सीप सिक्न इजरायल गएका युवा ६ करोड लगानी लिएर फर्के

सीप सिक्न इजरायल गएका युवा ६ करोड लगानी लिएर फर्के

आजभन्दा दुई वर्षअगाडि सीप सिक्न भन्दै इजरायल पुगेका युवाहरु ६ करोड रुपैयाँ लगानी जुटाएर नेपाल फर्केका छन्। साना किसान कृषि सहकारीमार्फत कृषि प्रशिक्षण गर्न इजायल पुगेका ६० जना युवाले एनआरएन इजरायलको सहयोग लगानी लिँदै नेपाल फर्केका हुन्।

 साना किसान विकास बैंकले गाउँगाउँमा सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थामार्फत ‘लर्निङ एण्ड अर्निङ’  कार्यक्रमका लागि फ्रि भिसामा त्यहाँ पुगेका हुन्।
साना किसान सहकारीले गाउँगाउँमा रहेका सहकारी सेयर सदस्य किसान परिवारका २१ देखि ३० वर्षसम्ममा प्लस टु पास गरेका युवायुवतीलाई कृषिको प्रशिक्षण कार्यक्रममा पठाउने गरेको छ।  सहरकारीले अहिलेसम्म यस्तो प्रशिक्षण कार्यक्रममा १३ सय ५० युवायुवतीलाई इजरायल  पठाइसकेको छ। पुनः यही कार्यक्रमका लागि ४ सय ३० जना युवा जाने तयारीमा छन्।
इजरायलबाट लगानी जुटाएर नेपाल फर्केका ग्रुप लिडर विनोद घिमिरेका अनुसार कृषि सम्बन्धी अध्ययन तथा प्रयोगात्मक  र आधुनिकीकरणको विषयमा सीप सिक्ने उद्देश्यले टोली इजरायल पुगेको हो।
‘सातामा १ दिन कृषि सम्बन्धी अध्ययन हुने कलेजमा पढ्यौँ र  ५ दिन किसानका कृषि फार्ममा गई प्रयोगात्मक अध्ययन गर्यौँ’ उनले भने  ‘फार्म व्यवस्थापन र व्यवसायिक कृषि गर्दा अपनाउनु पर्ने आधारभुत सुरक्षा सम्बन्धी कुराहरु सिक्यौँ।’
कृषिमा यान्त्रिकीकरण प्रयोगको महत्वपूर्ण भूमिका हुने भन्दै उनले नेपाललाई पनि त्यसतर्फ लैजानुपर्ने जोड दिए। प्राविधिक रुपमा बोट विरुवाहरुलाई हुर्काउने र उन्नत जातका पशुहरुको नश्ल सुधार सम्बन्धी धेरै कुराहरु थाहा पाएको उनले बताए।
 नेपालमा पनि अहिले कतिपय स्थानमा व्यवसायिक कृषि फार्महरु सञ्चालमा आइसकेका छन्। फार्म सञ्चाल गर्दा आवश्यक पर्ने व्यवस्थापन  र सुरक्षा सम्वन्धी सामान्य ज्ञान पनि नहुँदा चाहेअनुसार उत्पादन वृद्धि हुन भने सकेको छैन।
कृषि यान्त्रिकीकरणलाई सुधार गर्दै आफूहरुले सामुहिक एकीकृत  कृषि फार्म सञ्चालन गर्ने उद्देश्य राखेको घिमिरेले बताए। ‘कृषि व्यवसायलाई यान्त्रिकीकरण गरेमा छोटो समयमा, थोरै श्रमको प्रयोगबाट धेरै उत्पादन लिन सकिन्छ तसर्थ यसलाई अवलम्बन गर्नैपर्छ’ उनले भने। परम्परागत शैलीमै कृषि पेशा गरिँदा कृषिजन्य सामानको आयात बढेको उनको भनाई छ।
कृषिमा आत्मनिर्भर हुन व्यवसायिक रुपमा कृषि गर्नेहरुको खाँचो छ। त्यही खाँचोलाई केही भए पनि पुरा गर्ने लक्ष्यका साथ आफूहरु लगानी जुटाउँदै नेपाल फर्केको उनले बताए।
‘यसको लागि सबैभन्दा पहिले एउटा सहकारी स्थापना गर्ने र शाखाहरुमार्फत जिल्लास्तरमा कृषि फार्महरुलाई विस्तार गर्ने लक्ष्य लिएका छौँ’ घिमिरेले भने।
प्राविधिक ज्ञान भएकाहरुले ५ लाख रुपैयाँसम्म लगानी गर्दै सहकारी संस्थाको सदस्य हुन पाउने छन् भने प्राविधिक विषयमा ज्ञान नभएकाहरुले ८ देखि १० लाख रुपैयाँसम्म लगानी सदस्य बन्न पाउने व्यवस्था गरिने उनले बताए। उनकाअनुसार सहकारीमा १ सय २५ भन्दा बढी सेयर सदस्य रहने छैनन्।
‘यसरी सञ्चालन हुने सहकारीमार्फत जिल्लाको भौगोलिक अवस्था, हावापानी र त्यहाँको विशेषतालाई अध्ययन गरी संस्थागत रुपमै व्यवसायिक कृषि गर्ने हो’, उनले भने, ‘अब इजरायलमा सिकेर आएको सिप र ज्ञानको प्रचुर रुपमा प्रयोग हुन्छ।’
इरायलमै सिप सिकेर आएका युवा केदार ढुंगानाले सिप सिक्ने दिएको अवसरलाई आफूहरुले बालुवामा  पानी हालेजस्तो हुन नदिने बताए।
सरकारले भनेजस्तो दुई वर्षमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने हो भने जीवन निर्वाहमुखी कृषि पेसालाई व्यवसायिक रुपमा लैजानुपर्नेमा उनले जोड दिए।
देशमै व्यवसायिक कृषि सुरुआत भएमा विदेश पलायन भइरहेका युवाले पनि देशमै रोजगारको अवसर पाउने उनले बताए। ‘७० प्रतिशत भन्दा बढी मानिस कृषि पेशामै रहँदा पनि देश कृषिमा आत्मनिर्भर हुन नसक्नु दुःखद कुरा हो’ ढुंगानाले भने।
परम्परागत कृषि पेशालाई परिवर्तन गर्न यस क्षेत्रमा सिप र ज्ञान हासिल गरेकाहरुलाई हौसला प्रदान गर्न राज्यले पहल गर्नुपर्ने साना किसान कृषि सहकारीका अध्यक्ष खेमप्रसाद पाठक बताउँछन्।
कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाउन साना किसान कृषि विकास बैंकको मार्फत युवाहरुलाई प्राविधिक रुपमा दक्ष बनाउन किसान परिवारकै सदस्यलाई इजरायल पठाउने गरेको उनले बताए। हालसम्म १३ सय ५० युवालाई इजरायल पठाएको उनले बताए। इजरायलमा युवाहरुले सरदर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नुका साथै प्राविधिक विषयमा ज्ञान लिएर  नेपाल आउने गरेको उनले बताए।
‘उनीहरलाई हामीले सम्मान पनि गर्नुपर्छ, विदेशमा सिप सिक्दै देशमै  व्यवसायिक कृषि गर्ने जोस जाँगर निकाल्नेहरुलाई सरकारले पनि हौसला दिनुपर्छ’ उनले भने।
साभार ः सेताेपाटी

प्रतिक्रिया