प्रहरीले हटायो विरेन्द्रको शालिक

प्रहरीले हटायो विरेन्द्रको शालिक

१७ भदौ, नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राप्रपा नेपाल निकट राष्ट्रवादी युवा समूहले राखेको  पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक स्थानीय प्रशासनले हटाएको छ ।

चोकमा रहेको झण्डा फेर्ने बाहानामा राष्ट्रवादी युवा समूहका युवाहरुले बिहीबार बिहान करिव साढे ९ बजेतिर शालिक राखेका थिए । तर, मध्यराति २ बजेतिर प्रहरील शालिक हटाएको हो ।

शालिक राखेपछि प्रहरी प्रशासनले हटाउन सक्ने भन्दै राप्रपा नेपालका युवा कार्यक्रर्ताले चोकमै धर्नामा बसेका थिए ।

प्रहरीले शालिक हटाउने क्रममा अवरोध गर्ने राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलसंहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहमा राखिएको छ ।

राप्रपा नेपालको अगुवाईमा नेपालगन्जको धम्बोझी चोक र त्रिभुवन चोकमा पूर्वराजा वीरेन्द्र र त्रिभुवनको अर्धकदको ढलोटले बनेको ८७ किलो तौलको शालिक राख्ने योजना बनाएका थिए । तर, धम्बोझीमा मात्र सालिक राख्न सफल भएका थिए ।

प्रहरीले सालिक हटाएपछि राप्रपा नेपालले विरोध र्याली निकाल्ने तयारी भएको जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले जानकारी दिए । उनले भने-‘हामी पार्टीको तर्फबाट र्याली निकाल्दै घटनाको विरोध जनाउँछौं । आगामी कार्यक्रम के गर्ने भन्ने बारेमा पार्टीमा छलफल गरी विरोधका चरणबद्ध कार्यक्रम ल्याउने तयारीमा छौ ।’

राप्रपा नेपालका कार्यकर्ताले सालिक राखेकोमा प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेपालगन्ज उप-महानगर कमिटीका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध गरेका छन् ।

केही व्यक्तिहरुले जबरजस्तीरुपमा बलप्रयोग गर्दै पूर्वराजा वीरेन्द्रको शालिक राखेकोमा गम्भीर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् ।

मुलुक गणतन्त्र संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा पुगेको अवस्थामा राजावादी समूहले गरेको यो प्रयास लोकतान्त्रिक जनआन्दोलनमा सहभागी सम्पूर्ण नेपाली जनताको भावनाको विपरित भएको उनीहरुको ठहर छ ।

 

प्रतिक्रिया