टुँडिखेलमा दुर्गा स्थापना

टुँडिखेलमा दुर्गा स्थापना

दैलेख, असोज १५ । यस वर्षको वडा दशैं शनिबार घटस्थापना गरी सुरु भएको छ । शनिबारबाटै नवरात्री पनि सुरु भएको छ । यसै अवसरमा दैलेखको सदरमुकाम दैलेख बजारस्थित टुंडिखेलमा ललितकला केन्द्र दैलेखले दूर्गा स्थापना गरेको छ ।

durgaललितकला केन्द्र दैलेखको आयोजनामा दुर्गा स्थापना गर्नुअघि निकालिएको धार्मिक र्यालीले दैलेख बजार परिक्रमा गरेको थियो । नवदुर्गा भवानीको विशेष पूजा गरिने यस पर्वलाई नेपालीहरुको सबैभन्दा ठूलो र हर्साेल्लासको पर्व मानिन्छ ।

घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । दशैंको पहिलो दिन कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ ।

प्रतिक्रिया