सूचनादाताको सुरक्षामा सम्वेदनशील हुन प्रहरीलाई सुझाव

सूचनादाताको सुरक्षामा सम्वेदनशील हुन प्रहरीलाई सुझाव

दैलेख, कात्तिक ११ – राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक बिकृती रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव दिएका छन् । Suchana Secury
जिल्लामा बालविवाह रोकथाम अभियानमा नागरिक समाज तथा अभियानकर्ताले प्रहरीलाई दिएको सूचना बाहिरिंदा अभियानकर्ता असुरक्षित हुने गरेको प्रसंग उल्लेख गर्दै यसप्रति राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण भएको उनले बताए ।
स्थानीय मानवअधिकारकर्मीसंगको अन्तरक्रियामा उठेका समस्या सुल्झाउन कात्तिक ११ गते दैलेखमा सुरक्षा अधिकारीहरुसंग भएको भेटघाटको क्रममा क्षेत्रीय निर्देशक खरेलले सूचना दिनेको सुरक्षा सहज भएमा अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरी प्रशासनलाई सहज हुने औल्याए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लामा महिला हिंसा, बहुविवाह र अत्याधिक मदिरा सेवन प्रचलन प्रमुख समस्या रहेको जनाए । स्थानीय विकास अधिकारीले हरी प्याकुरेले विकास गतिविधिलाई मानवअधिकारमैत्री बनाउने प्रयत्न भएको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतले दैलेखको नारायण नगरपालिका–१ रातामाटेको दलितबस्तीमा बनेको खानेपानी योजनाको मुहान अवरोध हटाउन, जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउन र उनीहरुलाई यातायात र अस्पतालमा उपचारमा पाउनु पर्ने सहुलियत उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
त्यसबखत प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रभावकारी बनाउन नागरिक समाजको सहयोग उल्लेख्य राम्रो भएको बताए । उनले राष्ट्रिय मानवअधिकार आयोगको सुझावलाई मनन् गर्दै अधिकारकर्मीको सुरक्षा र सहकार्य अभिवृद्धिमा प्रहरीले ध्यान दिने प्रतिवद्धता जनाए ।
जिल्ला विकास समितिका सूचना अधिकृत सम्शेरबहादुर शाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत नारायण सुवेदी समेत सो भेटघाटमा सहभागी थिए ।

प्रतिक्रिया