दैलेख अस्पताल वेहालै वेहाल ।।

दैलेख अस्पताल वेहालै वेहाल ।।

हिमराज सिजापति

भाद्र ३ दैलेख-जिल्ला अस्पताल दैलेख दिन प्रति दिन वेहाल वन्दै गएको छ । जिल्लाका अधिकांश क्षेत्रवाट दिनँहु जसो उपचारका लागि आउने विरामीहरु जिल्ला अस्पतालको विग्रदो हालत देखेर दिक्क हुन थालेका छन् । अस्पताल क्षेत्र अहिले सार्वजनिकस्थल झैं हुन थालेको अधिकांशको गुनासो रहेको छ । नारायण नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल परिसरमा पुग्ने जो कोही पनि अस्पतालको अस्तव्यस्तता देखेर आश्चर्यमा पर्ने गरेका छन् भने उपचारका लागि जाने धेरैजसो अस्पताल प्रशासनको लापरवाही प्रति दुखित हुने गरेका छन् । अस्पताल गेटवाट भित्र छिर्ने वित्तिकै खेलकुदका लागि निर्माण गरीएको मैदानमा दिनहु जसो व्याडमिन्टन खेलमा कर्मचारी र वाहिरवाट खेल्न अनि हेर्न जानेको होहल्लाले वसी नसक्नु देखिन्छ । अलि अगाडी सार्वजनिक औषधी पसल छ , जहां औषधी वेच्नेहरु चाउचाउ र विस्कुट वेचे झैं औषधी वेचिरहेका हुन्छन्, जो औषधीसंग त्यति जानकार छैनन् अनि जुन औषधी पसलमा अन्य मेडिकलको भन्दा औषधी सस्तो छैन् । उपचारका लागि आउने विरामीलाई खानेपानी सुविधाका लागि अस्पताल परिसरमा प्लाष्टिक ट्यांकी पनि राखिएको छ, तर त्यो ट्यांकीको धारावाट पानी आउन छाडेको धेरै भएपछि अहिले जिर्ण अवस्थामा छ । अस्पताल परिसरको माथिल्लो क्षेत्रमा विरामी भर्ना कक्ष ईन्डोर रहेको छ, जहां विरामीको वेड नजिकै रहेको शौचालयको दुर्गन्धले कुरुवा पनि विरामी हुनुपर्ने अवस्था छ । अस्पतालमा विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोज्दा पनि नभेटिने र वोलाउदा पनि ढिलाई गर्ने विरामी कुरुवाहरुको गुनासो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पताल प्रशासनले विरामी भर्ना कक्षमा नियमित रुपमा २ जना स्वास्थ्यकर्मी र १ जना सहयोगी खटाएको वुझीएकोे छ । माथि उल्लेख गरीएका समस्या अस्पताल परिसरका केहि प्रतिनिधीमुलक समस्या मात्र हुन् । खोज्दै जाने हो भने थुप्रै समस्याबाट अस्पताल ग्रसित भएकोे सर्वसाधारणहरु वताउछन् । जिल्ला अस्पतालमा रहेको एम्वुलेन्स पनि करीव ५ महिना देखि संचालन हुन नसकेका कारण विरामीलाई झन् ठुलो समस्या झेल्नु परेको छ । थन्किएको एम्वुलेन्स डेढ महिना देखि मर्मत गर्न भनी सदरमुकामकै मोटर ग्यारेजमा राखिएको छ । निमित्त जिल्ला स्वास्थ्य प्रमुख डा. निर्मल रसालीले एम्वुलेन्स पनि विग्रिएको र चालकले पनि छोडेर गएपछि नियमित संचालन गर्न नसकेको वताउनु भयो । उहाँले प्रमुख जिल्ला अधिकारीवाट अस्पताल प्रति सर्वत्र रुपमा गुनासो आएको भनि सुधारका लागि निर्देशन दिए पछि केहि सुधार्ने प्रयासमा लागेको स्पष्टोक्ति दिनु भयो ।

प्रतिक्रिया