रोल्पामा ७ वटा स्थानीय निकाय बनाउन सिफारिस

रोल्पामा ७ वटा स्थानीय निकाय बनाउन सिफारिस

भदौ, २२ रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो ।Rolpa Liwang Nepal headquarter districts photos question answer exam

मङ्गलबारसम्ममा देशभर जम्मा २१ जिल्लाले मात्र प्रतिवेदन आयोगमा पठाएकाले अन्य जिल्लाको तुलनामा भने रोल्पा अग्रस्थानमा नै आएको छ ।

दलले आ–आफ्नो फरक खाका प्रस्तुत गर्दै भदौ १३ गते पाँचवटा स्थानीय तहका लागि सहमति गरेतापनि पछिल्लो समयमा त्यसैलाई लिएर जिल्लामा असन्तुष्टि आउँदा उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्री बहाल रहिरहेको जिल्लामा उनीहरुकै पार्टीका जिल्ला संयोजकले एउटा बैठकको माइन्युट च्यात्दा राजनीतिक तरङ्ग पैदा भएको थियो ।

यसैबीच, सोमबार सर्वदलीय संयन्त्रसहितको बैठक बसी सातवटा स्थानीय तहको खाकामा सहमति भएपछि समितिले प्रतिवेदन पठाएको हो ।

यद्यपि राप्रपा नेपालले भने उक्त बैठकमा भाग लिए तापनि माइन्युटमा हस्ताक्षर नगरेको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकारसँग बताए । मङ्गलबार प्रतिवेदन पठाइसकेपछि स्थानीय विकास अधिकारीले जिविसमा पत्रकारसँग भेटघाटको आयोजना गरेका थिए ।

उनले राजनीतिक दलको सहमतिमा यस जिल्लामा स्थानीय तहको सातवटा सङ्ख्या कम भएकाले ११ वटा स्थानीय तह कायम गर्न आयोगमा सिफारिस गरी पठाउने, लिबाङमा कार्यविधि र कार्यसर्तले तोकेको भन्दा जनसङ्ख्या एक हजार ५३९ कम भएतापनि नगरपालिका सिफारिस गर्ने, गाम गाविस अत्यन्त विकट र ठूलो गाविस भएकाले दुईवटा वडा कायम गर्ने, थबाङ गाविसलाई विशेष क्षेत्रका रुपमा गाउँपालिका बनाउन सिफारिस गर्नेजस्ता निर्णय पनि पठाएको जानकारी दिए ।

समितिले आयोगमा सिफारिस गरी पठाएको लिबाङ नगरपालिकाको केन्द्र लिबाङ र जनसङ्ख्या ४२ हजार २९२, लुङ्ग्री गाउँपालिकाको केन्द्र सुलिचौर र जनसङ्ख्या ३८ हजार २६९, सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ र जनसङ्ख्या २६ हजार ८२०, जलजला गाउँपालिकाको केन्द्र पुतलाखेत वा कुरेली र जनसङ्ख्या २७ हजार ६८९, रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी र जनसङ्ख्या २६ हजार ५७०, त्रिवेणी गाउँपालिकाको केन्द्र त्रिवेणी वा तिला र जनसङ्ख्या २२ हजार ९५७ साथै सुकीदह गाउँपालिकाको केन्द्र घर्तीगाउँ वा सुखाओडार तथा जनसङ्ख्या ३३ हजार ५८९ रहेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया