जागिर नभए पनि तलब खाएका शिक्षकबाट झण्डै २ करोड असुल !

जागिर नभए पनि तलब खाएका शिक्षकबाट झण्डै २ करोड असुल !

काठमाडौं – जागिर खाने अवधि सकिदाँ समेत तलब खाईरहेका १ सय २० शिक्षकबाट झण्डै २ करोड रुपैंया असुल गरिएको छ । उमेर हद कटेर पनि तलब खाँदै आएका शिक्षकबाट विद्यालय शिक्षक किताबखानाले यो आर्थिक बर्षको जेठ मसान्त सम्म उक्त रकम असुल गरेको हो । विभिन्न जिल्लाका ती शिक्षकबाट १ करोड ९७ लाख ३६ हजार ९० रुपैंया असुल गरेको किताबखानाले जनाएको छ ।

आफू निवृत्त हुने अवधिका बारेमा समयमै जानकारी नदिने शिक्षकले उक्त अवधिमा खाएको सबै तलब फिर्ता गर्नु पर्ने हुन्छ । शिक्षकको उमेर हद ६० बर्ष मात्रै छ । गत आर्थिक बर्षका तुलनामा यस बर्ष कम देखिए पनि समस्या पुरै समाधान नभएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गाना बताउँछन् । गत बर्ष १ सय ५१ शिक्षकबाट २ करोड ६२ लाख ४१ हजार ८ सय ५८ रुपैंया असुल गरिएको थियो । ‘यो आर्थिक बर्षको बाँकी असार महिनाको मात्रै छ, सम्भवतः पोहोर जति नहोला भन्ने लाग्छ’ उनले भने, ‘कितावखानाको कामसंगै यहाँहरु जस्ता सञ्चारकमीृले गर्ने समाचार स्रप्रेषणले पनि यस्ता शिक्षकलाई सजग गराएको हाम्रो ठम्याई छ ।’

सामाजिक मर्यादा बढ्ने तथा पदले दिने अवसरको फाईदा उठाउने लोभले कतिपय शिक्षकहरु उमेर कटिसक्दा पनि जागिरमै बसिरहेको फेला परेको छ । शिक्षा नियामावली २०५९ को नीयम १७ मा उमर हदका कारण सेवा निवृत्त हुने शिक्षकले नौ महिना अघिनै सेवारत विद्यालयमा जानकारी दिनु पर्ने ब्यवस्था छ । किताबखानाले ६ महिना अघिनै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निबृत्त हुने शिक्षकको विवरण पठाउँछ ।

तर जिशिकाको हेलचेक्र्याईले निवृत्तहुने शिक्षकहरुको तथ्याङ्क अद्यावधिक नहुने फेला परेको छ । आफ्नो जागिर खाने अवधि कति हो भन्ने समेत हेक्का नराख्ने शिक्षक र शिक्षकको अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालयको अनुगमन संयन्त्र फितलो हुँदा समस्या भएको ढुङ्गाना बताउँछन् । आफ्नो सेवा अवधि सकिईसक्दा पनि ढाँटेर तलब खाने शिक्षकका बारेमा विद्यालय निरिक्षकको अनुगमन समेत फितलो देखिएको उनको भनाई छ ।

कतिपय शिक्षकहरुको जन्म मितिमा देखिएको फरकले पनि यस्तो समस्या आएको उनको बुझाई छ । जन्म मिति फरक परेमा परीक्षा नियन्त्रण कार्यालयबाट लगत भिडाएर प्राप्त मिति मध्ये पहिलोलाई आधार बनाउने गरीएको उनले बताए । त्यसैले आफूले जागिर खाँदा भरेको १३ पाने विवरण अर्थात् सिटरोल भर्दा लेखिएको मिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्म मिति समयमै रुजु गर्न उनले शिक्षकहरुलाई आग्रह पनि गरेका छन् । आर्थिक बर्ष २०७० ७१ मा पनि २ करोड ४९ लाख ४९ हजार २ सय ५७ रुपैंया असुल गरिएको थियो ।

साभार ः इडु खवर

प्रतिक्रिया