कमल थापाको हिन्दु राष्ट्र कायम गर्ने उद्घोष

कमल थापाको हिन्दु राष्ट्र कायम गर्ने उद्घोष



दैलेख, भदौ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दैलखमा हिन्दु जागरसभा आयोजना गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गरि छाड्नो उद्घोस गरेको छ । पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले जागरसभा तथा प्रदेश नम्बर ६ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जबरजस्ती लादिएको धर्मनिरपेक्षता जनताको बलबाटै खारेज गर्ने बताएका छन् । IMG_7447शनिबार दैलेखको टुँडिखेलमा आयोजना गरिएको सभामा उनले आफ्नो पार्टी हिन्दु धर्मका लागि जनतामाझ जाने बताउँदै जनताबाट जनमत प्राप्त गरि हिन्दु राष्ट्र कायम गर्ने उद्घोस गरे ।
गणतन्त्र नेपालको संविधानमा धर्मनिरपेक्षता र गणतन्त्रलाई अपरिर्वतनीय धारामा नराखिएको उल्लेख गर्दै अध्यक्ष थापाले संसदमा आफ्नो पार्टीको बहुमत भए संवैधानिक व्यवस्थाअनुसारै हिन्दु राष्ट्र कायम गर्न सकिने बताए । उनले राजासहितको हिन्दु राष्ट्र स्थापना गर्न सकिने अवस्था वर्तमान संविधानमा रहेकाले आफ्नो पार्टीले आलोचनासहित संविधानलाई समर्थन गरेको बताए । अध्यक्ष थापाले ९४ प्रतिशत हिन्दु रहेको नेपाललाई जबरजस्ती धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकोमा आपत्ती जनाउँदै धर्मनिरपेक्षताकै कारण धर्मपरिवर्तनले विकृत रुप लिएको बताए । उनले संविधानले धर्म परिवर्तन गर्ने कार्यलाई दण्डनीय माने पनि धर्म परिवर्तन बढेको बताए । उनले सबै धर्मलाई सम्मान गर्दै हिन्दु धर्मको संरक्षण गर्नु आफ्नो पार्टीको नीति रहेको बताए । उनले राप्रपा नेपाल हिन्दु धर्म र राष्ट्रियताको पक्षमा कसैसँग नझुक्ने बताए ।




सभामा पार्टी उपाध्यक्ष धवल शम्शेर राणाले संविधान संशोधन गर्न सकिने भएकाले आफ्नो पार्टीले हिन्दु राष्ट्र कायम गराइ छाड्ने बताए । उनले नेपाली संस्कृति र सनातन धर्ममाथि विदेशी ठाडो हस्तक्षेप भएको प्रति चिन्ता प्रकट गर्दै जनता जाग्नुपर्ने बेला भएको बताए ।

यस्तै पार्टी सहमहामन्त्री तथा पूर्व स्थानीय विकास राज्यमन्त्री कुन्ति शाहीले नेपालीको पहिचान मेटाइएको बताइन् । उनले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर पहिचान मेटाइएको भन्दै हिन्दु राष्ट्र बनाएर पहिचान फर्काउनुपर्ने बताइन् । षडयन्त्रको जालमा पारेर नेपालको पहिचान हिन्दु राष्ट्र समाप्त पारेको उल्लेख गर्दै उनले राति सुतेर बिहान उठ्दा पहिचान मेटाइएको बताइन् ।

सभा राप्रपा नेपाल दैलेखका अध्यक्ष भक्तबहादुर शाहीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया