अपराध अनुसन्धान तालिम सुरु

अपराध अनुसन्धान तालिम सुरु

दैलेख, कात्तिक ७ । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी हवल्दार तथा जवानका लागि ६ दिने अपराध अनुसन्धान तालिम सुरु भएको छ । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) माधव नेपालले तालिमको आइतबार जिप्रका प्रांगणमा उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै डिआइजी नेपालले प्रहरीको तल्लो तहमा रहेका कर्मचारीले अपराध अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरुका लागि तालिम आवश्यक रहेको बताए । उनले प्रहरी हवल्दार र जवानलाई दक्ष बनाउन तालिम आयोजना गरिएको बताउँदै जिल्लामा दक्ष जनशक्ति उत्पादन भए अपराधन अनुसन्धान छिटोछरितो र भरपर्दाे हुने बताए । अपराधीलाई कारबाही गर्न र निर्देशलाई सजायबाट बचाउन प्रहरी अनुसन्धानको महत्वपूर्ण भूमिका हुने भन्दै उनले प्रहरीलाई व्यवसायीक दक्ष बनाउन दशैभर यस्तो तालिम आयोजना गरिएको बताए । उनले प्रहरी संगठनमा करिब ७७ प्रतिशत हवल्दार र जवान रहेको भन्दै ती सबैलाई प्रहरी मुख्यालयमा तालिम दिन नसकिने भएकाले जिल्ला जिल्लामा घुम्ती तालिमको व्यवस्था गरिएको बताए ।

फरक प्रसंगमा डिआइजी नेपालले दैलेखमा प्रहरी जनशक्ति अभाव भएको भन्दै जनशक्ति थपका लागि माग गरिएको बताए । उनले आफूहरुले माग गरे पनि जिल्लास्थित रानीतिक दलको पहलबिना जनशक्ति थप हुनेमा आशंका व्यक्त गरे । उनले जनशक्ति थपबारे अर्थ मन्त्रालयमा फाइल पठाइएको भन्दै जिल्लास्थित दलहरुलाई पहल गर्न आग्रह गरे । जिल्लामा ठूलो संख्यामा प्रहरी दरवन्दी रिक्त रहेको छ ।
अर्काे प्रसंगमा डिआइजी नेपालले अपराधीलाई बचाउने प्रहरीलाई कारबाही गरिने बताए । उनले प्रहरीबाट त्यस्तो गतिविधि भए आफूले तत्काल छानविन समिति बनाएर कारबाही गर्ने बताए । उनले दैलेखमा हालसम्म प्रहरीबाट कुनै कमीकमजोरी नभएको समेत दावी गरे । उनले दैलेखमा पछिल्लो समय अपराधका घटनामा कमी आएको समेत बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले प्रहरीलाई दक्ष र व्यवसायीक बनाउन यसप्रकारका तालिम आवश्यक रहेको बताए । उनले तालिममा सिकेका विषयवस्तुले प्रहरीप्रति आमजनताको विश्वास बढ्ने किसिमको काम हुनुपर्ने बताए । उनले परिवर्तित समयमा प्रहरीलाई दक्ष बनाउन आवश्यक रहेको बताए । उनले यस प्रकारको तालिम जिल्लामा आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत ३२ जना प्रहरी हवल्दार तथा जवानलाई तालिममा सहभागि गराइएको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया