नेपालगञ्ज मेडिकल कलेजमा तनाव

नेपालगञ्ज मेडिकल कलेजमा तनाव

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अप्रेशन गराएका ४ जना बिरामीको होस नखुलेपछि तनाव भएको छ।

बुधबार र बिहीबार अप्रेशन गराए ४ जना बिरामी अर्धचेत अवस्थामै रहेपछि यसमा डाक्टरको लापरबाही भएको भन्दै आफन्तले तनाव सिर्जना गरेका हुन्।

बिरामीमा अनौठो लक्षण देखा परेपछि अस्पतालका डाक्टरसमेत आश्चर्यमा परेका छन्। घटनापछि अस्पतालले बिहीबार दिउँसोदेखि अप्रेशन कक्ष बन्द गरेको छ।

अस्पतालमा सुत्केरी हुन आएकी बागेश्वरी–५ खजुरा निवासी २६ वर्षीया गीता सापकोटा, पेट दुख्ने समस्याले भर्ना भएकी नेपालगन्जकी २४ वर्षीया चन्द्रिका भण्डारीलगायत ४ जना बिरामीको अप्रेशन गरिएको थियो।

चार जना मध्ये ३ जनाको बुधबार र एक जनाको बिहीबार बिहान डाक्टर उपेन्द्र पण्डितलगायतको टिमले अप्रेशन गरेको थियो। बेहोस पारिएका बिरामी होसमा नफर्केपछि आफन्तले कमजोरी बताईदिन आग्रह गर्दै आएका छन्।

अस्पताल प्रशासन र डाक्टरबीच आरोप–प्रत्यारोप चलिरहेको छ, भने बिरामीका आफन्त छट्पटिरहेका छन्। अस्पताल प्रशासनले सञ्चारकर्मीलाई अचेत अवस्थाका बिरामीको पूरा विवरणसमेत दिन अटेरी गरेको छ।

अप्रेशनमा संलग्न डाक्टरहरुले अप्रेशन र बेहोस गराउन प्रयोग गरिएको औषधिको मात्रा ठिक रहेको दाबी गरेका छन्। तर, स्रोतका अनुसार बिरामीलाई अप्रेशन पश्चात होसमा फर्काउन प्रयोग गरिने औषधि डाक्टरले प्रयोग नगरेको बताइएको छ।

‘चारै जना बिरामीमा एउटै खालको समस्या किन आयो, हामी पनि आश्चर्यमा परेका छौं,’ पण्डितले भने, ‘एक सय जना बिरामी मध्ये एक जनालाई कहिले काही यस्तो समस्या आउन सक्छ, तर चारै जनामा एकैचोटी यस्तो समस्या देखिनु अनौठो कुरा हो।’

प्रतिक्रिया