‘गगन हिरोबाट जिरो भएको देख्न नपरोस्’

‘गगन हिरोबाट जिरो भएको देख्न नपरोस्’

स्वास्थ्य मन्त्रीका रूपमा सपथग्रहण गरेलगत्तै गगन थापाले वैदेशिक रोजगारमा जाने व्यक्तिको स्वास्थ्य परीक्षणमा हुने गडबडीमाथि छानबिन गर्न समिति गठन गरे।
झट्ट हेर्दा यो स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सामान्य काम हो। तर, यही सामान्य काममा लामो समयदेखि बेथिति व्याप्त रहँदा वैदेशिक रोजगारमा जाने नेपालीले दुःख पाइरहेका छन्। उनीहरूको स्वास्थ्य परीक्षणकै नाममा कुनै समूहले कुस्त कमाउने परिस्थिति सिर्जना भइरहेको छ।

timthumb.php युवा पुस्तामाझ चर्चित नेता गगनको निम्ति स्वास्थ्य मन्त्रालयको यो जिम्मेवारी मन्त्रीका रूपमा पहिलो अनुभव मात्र हुनेछैन, उनको राजनीतिक करिअरकै लागि ‘टर्निङ प्वाइन्ट’ पनि साबित हुनसक्छ। यस आधारमा दैनिक वैदेशिक रोजगारका लागि जाने करिब दुई हजार नेपालीलाई सोझै असर पार्ने उनको यो कदम सुझबुझपूर्ण देखिन्छ।
मन्त्रीका रूपमा हात हालेको पहिलो काममा सफलता पाउन सके एकैचोटि हजारौं नेपालीलाई छुनेछ। उनी प्रशंसाका हकदार हुनेछन्।
तर, आफ्नो लोकप्रियता र छवि कायम राख्न गगनका लागि यति मात्र पर्याप्त छैन।
उनीप्रति सर्वसाधारणको कति ठूलो आशा र भरोसा छ भन्ने फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा ओइरिएको शुभकामना सन्देशले नै छर्लंग पार्छ। मन्त्रीका रूपमा गगनको नाम घोषणा हुनेबित्तिकै युवाहरूले उनको सामु जिम्मेवारीको चाङ लगाइसके।
जस्तो, सौगात गौतमले ट्विट गरेका छन्– ‘गगन थापा स्वास्थ्य मन्त्री हुनुभएकोमा बधाइ, राम्रो संस्कारको प्रस्तुति होस् र डाक्टर केसी अनसन बस्न नपर्ने गरी त्यो मुद्दा सुल्झाउनु होला।’
मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले उनलाई अझ धेरै कामका लागि शुमकामना दिँदै ट्विटरमा लेखेका छन्, ‘नायक (फिल्म) मा अनिल कपुरले १ दिनमा गरेका काम गर्न पूरै ८ महिना छ र देश बन्न सक्ने लक्षण देखाउन यो समय काफी छ, काम गर्न सक्नुहोस्, शुभकामना।’
त्यस्तै, जनक पौडेलले ट्विट गरेका छन्, ‘भाषण गर्न माहिर छन्, जगले जानेको कुरा हो। अब ८ महिनामा भाषण नगर्नू। काम गर्नू। सके राम्रो गर्नू, नभए नबिगार्नू। त्यत्ति हो अपेक्षा।’
गगनप्रति सर्वसाधारणको अपेक्षा यति धेरै चुलिनुको कारण २०६२/०६३ सालको जनआन्दोलनको हिरोका रूपमा उनले बनाएको छवि हो। नेताका रूपमा त्यतिबेला बनाएको छवि उनले मन्त्रीका रूपमा कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने आगामी दिनमा प्रमाणित हुनेछ।
यही कुरा झल्काउँदै सराफत अलिले ट्विरमा लेखेका छन्, ‘गगनको काम नै नहेरी आलोचना चाहिँ गरिन्न है, मन्त्री बनेपछि पब्लिक इमेज जस्तो छ, त्यसमा खरो उत्रिन्छन् वा उत्रिन्नन्, हेरौं।’
थापाले भने सामाजिक सञ्जालमा आएका शुभेक्षा र अपेक्षाको ख्याल गरेको बताएका छन्।
‘सामाजिक सञ्जालबाट आएका शुभेक्षाहरु हेर्दै गर्दा मैले एउटा कुनै मन्त्रालय विशेषको नियमित कामकारबाहीभन्दा बढी नै अपेक्षा गरिएको देखेको छु,’ उनले सेतोपाटीसँग भने, ‘मैले काम गर्न सकिन भने एउटा जेनेरेसनको आशमाथि नै आघात पुग्छ।’
‘मैले मन्त्रालयका कर्मचारीहरुलाई पनि मिलेर काम गरौँ भनेको छु। म नयाँ पुस्ताको विश्वासलाई मर्न दिन्न,’ गगनले भने।
पछिल्लो समय कुनै नेताप्रति सर्वसाधारणको तर्फबाट यो हदसम्म आशा र भरोसा व्यक्त भएको यो पहिलोपटक हैन। यसअघि तत्कालीन माओवादी नेता बाबुराम भट्टराई अर्थमन्त्रीका रूपमा सरकारमा सामेल हुँदा यस्तै अवस्था थियो। उनले अर्थमन्त्रीका रूपमा काम गरेर पनि देखाए। यसैको परिणामले प्रधानमन्त्रीका रूपमा पनि उनीबाट धेरै ठूलो आशा राखिएको थियो, जसमा उनी खरो उत्रन सकेनन्।
सामाजिक सञ्जालमै गगनलाई बाबुरामसँग जोडेर प्रतिक्रिया दिनेहरू धेरै थिए। भट्टराईले प्रधानमन्त्री भएपछि ‘जनताको आशमा पानी खन्याएको’ सम्झेर गगन पनि यस्तै हुन्छन् भनी शंका गर्नेहरु कम छैनन्।
सुशोभन जोसीले ट्वीटरमा लेखेका छन्, ‘अब हुन्छ दूधका दूध, पानीका पानी। म त पटक्कै भर गर्दिनँ, तर बाबुरामजस्तो हिरोबाट जिरो भएको देख्न नपरोस्।’
कुनै नेताका लागि मन्त्री पद भनेको उनको क्षमता जाँच्ने कसी हो। विगतमा मन्त्री भएपछि कति नेताको लोकप्रियता गिरेको छ भने कति ह्वात्तै लोकप्रियसमेत भएका छन्। त्यसैमध्ये एक हुन्, गोकर्ण विष्ट।
एमालेका विष्टले मन्त्री भएपछि विद्युत चुहावट कम गर्न गरेको कामलाई सर्वसाधारणले प्रशंसा गरे। त्यही कामका कारण पाएको चर्चाले उनको राजनीतिक करिअर नै चम्किलो बनाइदियो।
एमालेकै लालबाबु पण्डितले पनि आफ्नो कामको बलमै कहिल्यै चर्चामा नआउने सामान्य प्रशासन मन्त्रीकै रूपमा देशलाई तरंगित पार्न सफल भए। विदेशको भिसा र स्थायी बसोबास अनुमतिपत्र लिएका सरकारी कर्मचारीलाई कारबाही गर्न उनले छेडेको अभियानले सबैको प्रशंसा पायो। सरकारभित्रै यो अभियानमा एक्लो परे पनि उनले लत्तो छाडेनन्। सामान्य प्रशासनजस्तो कहिल्यै कसैको रोजाइमा नपर्ने मन्त्रालयको नामसमेत उनकै कारण चर्चामा रह्यो।
गगन थापाको निम्ति भने चम्किलो राजनीतिक करिअरलाई मजबुत बनाउने अवसर हो यो।
यसका लागि उनले चर्चा कमाउन गरिने कामभन्दा गम्भीर प्रकारका समस्याको निकास खोज्नुमा पर्ने धेरैको जोड छ। सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरूले यही सुझाव दिएका छन्।
थापाले सम्हालेको स्वास्थ्य मन्त्रालयमा गर्नुपर्ने कामका खातैखात छन्। मुख्य कुरा त उनले स्वास्थ्य क्षेत्रका विकृति हटाउन कस्तो काम गर्छन् भन्ने धेरैको चासो छ। सबभन्दा चुनौती, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको भ्रष्टाचारविरुद्ध गोविन्द केसीले थालेको अभियानले सिर्जना गरेको छ।
डा. केसीलाई समर्थन गर्न थापा सबभन्दा पहिला टिचिङ अस्पताल पुगेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने पछिल्लो मागलाई संसदसम्म पुर्याउने पनि उनै हुन्। संसदमा दर्ता गरेको उक्त मागसम्बन्धी छलफल नै पन्छाउन सभामुखलाई निर्देशन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारमा थापा मन्त्री भएका छन्। त्यसैले, यो उनको निकै चुनौतिपूर्ण कार्यकाल हुने निश्चित छ।
आफैले समर्थन गरेका मुद्दालाई टुंगोमा पुर्याउन उनले कस्तो काम गर्ने छन्, अहिले सबैका आँखा त्यसैमा अडिएका छन्। मेडिकल माफियाको चंगुलबाट स्वास्थ्य क्षेत्रलाई बचाउन उनको कार्यकाल निकै कम देखिन्छ। केसीका मागलाई स्थापित गर्न वा उनीसँगका सम्झौता कार्यान्वयन गर्न सके मात्र पनि थापाको कार्यकाल सन्तोषजनक मानिने छ।
गगन आफैले केसीका माग पूरा गर्न लड्ने बचनबद्धता व्यक्त गरेका छन्। ‘डाक्टर केसीका मागबारे म नैतिक रुपमा बाँधिएको छु। उहाँको सुधार अभियान वा जुन सुकै सुधारका लागि काम गर्ने छु र बाधाहरुसंग लड्ने छ,’ उनले भने।
आजसम्म उनलाई सजिलो थियो बोले पुग्थ्यो, भाषण गरे पुग्थ्यो। अब भने भाषण भन्दा ज्यादा कामले उनको छवि र राजनीतिक करिअर निर्धारण गर्ने छ।
साभार ः सेटाेपाटीवाट

प्रतिक्रिया