छाउपडी गोठमा थुनिएकी २१ वर्षे किशोरीको ज्यान गयो

छाउपडी गोठमा थुनिएकी २१ वर्षे किशोरीको ज्यान गयो

अछामः अछामको तिनिनसेन गाविस वडा नम्बर सातकी एक किशोरीको छाउपडि गोठमै ज्यान गएको छ । छाउपडि गोठमा थुनिएकी २१ वर्षकी डम्बरा उपाध्यायको गएराति मृत्यु भएको स्थानीयले बताएका छन् ।

महिनावारी भएको चौथोदिनको रात उनी एक्लै छाउपडि गोठमा सुतेकी थिइन् । छाउपडि गोठमा महिनावारी भएर चाररात बिताएपछि पाँचौ दिन घर फर्काइन्छ ।

शुक्रबार दिनघर घाँस काट्ने तथा गाइबस्तुको गोबर (मल) बोक्ने काम गरेकी उनी राति आठ बजेको समयमा खाना खाएर सुतेकी थिइन् । आज बिहान अबेरसम्म नउठेपछि घरका केटाकेटीलाई बोलाउन पठाउँदा ढोका नखुलेपछि परिवारका अन्य सदस्य गएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए ।

मृतकका जेठाजु जेठाजु तीर्थराज उपाध्ययले भने-‘उनलाई कुनै बिराम लागेको थाहा छैन् । हिजो पनि दिनभर काम गरेकी हुन् । राति खाना खाएर सुतेकी उनलाई बिहान ढिला उठेपछि केटाकेटीलाई बोलाउन पठाएको तर, ढोका नखोलेपछि हेर्न जाँदा उनको मृत शरीरमात्र देख्यौ ।’

डम्बराका श्रीमान यज्ञराज उपाध्याय कामकाम शिलशिलामा केहिदिन अघिमात्र भारत गएका छन् ।

परिवारले माइतीपक्ष तथा प्रहरीलाई खबर गरेको बताएका छन् । माइतीपक्षमा सदस्यहरु तथा प्रहरी आएपछि शवको पोष्टमार्टम गरिने परिवार सदस्यको दाबी छ । घोप्टेर सुतेको अवस्थामा फेला परेकी उनको मुखबाट रगत बगेको देखिएको छ । उनको माइती अछामको लुङग्रा गाविसमा पर्छ । पोष्टमार्टमपछि मात्र दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
पहिले सोही घरको तल्लो तलामा रहेको अध्यारो कोठामा सुत्ने गरिएपनि अहिले त्यसमाथि तथा छापेर माथिल्लो तलामा छाउमा परेका महिलाहरुलाई राख्ने गरिएको थियो ।

चार वर्षअघि पनि अछामको रेडिकोट चारकी एक किशोरीको छाउपडि गोठमै भएका बेला मृत्यु भएको छ ।

अछाममा छाउपडि गोठ हटाउने अभियान अन्तर्गत अहिलेसम्म ३१ गाविसलाई छाउगोठ मुक्त घोषणा गरिएको छ । ७५ गाविस भएको अछाममा अन्य जिल्लामा पनि जनचेतना जगाउने काम भइरहेको स्थानीय प्रशासनका कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया