनेर डिएसपी र म बीच छलफल पनि भएको थियो । तर, अर्को दिन एक्कासी ममाथि मुद्दा हालियो । यो सुनियोजित छ । डाक्टरको कारण भन्दा पनि यो राजनीतिकरण भएको छ ।

यसो भन्छ दलित आयोग

राष्ट्रिय दलित आयोगका सदस्य मन्दित ताम्राकारले घटनावारे प्रतिबेदन अन्तिम चरणमा पुगेको बताएका छन् । उनको नेतृत्वमा आयोगको टोली घटनाबारे छानविन गर्न बैतडी गएको थियो । उनले भने, ‘हामीले पीडित भनिएका र डाक्टर पक्षको बयानको आधारमा रिपोर्ट तयार गर्दैछौं । यदि विभेद गरेको भेटिएमा सरकारलाई कारवाही गर्न बाध्य बनाउानेछौ । दवाब मुलक कार्यक्रमलाई अगाडि बढाउने छौँ ।

नयाँ पत्रिकावाट साभार

प्रतिक्रिया