आफूमाथि हिंसा भएको भन्दै श्रीमान् विरुद्ध प्रहरीमा उजूरी

आफूमाथि हिंसा भएको भन्दै श्रीमान् विरुद्ध प्रहरीमा उजूरी

अमर सुनार
दैलेख । ०७३ मंसिर १० गते

‘विवाह भएको २ महिनादेखि नै विना कुनै कारण कुटपीट गरिरहने क्रममा मेरो श्रीमान् दिपेन्द्रबहादुर शाहीले मंसिर ६ गते राति हत्केलामा फलामको किला ठोक्ने प्रयत्न गर्नुभयो, झिकाई कारवाही गरी पाऊँ ।’ insec news (2) insec news (1)
अहिले बाँसी गाविस–४ चुकीआमस्थित माइतीघरमा सरण लिएकी १९ वर्षीया समीक्षाकुमारी शाहीले आज प्रहरीमा दिएको उजूरीमा माथिको व्यहोरा उल्लेख छ । उजूरीमै लेखेकी छिन् ‘विवाह भएको २ वर्ष भयो, छोरा जन्मेको पनि १ वर्ष भइसक्यो ।’ यातना भनी साध्य छैन इन्सेकलाई संक्षिप्त प्रतिक्रिया दिइन् ।
कुटपीट भएको खवर पाएपछि मंसिर ७ गते उनका दाजु हृदयश शाही समीक्षाको घर गमौडी गाविस–७ धारागाउँ पुग्दा दिपेन्द्रले जेठान माथि समेत हमला गर्ने चेष्टा गरेका हृदयशले बताए । कुटपीटको ३ दिनसम्म फोन गरेर माइतीमै बोलाई छलफल गराउन खोज्दा समेत वेवास्ता गरेकोले आज उजूरी दर्ता गर्न आउनु र महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु हुनु संयोग मात्र हो ।
उजूरी दिन कै लागि ४ घण्टाको पैदलबाटो हिंडेर सदरमुकाम पस्नलाई डेकेन्द्रचोकमा पुगेकै बेला गणेशचोकबाट पुरानोबजार जाँदै गरेको महिला हिंसा बिरुद्धको १६ दिने अभियानको जुलुस देखिन् । एसएसी उत्तीर्ण गरी सकेकी समीक्षाले पहिलो पटक यस्तो जुलुस देखेकी त्यसैमाथि महिला अधिकारका प्लेकार्ड, नारा सुनेर जुलुस पर पुगोञ्जेल टोलाएर हेरिन् ।
लिखित उजूरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरीकै अघिल्तिर देवकोटा चोकमा भएको औपचारिक कार्यक्रमलाई एक छेउमा उभिएकी समीक्षाले दैलेख क्षेत्र नं. १ साँसद अम्मरबहादुर थापाको भाषण सुनिन् ‘महिला पुरुष एक रथाका दुई पांग्रा हुन्’ सीडीओ लुकबहादुर क्षेत्रीको भनाई पनि घत्लाग्यो ‘महिलाको इज्जत हुने घरमा शान्ति हुन्छ ।’
उनले उजूरीमा ‘मेरो श्रीमान्ले विवाह गरेको २ महिनादेखि नै कुटपीट गर्ने गर्नुभएको छ’ भनी पदावली राखेकी छिन् । यो पदावलीले श्रीमान्प्रति सम्मान देखिन्छ । साँसद र सीडीओको अलवा अधिकर्मी पार्वती बिशुन्के, निर्मला खड्का लगायतको मन्तव्यले पनि उनलाई महिला अधिकारको माहोल बनेकै बेला उजूरी परेछ, न्याय अवश्य पाइएला भन्ने आशा जगाएको उनले बताइन् ।
महिला हिंसा विरुद्धको दिवसको आज पहिलो दिन ५ वटा घरेलु हिंसाको उजूरी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहले जानकारी दिए । प्रहरीले कारवाही गर्छ भन्ने विश्वासले मुद्दा आउन थालेको उनले बताए । इन्स्पेक्टर साहका अनुसार दैलेखमा गत वर्ष ४ सय ८६ वटा महिला सम्वन्धी मुद्दा आएका थिए ।

ति महिलाको भनाई आफ्नै श्वरमा सुन्न तलको लिंकमा क्लिक गर्नुहोस

प्रतिक्रिया