मुद्दा गर्ने आमा, चार बच्चा माइतमै पाल !

मुद्दा गर्ने आमा, चार बच्चा माइतमै पाल !

दैलेख, कात्तिक १९ – श्रीमानले अर्को श्रीमति ल्याएको विषयमा प्रहरीमा बहुविवाहको जाहेरी दिंदा दैलेखको कालभैरव गाविस–५ सिस्नेकी २८ वर्षीया सीता भण्डारीले ४ वटा बच्चा माइतीमा लिएर पाल्नु पर्ने वाध्यता आइलागेको छ ।

सिता भण्डारी र उनका चार वटा वच्चा माईतिको मकै ठांग्रो नजिकै
सिता भण्डारी र उनका चार वटा वच्चा माईतिको मकै ठांग्रो नजिकै

कात्तिक ३ गते सीताका श्रीमान् कलम भण्डारी र कान्छी श्रीमति बिना जैसीलाई प्रहरीले पक्रेपछि सीताले यस्तो भोग्नु परेको हो ।
बहुविवाह दिएकै कारण आफ्नो छोरा प्रहरी हिरासतमा परेको भन्दै सासु, ससुरा र जेठाजु समेतले ‘लोग्ने थुनाएर घरमा बस्न पाइदैन’ भनेपछि दुल्लू नपा–६ बस्नेपाटीस्थित माइतीघर पुगेकी सीताले नै पाल्नु पर्ने भन्दै कात्तिक ५ गते सबै ४ वटा बच्चा पु¥याई दिएका छन् ।
सीताकी जेठी छोरी ११ वर्षीया रमा, कान्छी छोरी ९ वर्षकी सुनिता, ७ वर्षको जेठो छोरा राजेन्द्र र ५ वर्षको पवन भण्डारी समेत चारै जनाको पढाई अन्यौलमा परेको छ । उनीहरु कालभैरव–५ कै तुलधारा प्राविमा रमा कक्षा ५, सुनिता ३ र राजेन्द्र कक्षा १ का नियमित विद्यार्थी हुन् । पवनको पनि गएको वैशाखदेखि त्यही विद्यालयमा शिशु नाम लेखाएका थिए ।
उनीहरुको घर भएको ठाउँबाट सीताको माइती भएको गाउँ ३ घण्टाको पैदल दुरीमा छ । ती बालबालिकाको पढाई छुटेको विषयमा स्थानीय बुद्धिजीवी बखत भण्डारीले बालबालिकाले नाम लेखिएकै विद्यालयबाट पढ्न पाउनुपर्ने बताए । सीताका ससुरा भाने भण्डारीसंग सम्पर्क हुन सकेन ।
कक्षा ५ पढ्दै गर्दा १४ वर्षको उमेरमा कलम भण्डारीसंग विवाह गरेकी सीताले ४ वटा छोराछोरी सहित अहिले माइतीमा बस्नु पर्ने अवस्था आईपरेको छ भने यसअघि उनका बुबा लालबहादुर खड्काको ६ जनाको परिवार खेतीकिसानबाट धान्न मुश्किल छ ।
‘हाम्रो समेत रेखदेख गर्लान् भनेका जुवाईले बुढेसककालमा आफू त आफै हामीलाई समेत दुःख र झण्भट थुपारे’ लाबहादु्रले भने । उनले टिप्पणी गरे ‘घरमा बालबच्चा हुँदाहुदै बहुविवाह गर्नेको पो दोष हो, मुद्दा दिनेलाई दोषी देख्नु अन्याय हो ।’
सीताका श्रीमान् कलम भण्डारीले काठमाण्डौंको एक नीजि कम्पनीमा काम गर्ने क्रममा गोरखा गाईखोर गाविस–२ की बिना जैसीलाई गएको साउन ३१ गते दोश्रो श्रीमतिको रुपमा भित्र्याएकोमा केही समय मिलेर राख्छु भनेपनि पटक पटक कुटपीट र यातना दिन थालेपछि उनले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दिएकी हुन् ।

प्रतिक्रिया