घुम्ती शिविरमा ३ हजार बढीलाई सेवा प्रदान

घुम्ती शिविरमा ३ हजार बढीलाई सेवा प्रदान

दैलेख २० मंसिर, जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजना तथा जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको समन्वयमा नौमूले गाउँ विकास समितिमा आयोजना गरिएको तिन दिने एकिकृत घुम्ती शिविर आइतवार सकिएको छ । ghumti n1
सेवाप्रदायक कार्यालयहरुबाट प्रवाह गरिने सेवा सुविधा नागरिकलाई स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले दैलेखको नौमूले गाविसमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा ३ हजार भन्दा बढीले सेवा लिएका छन ।
सदरमुकाम सम्म आएर सेवा लिन नसकेका जिल्लाका सात वटा गाविसहरु चौराठा, सल्लेरी, नौमूले, कालिका, द्धारी, बालुवाटार र तोली गाउँ विकास समितिका स्थानीय जनतालाई लक्षित गरी शुक्रवार देखि नौमूले गाउँ विकास समितिमा सञ्चालन गरिएको शिविरमा ३ हजार भन्दा बढीले सेवा लिएका हुन् । घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण, जिल्ला निर्वाचन कार्यालय बाट फोटो सहितको मतदाता नामावली सङ्कलन, महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दैलेखबाट निःशुल्क स्वास्थ्य शिविर, जिल्ला बन कार्यालय बाट बिरुवा वितरण, जिल्ला कृषि विकास कार्यालय बाट बीउबिजन वितरण लगायतका सेवा नागरिकलाई प्रवाह गरिएको थियो । शिविरमा ४२७ जनालाई नागरिकता प्रदान गरिएको छ भने अपाङ्ग परिचयपत्र ५७ जना र ज्येष्ठ नागरिक परिचय पत्र ९२ जनाले लिएका छन् । त्यसैगरी जिल्ला पशु सेवा कार्यालय बाट सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा २९१ जनाले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दैलेख बाट सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४९२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जस मध्ये निशुल्क स्वास्थ्य परिक्षण गर्नेमा ९१ जना जेष्ठ नागरिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिएका छन् । त्यस्तै जिल्ला कृषि विकास कार्यालयबाट ७३५ जना कृषकलाई बीउबिजन वितरण र ९८ जनालाई अलैची खेती सम्बन्धि तालिम संगै कृषिसम्बन्धी समस्याको परामर्श दिइएको बताइएको छ । शिविरमा जिल्ला आयुर्वेद कार्यालय बाट ३९६ जनाले विभिन्न सेवा तथा सुविधा लिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
त्यसैगरी जिल्ला वन कार्यालय दैलेखबाट ६७ जनालाई वन पैदावार सम्बन्धि पुस्तक वितरण संगै परामर्श दिइएको छ भने बागबानी कृषि अनुसन्धान केन्द्रबाट ३८० जनालाई परामर्श तथा ५८ जनालाई अलैची खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । शिविरमा मालपोत, नापी लगायतका कार्यालयबाट पनि सेवा प्रवाह भएको जनाइएको छ ।
ग्रामिण क्षेत्रबाट जिल्ला सदरमुकामसम्म पुगेर सेवा लिन नसक्ने अपाङ्ग, असहाय, गरिब जनताको आवश्यकतालाई लक्षित गरी शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले जानकारी दिएका छन् । उक्त शिविरबाट जिल्लाका चौराठा, सल्लेरी, नौमूले, कालिका, द्धारी, बालुवाटार, तोली गाविसमा बासिन्दा लाभान्वित भएका थिए ।

प्रतिक्रिया