सक्रिय बन्दै सामुदायीक सञ्जाल

सक्रिय बन्दै सामुदायीक सञ्जाल

१७,मंसिर, दैलेख विगत लामो समय देखि सक्रिय हुन नसकिरहेका गाविसस्तरीय सामुदायीक सञ्जाल सक्रिय बन्दै गएका छन् । गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास परियोजनाले सामाजिक परिचालनका गतिविधि सञ्चालन गरेपछि सामुदायीक संस्था सञ्जालको सक्रियता बढदै गएको हो ।Bisala ICDp
सामुदायीक संस्थाहरुको क्षमता विकास, ऋण परिचालन, समन्वय र सहकार्यमा सहजताका लागि गाविसस्तरीय सञ्जालको गठन गरिएको विशला गाविस सामुदायीक सञ्जालका अध्यक्ष चन्द्र बहादुर नेपालीले बताए । प्रत्येक महिना हुने सञ्जालको बैठकले सामुदायीक संस्थाहरुको संस्थागत विकास र सदस्यहरुको जीवीकोपार्जनमा सुधार ल्याउन पहल गर्ने नेपालीको भनाई थियो । उनले थपे, “विगतमा विभिन्न कारणले गर्दा नियमित हुन नसकेको मासिक बैठकलाई अब हामी निरन्तरता दिन प्रतिवद्ध छौं ।”
लामो समयपछि मंगलवार बसेको उक्त सञ्जालको बैठकले भाका नाघेको ऋण असुल गर्ने, मासिक रुपमा बैठक गर्ने, व्यवसायमुलक कृषि खेती र प्रविधिमा जोड दिने, गाविसका सम्पूर्ण सामुदायीक संस्थाहरुको सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई र अनिवार्य वार्षिक लेखा परिक्षण गर्ने लगाएतका निर्णय गरेको सञ्जालका सचिव पवित्रा बमले बताईन् । सञ्जालको सक्रियताले सामुदायीक संस्थाको गुणस्तरीयता र प्रभावकारीतामा बृद्धि हुने बमको भनाई थियो ।
परियोजनाका सम्पूर्ण कर्मचारीको उपस्थितिमा सञ्चालित उक्त बैठकमा सञ्जालका पदाधिकारीले गाविसका सामुदायीक संस्थाहरुको मासिक रुपमा अनुगमन गर्ने जनाएका छन् । विगतमा संस्थाहरुको नियमित अनुगमन हुन नसक्दाँ समयमा ऋण फिर्ता नगर्ने, मासिक बैठक नबस्ने लगाएतका समस्याहरु देखिएका हुन् । सञ्जालको सक्रियता पछि अब त्यस्ता समस्याहरु क्रमश हट्दै जाने सामाजिक परिचालक पदम आलेको भनाई थियो ।
पश्चिम दैलेखको विशला गाविसमा मात्रै २९ वटा सामुदायीक संस्था गठन भएका छन् । उक्त संस्थामा झण्डै १ करोड ८० लाख बराबरको रकम लगानी भएको छ भने करिब ८ सय ७० घरधुरी लाई कार्यक्रमले समेटेको छ । उक्त सामुदायीक संस्थाहरुको क्षमता विकास, आय आर्जन, पूर्वाधार निर्माण लगाएतमा साझेदार संस्थाले सहजीकरण गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका जिल्ला कार्यक्रम संयोजक मानबहादुर थापाले बताए ।
एकिकृत सामुदायीक विकास परियोजना सञ्चालित सम्पूर्ण कार्यक्षेत्रका गाविसहरुमा गठित गाविसस्तरीय सामुदायीक सञ्जाललाई सक्रिय बनाउन पहल गर्ने थापाको भनाई थियो ।

प्रतिक्रिया