रात्रि बस चढेर गए डाक्टर गोविन्द केसी बाढीपीडितको उपचारमा

रात्रि बस चढेर गए डाक्टर गोविन्द केसी बाढीपीडितको उपचारमा

लामो समयसम्म अनसन बसेर थाकेका वरिष्ठ चिकित्सक गोविन्द केसी शारीरिक अशक्तताकै बीच बाढीपीडितकहाँ औषधि लिएर पुगेका छन्।
 देशैभरि बाढीपहिरोको श्रृङ्खला र सर्वसाधारणको पीरमर्का थाहा पाएर त्यतिकै चुप बस्न मन लागेन केसीलाई। केसी आफैंलाई आरामको जरुरत छ भन्ने महसुस नभएको हैन। तर, बाढीपहिरोले पीडित जनताकहाँ जाने इच्छाका सामु शारीरिक दुर्बलतालाई बिर्सिएछन्।

‘जनता दुःखमा परेको थाहा पाउँदा पाउँदै के आराम गरिराख्नु भन्ने लाग्यो,’ केसीले सेतोपाटीसँग भने, ‘त्यसैले औषधि र पाल बोकेर हिँडें।’
केसी शुक्रबार रात्रि बस चढेर राजधानीबाट सप्तरी पुगेका छन्। चिकित्सा क्षेत्र सुधारका निम्ति १६ दिन अनसन बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक केसी शनिबार बिहान सप्तरी पुगेका छन्, बाढीप्रभावित क्षेत्रका जनतामाझ पुगेर उपचार थालेका छन्।
केसी अनसन तोडेको १२ औं दिन बाढीपीडितको सेवा गर्न पुगेका हुन्। अनसन तोडेको पाँचौं दिन उनी भ्रष्टाचारविरूद्ध राजधानीको सडकमा निस्केका थिए।
सप्तरी सदरमुकाम राजबिराजबाट १५ किलोमिटर दक्षिण तिलाठी गाविस छ। खाँडो खोलामा आएको बाढीले सयौं मानिस विस्थापित भएका थिए, केसीले त्यहाँ शनिबार दिनभरि स्वास्थ्य शिविर चलाए।
स्वास्थ्य शिविरको पहिलो दिन तिलाठी गाविसका १३० जनाले उपचार सेवा लिएका छन्। आइतबार तिलाठीकै टिमेकी गाविस सकरपुरा जाँदैछन्, त्यहाँ पनि स्वास्थ्य शिविर चलाउँदै छन्। तिलाठी र आसपास धेरै नै जनता बाढीबाट प्रभावित छन् भन्ने सुनेपछि उनी त्यतैतिर लागेको केसीले बताएका छन्।
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि उनले १६ वटा पाल र औषधि काठमाडौंबाटै लिएर गएका थिए। आफूले सेवा दिने हाडजोर्नीसँग सम्बन्धित औषधि छुटाएनन्। दम, ग्याष्ट्रिक तथा छालाको समस्याका बिरामीका लागि पनि औषधि बोके।
साबुन, विस्कुट, फलफूल, चकलेट, स–साना विद्यार्थीका लागि कापी राजविराजमै किने। शिविरमा आइपुगेका जनतालाई औषधिका साथै विस्कुट, फलफूल पनि दिए। त्यसक्रममा केसीले अासपासका घरमा पुगेर हाडजोर्नीपीडितलाई जाँचेका थिए।
तपाईं ठिक भइसक्नुभयो त? भनेर सोधिएको प्रश्नमा केसीले भने, ‘मलाई ठिक त कहाँ छ र तर यहाँ आउन ढिलो हुन्छ भनेर हिँडिहालेँ।’
उनका अनुसार अरूबेला त जहिले गए नि हुन्थ्यो, भर्खरै बाढीपहिरोले त्यत्रो क्षति पुर्याएका बेलामा जानु सान्दर्भिक थियो। त्यसैले गइएयो।
‘अरूबेला र विपत्तिमा गएर सहयोग गरेको फरक पर्छ भनेर आएँ,’ केसीले भने, ‘अनसन नबसेको भए त पहिले नै आइपुग्थेँ।’
पाल, औषधि, फलफूल, कापी किनेको रकम आफैंले व्यहोरेका छन्। जति सकिन्छ त्यति नै सहयोग गर्ने केसीको इच्छा छ। ‘मैले जे सकेको त्यही बोकेर आएको छु, कहीँ कसैसँग केही मागेर ल्याएको छैन,’ केसीले भने।
शारीरिक अशक्तताबीच एक्लै नजाउँ भन्ने लाग्यो केसीलाई। आफूले पढाउने गरेका केही विद्यार्थीसँग सरसल्लाह गरे। एमबिबिएस तेस्रो वर्षका विद्यार्थी नारायण कँडेल, विशद दाहाल र चौथो वर्षका राम शाह जान तयार भए। सहयोगी किशोर केसी तथा मेन्स रुम रिलोडेड ग्रुपका विक्रम केसी, जय पौडेल र डोरेश पोखरेलले पनि साथ दिएपछि एउटा टिम नै तयार भएछ।
‘यतिका विद्यार्थी र सहयोगी भएपछि अरू के चाहियो र मलाई,’ उनले भने, ‘जे सकिन्छ त्यही सेवा दिने जमर्को गरेको छु।’
सेटाेपाटीमा समचार छ ।

प्रतिक्रिया