जय धानवाद– जय गमलावाद

जय धानवाद– जय गमलावाद

artical sherशेरबहादुर थापा, मुम्बई ।
आजकाल नेपालमा असार पन्ध्र आउनै हुन्न । त्यस अगावै हिलोमा छ्यापीएका तस्विरहरु सामाजीक सञ्जालमा बाढी आएसरि आउछन । यति सम्म कि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरेपश्चात त झनै सुनामी नै आउने गरेको छ सामाजीक सञ्जालमा । आजकाल एक दुनियाँमा आफू मात्रै किसान हुँ भन्ने होड चलिरहेको कुरा यी सामाजीक सञ्जालका भित्ताहरुले देखाउछन । कहिल्यै हिलोमा नटेकेका भद्र भलादमीदेखि, नेता कार्यकर्ताहरु, मोडल देखि सञ्चारकर्मीहरु सम्म आजकाल कहाँ हिलोमा गुटमुटिने अनि तस्विर सामाजीक सञ्जालमा राख्ने भन्नेमा सबैको ध्यान छ ।
अझ अघिल्लो पटकका कृषिमन्त्रीले महिलाहरुलाई अगाँलो हालेको तस्विर भाइरल हुदा उनको मन्त्री पदनै स्वाहा भयो । तर यसपटकका मन्त्री हरिबोल गजुरेलले अलि फरक शैलीमा धान दिवस मनाए । एक फिल्ममा गाइ मरेको देखेर रुने माननीय मन्त्री ज्यूले यसपटक पशुपक्षिमन्त्रीलाई साक्षी राखेर गमलामा धान रोप्न भ्याए । यो सायद नौलो कृषि क्रान्तीको परिभाषा हुनुपर्छ । मलाई लाग्छ अब चैँ पक्कै कृषि क्रान्ती सम्पन्न हुनेछ । अब हरेक नेपालीले गमलामा धान रोप्नेछन अनि देशलाई धानमा आत्मनिर्भर बनाउन सघाउ पु¥याउनेछन । हेर्द जानुस अब गमलामा फूलहरु फूल्नेछैनन । अब गमलामा नेपालीहरुले मखमली, सयपत्री फूलका बोटहरु रोप्ने छैनन । किनकी हामीलाई अब धानबाट देशलाई आत्मनिर्भर बनाउनु छ ।

करिब चालिस लाख विदेश बस्ने नेपालीहरुले चालिस लाख गमलामा धान रोप्नेछन । भारतमा बस्ने करिब ६० लाख नेपालीले पनि गमलामै धान रोप्नेछन । यसो गर्न उनिहरुलाई सहज पनि हुनेछ किनकी गमलामा धान रोप्न धेरै समय लाग्दैन । प्रदेशमा काम गर्ने नेपाली युवाहरुले केहि समय निकालेर भएपनि कृषिमन्त्री ज्यूको अभियान, शैलीलाई अनुसरण गर्नेछन । अनि १ करोड गमलामा फलेको धान नेपाल भित्रीनेछ । हिजो विदेशबाट आउने कफनमा मजदुरका लाशहरु आउथे अब त्यसको साटो धान आउनेछ ।

अब नेपालीहरुले धान फलाउन खेतमा नै जानुपर्छ भन्ने नै रहेन । किनभने अब त हरेक घरका छतहरुमा, हरेक अफिसका प्रवेशद्वारमा अनि हरेकका वरण्डामा लह–लह धान झुल्नेछ र त्यहि धानले देश चामलमा आत्मनिर्भर हुनेछ । अब नेपाली कृषिमा आधुनिकिकरण हुनेछ । हरेक व्यापारी, बुद्विजीवी, राजनीतिज्ञ, पत्रकार, समाजसेवि, सर्वसाधारण लगाायत ३ करोड जनताले गमलामा धान रोप्नेछन अनि सेल्फी हान्नेछन र सामाजीक सञ्जालमा तस्विर पोस्ट गर्नेछन । अनि त्यो तस्विरमा देश विदेश देखि लाइक र कमेन्टको बाढि आउनेछ । त्यो बाढि सँगै धान पनि नेपाल भित्रनेछ । अनि हामी साँच्चीकै मन्त्रिज्यूले देखेको सपनालाई विपनामा परिणत भएको देख्नेछौँ । जय धानवाद, जय गमलावाद ।

प्रतिक्रिया