बाँकेमा डेंगुका कारण तीनको मृत्यु

१३ कात्तिक, नेपालगन्ज । बाँकेमा डेंगु लागेका तीन जनाकाे मृत्यु भएकाे छ । भेरी अञ्चल अस्पतालमा शुक्रबार साँझसम्म डेंगुका ४ जना विरामी उपचारको लागि भर्ना भएका छन् । अस्पतालका फिजिसियन डा. राजन पाण्डेले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्म ४ जना भर्ना भएको र एक जना चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालगन्ज-७ फुलटेक्राको एक बिरामी भने नियमित चिकित्सकको निगरानीमा रहने गरी घरमै बसेर उपचार गराउदै आएका छन् ।
उनले अस्पतालले डेंगुका विरामी क्रमशः बढ्न थालेपछि छुट्ट्रै सेल तयार गरी उनीहरुको उपचार सुरु गरिएको जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पनि डेंगुको लक्षण भएका विरामीहरु दिनहुँ जसो आउने गरेको अस्पतालका फिजिसियन डा.आसिम किडवाईले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सो अस्पतालमा डेंगुबाट प्रभावित विरामी नियमित २५-३० जना आउने गरेका छन् । उनले अस्पतालको केही क्याबिनलाई आईसोलेट गरेर उपचार सुरु गरेको जानकारी दिए ।
उनले भने-‘शुक्रबार साँझमात्र मेरो क्लिनिकमा आएका बिरामी मध्ये ३ जनामा डेंगुको लक्षण देखिएको छ ।’ उनले अस्पतालमा आउने डेंगुका विरामीलाई चढाउनु पर्ने रक्तकोष (प्लेट) को अभाव भएको कारणले पनि अधिकांश विरामीहरुलाई बुटवल तथा अन्त्र रिफर गरिएको जानकारी दिए ।
उनले अस्पतालमा आएका सिरियस विरामी मध्ये ३ जनाको डेंगुको कारणबाट मृत्यु भएको समेत जानकारी दिए । उनले भने-‘अस्पतालमा आएका विरामी मध्ये ३ जनाको क्लिनिकल डाईगोनोसि र ल्याबको रिर्पोट नआउदै मृत्यु भएको हो । उनीहरुमा डेंगु कै लक्षण देखिएको थियो ।’
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले डेंगुको कारण मृत्यु भएको भन्ने कार्यालयलाई जानकारी नभएको बताए । उनले भेरी अञ्चल अस्पतालमा छुट्टै सेल खडा गरेर उपचार सुरु गरेको बताए । उनले डंेगु रोग फैलाउने लामखुट्टेका लार्भाको खोजि गरी नष्ट गर्न थालिएको जानकारी दिए ।
डेंगुका बिरामीहरु दिनहुँ जसो बढ्दा रक्तसञ्चार केन्द्रमा रक्तकोष छुट्टयाउने मेसिन बिग्रदा उपचारमा कठिनाई भएको चिकित्सकहरुले जनाएका छन् ।
प्रतिक्रिया