पींडा सुन्नु मात्रै समन्वय हो ?

पींडा सुन्नु मात्रै समन्वय हो ?

अमर सुनार
दैलेख, मंसिर १ – अचेल अलि चिसो पसिसकेको मौसम । पश्चिम मूल ढोका भएको दैलेख जिल्ला अदालतको कार्यालय भवन पछाडि पूर्व फर्किएको आगन चौरमा मंगलवार विहान जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित घाम ताप्दै मुद्दाका कागजपत्र केलाउदै थिए ।
पुरानो झुत्रोझुत्रो कपडा लगाएकी, चप्पल पनि च्यादिएका अनि साह्री दुब्ली अध्बैसे एक जना साधारण महिला न्यायाधीश सामु पुगेर पहिलो प्रश्न सोधिन् ‘तपाईं न्यायाधीश हो ?’
न्यायाधीशले भने ‘हो, किन ? के कामलाई सोध्नुभयो ?’
उनले ४ वटा बच्चा र आफूसंगै बसेको मधुरो फोटो देखाउँदै भनिछन् ‘मेरा २ छोरा र २ छोरी छन् । मेरो श्रीमान्ले म माथि सौता ल्याए । बहुविवाहको मुद्दा दिएकी थिएँ, प्रहरीले मुद्दा पेश गरेकै दिन धरौटीमा छोडिदिनू भएछ ! कति दुःखले प्रहरीले पक्रेको थियो, तपाईंले छोड्नु भएछ । म न्याय माग्न कहाँ जाने ?
न्यायाधीशले जवाफ दिए ‘अन्तिम फैसला भएको छैन । छोड्दा पनि हुन्छ भन्ने लागेर धरौटीमा छुटेका हुन् ।’
असन्तुष्टी पोख्न गएकी ती महिला जति आफ्नो पींडा सुनाउदै गइन् आँसु आफै झर्न थाले बह कहँदै भन्न थालिन् ‘लोग्नेलाई बहुविवाहको मुद्दा हाली र थुनाई भनेर सासु, ससुरा र जेठाजु समेतले घर निकाला गरे । काखको ५ वर्षे सानो छोरा च्यापेर माइती गएँ, अरु ३ वटा बच्चा पनि लखेटेर मेरै पछाडि पठाएछन् । अहिले ४ वटा बच्चा सहित माइतमा बसेको छु । जेल काटेर आएपछि मलाई पनि काट्छु भनेर धम्की पठाएको थियो । मान्छे नै छोडी दिनूभयो म असुरक्षित भएँ ।’
उनका पींडा सुनेर न्यायाधीशले अंश मुद्दा दिनुस्, तपाईलाई अंश दिलाउन सक्छु भनेछन् । न्यायाधीशले अह्राएको उपाय कानमा नपर्दैै ती महिलाले भनिन् ‘बच्चाहरु नाङ्गै, भोकै छन् अनि स्कूल जान पनि पाएका छैनन् ।’ उनको बिलौनापछि त न्यायाधीशसंग कुनै जवाफ रहेन ।
सामाजिक कानूनी सहायता केन्द्रको त्रैमासिक समीक्षा कार्यक्रममा मंसिर १ गते यो सबै बृतान्त एक औचारिक मन्तव्यमा न्यायाधीश आफैले सुनाए ‘हामीले दिने उपचारात्मक न्याय हो, तात्कालिक राहतका काम गर्नेहरुको अग्रसरता देखिएन ।’ न्यायाधीले अगाडि भने ‘कसले के गर्न सक्ने स्थिति छ यस्ता पीडितलाइ आपत्कालिन् सहयोग गर्नुपर्छ ।’
मन्तव्य सुनेकी महिला विकास अधिकृत बिश्वमणी जोशी, एभरेष्ट क्लवका उपाध्यक्ष दीपक केसी वा महिला बालबालिका क्षेत्रमा काम गर्नेहरुबाट आश्वासन देलान् भन्ने ठानेका थिए । घटना कारुणिक छ सबैले भने त कसैले यो सहयोग गर्ने बचन दिएनन् ।
कसै न कसैले त चासो लिन्छन् होला भनेर न्यायाधीश पण्डितले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, डीएसपी केदार रजौरे लगायतका अधिकारीहरुको रोहवरमा बोले तर कसैको चिन्ताको विषय बन्न सकेन । बरु त्यहाँ कानूनी सहायता केन्द्रलाई समन्वय प्रभावकारी बनाउन बेग्रल्ती सुझाव दिए । के मन्तव्य सुन्नु वा समीक्षा जानकारी लिनु मात्रै समन्वय हो त ?
सीताको मुद्दा विवरण
कालभैरव गाविस–५ सिस्नेकी २८ वर्षीया सीता भण्डारीले असोज ३० गते बहुविवाहको जोहेरी उनका श्रीमान् कलम भण्डारी र सीताकी सौता बिना जैसीलाई प्रहरीले पक्रेको थियो तर कात्तिक २९ गते दैलेख जिल्ला अदालतमा पेश हुँदा जनही ५० हजार धरौटीमा छुटेका थिए ।
मुद्दा प्रक्रियापछि सीताकी जेठी छोरी ११ वर्षीया रमा, कान्छी छोरी ९ वर्षकी सुनिता, ७ वर्षको जेठो छोरा राजेन्द्र र ५ वर्षको पवन भण्डारी समेत चारै जनालाई दुल्लू नपा–६, बस्नेपाटी गाउँमा बस्नु परेकोले पढाई अन्यौलमा परेको छ । उनीहरु कालभैरव–५ कै तुलधारा प्राविमा रमा कक्षा ५, सुनिता ३ र राजेन्द्र कक्षा १ का नियमित विद्यार्थी हुन् । पवनको पनि गएको वैशाखदेखि त्यही विद्यालयमा शिशु नाम लेखाएका थिए ।

प्रतिक्रिया